रोकिराखेको ट्याक्टर अचानक गुड्दा ताप्लेजुङमा एक बालक घाइते

ताप्लेजुङ / फुङ्लिङ नगरपालिका नापी टोलमा रोकिराखेको ट्याक्टर चालकबिना नै गुड्दा एक बालक घाइते भएका छन् ।

चालकले लार्पबाही साथ सडक किनारमा रोकिराखेको मे १ त ५०३६ नम्बरको ट्याक्टर अचानक गुड्दा ट्याक्टरको ठक्करबाट ५ वर्षीय अनमोल लिम्बु घाइते भएका हुन् ।

घाइते अनमोल साविकको लिवाङ गाविस १ घर भइ त्यही डेरा गरी बस्ने सन्तवीर लिम्बुका छोरा भएको प्रहरीले बताएको छ । ट्याक्टर न्यूटलमा रोकिराखेको र ओट नलगाएका कारण आफैं गुडेको हुनसक्ने प्रहरीको अनुमान छ ।

घाइते बालकको दाहिने खुट्टामा चोट लागेको र जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको बताइएको छ । ट्याक्टर चालक फरार रहेकाले खोजी जारी राखिएको ताप्लेजुङ प्रहरीले जनाएको छ ।