२६०२औँ तमू ल्होसार विभिन्न कार्यक्रम गरी मनाइयो

समाज समुदाय सस्कृति स्थानीय

मेचीनगर झापा / गुरुङ समुदायको महान पर्व २६०२ औँ तमू ल्होसार शनिबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

झापा मेचीनगरका गुरुङ (तमू) समुदायले एक आपसमा शुभकामना आदान प्रदान, साँस्कृति तथा ज्येष्ठ नागरिकलाई सम्मान जस्ता कार्यक्रम गरी यो पर्व मनाएका छन ।

तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् मेचीनगर समितिले आयोजना गरेको कार्यक्रममा तमू समुदायका ज्येष्ठ सदस्य ८४ वर्षीय अमृत तमु र ७२ वर्षीया योविना तमुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, विशिष्ट अतिथि उपप्रमुख मिना पोखरेल उप्रेतीले सम्मान पत्रसहित दोसल्ला ओडाई सम्मान गरेका थिए । ङग्यूर देछछेन छोलिङ्ग गुम्बा मेचीनगर—७ मा परिषदका अध्यक्ष नारायण गुरुङको सभापतित्वमा कार्यक्रम भएको थियो ।

 

तमू ल्होसारमा सहभागि महिलाहरु,    तस्विर- कृष्ण सिंजाली

शनिबारबाट शुरु गुरुङहरुको नयाँ वर्षलाई स्वागत गर्न गुरुङ समुदायले हरेक वर्षको पुस १५ मा तमु ल्होसार पर्व मनाउँदै आएका छन् ।

‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । कार्यक्रममा बोल्ने अधिकाँस वक्ताहरुले तमु गुरुङ समुदायको यस पर्वले सबै नेपालीमा उत्साह र उमंग कायम गरी आपसी सहिष्णुता कायम गर्दै आर्थिक र सामाजिक रुपले समृद्ध मुलुकको निर्माण गर्न सबैमा प्रेरणा मिलोस् भन्ने कामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेती, मेचीनगर वडानम्बर—७ का वडाध्यक्ष चन्दन मेचे, गोर्खा मेमोरियल फाउण्डेसन नेपालका अध्यक्ष नरेन्द्र

गुरुङ, नेपाल यातायात स्वतन्त्र मजदूर संगठन मुल इकाई समिति मेचीनगरका अध्यक्ष खडानन्द भण्डारी,नेवा समाज मेचीनगरका अध्यक्ष कमल गुभाजु, तामाङ घेदुङ मेचीनगरका कोषाध्यक्ष रामबहादुर वाइवा, नेपाल मगर संघ मेचीनगर अध्यक्ष कृष्ण सिञ्जाली लगायतले बोलेका थिए ।