चिराइतोको मुल्य घट्दा कृषक मर्कामा

आर्थिक समाचार कृषि पर्यावरण प्रदेश

ताप्लेजुङ / पूर्वी पहाडी जिल्लाहरुमा बढी उत्पादन हुने चिराइतोको बिक्री मूल्यमा गिरावट आएपछि कृषकहरु मर्कामा परेका छन् ।

अलैचिको मूल्य निरन्तर ओरालो लागिरहेको समयमा अर्को बढी उत्पादन हुने नगदेबाली चिराइतोको पनि मूल्य घटेपछि कृषकको आयआर्जनमा कमी आएको छ ।

अघिल्लो वर्षदेखि मूल्यमा आएको भारी गिरावटसँगै चिराइतो कारोबारमा समेत कमी आएको ताप्लेजुङका चिराइतो व्यवसायी कैलास बानियाले बताए । दुई वर्षअघि प्रतिमन ३२ हजार रुपैयाँसम्म खरिदबिक्री भएको चिराइतो अघिल्लो वर्ष मुस्किलले प्रतिमन ८ हजार ५ सय रुपैयाँमा बिक्री भएको थियो ।

यो वर्ष पनि मूल्यमा भारी गिरावट भएपछि जिल्लामा चिराइतोको कारोबार नै ठप्प भएको बानियाँको भनाइ छ । यो वर्ष प्रति मन पाँच हजार रुपैयाँमा कारोबार भइरहेको छ ।यसको मुख्य बजार चीन र भारतमा व्यापार रोकिए पछि बंगलादेश निर्यातमा पहल नहुँदा कारोबार रोकिएको व्यापारीहरुको भनाई रहेको छ ।

एक वर्ष अघि सम्म अन्य बजारमा भन्दा चिनको तिब्बतमा यसको मुल्य उच्च हुँदा पूर्वका सबै चिराईतो ताप्लेजुङको ओलाङ्चुङगोला हुँदै चिन निकासी भएको थियो । सो समयमा तिब्बतमा प्रति मन ५० हजार सम्ममा कारोबार भएको व्यापारीहरु बताउँछन् ।

चिराइतो भारत र चीनलगायत बंगलादेश, जर्मनी र फ्रान्समा औषधीय प्रयोगका लागि जाने गरेको छ । महत्वपूर्ण जडीबुटी मानिए पनि मूल्यमा आएको गिरावटले चिराइतो कृषक मारमा छन् ।चिराइतो बिक्री नहुँदा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम लगायतका कृषक घरमै थन्काएर राख्न बाध्य भएका छन् ।

चिराइतोको भाउ बढ्दै जाँदा कृषकले यसको पनि व्यवसायीक खेति सुरु गरेका थिए ।उत्पादन बढे पनि माग घट्न थालेपछि व्यावसायिक चिराइतो खेतीमा लागेका पुर्वि जिल्लाका करिब पाँच हजार कृषक अन्योलमा परेका छन् ।ताप्लेजुङका उत्तरी क्षेत्रका अधिकांश कृषकको घरमा २० देखि ६० मनसम्म चिराइतो थन्किएको छ ।