सञ्चारकर्मीको निःशुल्क पीसीआर गर्न पत्रकार महासंघको सरकारसँग आग्रह

झापा / नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले अग्रभागमा रहेर काम गर्ने सञ्चारकर्मीको निःशुल्क पीसीआर परिक्षण गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
महासंघका महासचिव रमेश विष्टले आज प्रेस विज्ञप्ति जारी गर्दै महामारीको यो जटिल परिस्थितिमा जोखिम मोलेर काम गर्ने सञ्चारकर्मीको निःशुल्क पीसीआर परिक्षण गर्न आग्रह गरेका हुन् ।
कोरोनाको यो परिस्थितिमा सञ्चारकर्मीमा संक्रमण देखिने क्रम बढेपछि महासंघले त्यस्तो आग्रह गरेको हो ।
‘हालसम्म कम्तीमा तीन दर्जन सञ्चारकर्मी संक्रमित भइसकेका छन् । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका छन्’ विज्ञप्तिमा भनिएको छ , ‘नेपाल पत्रकार महासंघ संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गर्दछ ।’
म्हासंघले महामारीको यो समयमा संक्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न पनि सञ्चारकर्मिमा अपिल गरेको छ ।
सञ्चार प्रतिष्ठानहरूले अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा फिल्डमा खटिने सञ्चारकर्मीहरुका लागि स्वास्थ्य सामग्रीको प्रयोग संगै पर्याप्त सचेतता अपनाउने वातावरण निर्माण गर्न महासंघले आग्रह गरेको छ ।