यस्तो समाधीस्थल, जहाँ फूल होइन चुरोट चढाइन्छ

समाधीस्थलमा फूल, अगरबत्ती, खादा आदि चढाउने चलन छ । तर भारतको उत्तरप्रदेशको राजधानी लखनउमा रहेको एक समाधीस्थलमा चाहीँ मानिसहरुले फूल, अगरबत्ती र खादा होइन चुरोट चढाउने गर्छन् ।

उक्त समाधीस्थल वेल्स नामक एक क्रिस्चियन सिपाहीको हो, तर त्यहाँ हिन्दु तथा मुस्लिम लगायत सबै धर्मका मानिसहरु आउँदछन् । चुरोटवाला बाबाको नामले समेत चिनिने वेल्सको समाधीस्थलमा आएर मानिसहरु चुरोट सल्काएर चढाउँछन् ।

लखनउको मुसावागमा यो समाधीस्थल छ, जुन पहिले खण्डहर थियो । तर अहिले यहाँ तरकारी गोदाम बनिसकेको छ । मुसावागमा भारतीय स्वतन्त्रता अगाडि अंग्रेज बस्दथे । १८५७ को सिपाही विद्रोहका क्रममा त्यहाँको अंग्रेज सेनाको भवन ध्वस्त भयो र गोली लागे क्याप्टेन वेल्स पनि मारिए ।

वेल्स चुरोट तथा रक्सीका शौखिन थिए । सोही मान्यताका आधारमा त्यहाँ चुरोट चढाउने गरिएको विश्वास छ । त्यहाँ चुरोट चढाउनका लागि प्रेमजोडीहरु धेरै आउँछन् । जोडीहरुले सिगरेट बाबालाई चुरोट चढाएमा प्रेम कहिल्यै नटुट्ने मान्यता छ ।

एजेन्सीको सहयोगमा