झापाका बाढी प्रभावित विद्यालयका विद्यार्थीलाई अभियान नेपालले दियो, शैक्षिक सामग्री र जाडोको स्वेटर

लोकप्रिय खनाल –

गौरादह झापा / अभियान नेपालले झापाको पश्चिम दक्षिण क्षेत्रका बाढी प्रभावित विद्यालयका छात्रछात्रालाई शैक्षिक सामग्री सहित जाडोको स्वेटर वितरण गरेको छ ।

कारितास इन्टरनेशनालिस र कारितास नेपालको सहयोगमा गौरादह नगरपालिका, गौरीगञ्ज, कमल र झापा गाउँपालिकाका बाढी प्रभावित विद्यालयका ३ सय ५१ जना छात्रछात्रालाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

गत साउनमा आएको बाढीबाट झापाका १३ वटा स्थानीय तह सहित दक्षिण वस्तीहरु बढी प्रभावित भएका थिए । त्यसमध्ये बाह्रदशी, कचनकवल, झापा, कमल र गौरीगञ्ज गाउँपालिकाका खोला किनारमा बसोबास गर्ने मानिसहरुमा अझसम्म पनि बाढीको असर रहिरहेको छ । बाढीबाट झापामा १५ जनाको मृत्यु भएको थियो भने २ जना वेपत्ता भएका थिए ।

बाढीबाट प्रभावित वस्तीका विद्यार्थीहरुलाई लक्षित गरी कारितास र अभियान नेपालको साझेदारीमा सञ्चालन भइरहेको ‘बाढी प्रभावितहरुका लागि प्रतिकार्य र पुर्नलाभ परियोजना’ अन्र्तगत उक्त सामग्री वितरण गरिएको हो ।

झापा गाउँपालिकाका सालमारा, मिलनवस्ती, सडकबारी, सुगावथान, चौधरी बस्ती, टप्पु, कमल गाउँपालिकाका नयाँवस्ती (सुकुम्बासीटोल) ढ्याङग्री नहरचोक, शरणपाडा, गौरीगञ्ज गाउपालिकाका कादोगाउँ, पशुहाट, र गौरादह नगरपालिकाका दहगाँउ र सुकुम्बासी बस्तीमा स्थानीय तहका प्रतिनिधीहरुको उपस्थितिमा सामग्री वितण गरिएको हो ।

विद्यालय तहका कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई विद्यालय जाने एउटा झोला, कपी १ दर्जन, पेन्सिल २ प्याकेट, ज्यामिती बक्स, कलर पेन्सिल र जाडोको लागि स्वेटर उपलब्ध गराइएको थियो ।

कारितास र अभियान नेपालको साभेदारीमा बाढी प्रभावितहरुको जिविको पार्जन, कामका लागि नगद, बाढीबाट क्षति पुगेका साना संरचनाहरुको मर्मतसंभार र प्रकोप न्यूनिकरणसँग सम्बन्धित स्थानीय तहको क्षमता विकासमा विभिन्न कार्यक्रम सञ्चालित छ ।