युएर्इमा अलपत्र देवीमाया र सीता टिकट पाएपछि नेपाल फर्किए

देशबाहिर समाचार समाज

रुपेश अधिकारी

युएई / रोजगारका लागि दलालले कुवेत भनेर इराक लाने नियतले दुई साताअघि युएईमा ल्याएर छोडेका दुई नेपाली चेली नेपाल फर्किएका छन्। धरमपुर–२ झापाकी सीता हेमरम र दमककी देवीमाया विश्वकर्मा घर फर्किएका हुन्।

अवुधाबी एयपोर्टमा अलपत्र परेपछि उनीहरुलाई राजदूताबासको टोलीले उद्दार गरेर राजदूताबासकै सुरक्षित आवासगृहमा राखेको थियो।

सीता र देवीमायालाई झापाकै ओजमान लिम्बूले कुवेतमा घरको काम लगाइदिने भनेर भारतीय बाटो हुँदै युएई पठाएका थिए। तर, उनीहरुको भिषा युएईसम्मका लागि मात्र भएको र गलत प्रक्रियाबाट आएको थाहा भएपछि नेपाल नै फर्काउने राजदूताबासले जनाएको थियो।

उनीहरुलाई घर फर्काउन परिवारले टिकट पठाएको थियो। देवीमायाकी फुपु मंगलमाया विश्वकर्माले टेलिफोनमा बताएअनुसार सीता र देवीमाया यहाँ समस्यामा परेको जानकारी पाएलगतै घरपरिवारमा सल्लाह गरी टिकट पठाएर नेपाल झिकाएका हुन्।

उनले भनिन् – ‘देवीको टिकटको पैसा मैले तिरें, सीताको पनि दाजुले गाउँमा पैसा खोजेर दिएपछि आफै काठमाडाैं गएर टिकटकाे प्रबन्ध गरिएकाे हाे।’

देवीले कुराकानीमा फुपुले ओजमानसँग सम्पर्क गराइदिएको बताएपनि मंगलमायाले आफूले सम्पर्क नगराएको उल्लेख गरिन्।

‘मैले उनीहरुलाई कुनै एजेण्टसँग सम्पर्क गराएको होइन, युएईबाटै उनीहरुले फोन गर्दा मात्र मलाई पनि थाहा भएको हो’ – उनले भनिन्। अब पठाउने मान्छे भेटियो भने अावश्यक कानूनी कारबाही शुरू गर्ने मंगलमायाले बताएकी छिन्।