अलैचीको मूल्य वृद्धिसँगै इलामका किसान उत्साहित

आर्थिक समाचार कृषि पर्यावरण स्थानीय

इलाम / इलाममा अलैचीको मूल्यमा वृद्धि भएसँगै किसान उत्साहित भएका छन् ।

जिल्लाका र जिल्ला बाहिरका विभिन्न बजारहरुमा उच्च गुणस्तरको अलैंची प्रतिमन ३७ हजार रुपैयाँसम्ममा कारोवार हुन थालेको अलैंची व्यवसायी संघ इलामका अध्यक्ष विजय खाकीले बताए ।

उनले भने प्रतिमन अलैंचीको मूल्यमा १२ हजार रुपैयाँले वृद्धि भएको छ । साता दिनपछि अलैंचीको मूल्यमा सुधार आएको अलैंची व्यवसायी संघ इलामको भनाई छ ।

विगतका वर्षमा प्रतिमन एक लाख रुपैयाँसम्ममा बिक्री भएको अलैंचीको मूल्य घटेर यो वर्षको सुरुवातमा २५ हजारमा झरेको थियो । मूल्यमा आएको सुधारले केही आशा पलाएको इलाम नगरपालिका–१, का कृषक रत्नदेवी सुनुवारले बताए ।

अन्तराष्ट्रिय बजारमा अन्य मुलुकमा उत्पादित अलैची सकिएकाले नेपालको उत्पादनले केही मूल्य पाउन थालेको अलैची व्यापारीहरु बताउँछन् । जिल्ला कृषि विकास कार्यालय इलामका अनुसार इलाममा अलैची एक हजार ६ सय हेक्टरमा खेती हुँदै आएको छ ।

यो क्रम बढ्दो अवस्थामा रहेको जिल्ला कृषि विकास कार्यालय इलामका वरिष्ठ कृषि विकास अधिकृत रामसोगारथा साहले जानकारी दिए । उज्यालोअनलाइन