विर्तामोड प्रहरीद्वारा विभिन्न अभियोगमा पक्राउ परेका चार अभियुक्त सार्वजनिक

विर्तामोड/ विर्तामोड प्रहरीले विभिन्न घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका चार जना अभियुक्तलाई सार्वजनिक गरेको छ ।

प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी कर्तव्य ज्यान मुद्दाका  २ जना अभियुक्त राजगढ ३ बस्ने वर्ष २९ को कमलसिंह राजवंशी र अर्जुनधारा नगरपालिका १ बस्ने २३ वर्षीय दिनेश गहते, ज्यान मार्ने उद्योगमा १ जना कन्काई नगरपालिका ३ का ४० वर्षीय राजकुमार ऋषिदेव र चोरी अभियोगमा १ जना विर्तामोड नगरपालिका ७ बस्ने २५ वर्षीय विशाल राजवंशी सहित चार अभियुक्त पक्राउ गरी सार्वजनिक गरेको हो ।

कर्तव्य ज्यानका अभियुक्त राजवंशीलाई आफ्नै श्रीमति गंगाको हत्या अभियोगमा माघ ३ गते प्रहरीले पक्राउ गरेको थियो ।

राजगढ ३ बस्ने जादुलाल राजवंशीका छोरा कमलसिंहले माइती घरमै बस्दै आएकी श्रीमतिलाई ७० साल असोज ६ गते राती १ बजे दिसा गर्न जाऔँ भन्दै स्थानिय सार्की खोलामा धकेली पानीमा डुबाएर हत्या गरेको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका राजवंशी ३ गते पक्राउ परेका हुन् । उनलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अर्का कर्तव्य ज्यानका अभियुक्त गहते पनि माघ ६ गते पक्राउ परेका हुन । अर्जुनधारा नगरपालिका १ सिस्ने बगरटोल बस्ने टंक गहतेका छोरा दिनेशले १५ दिनकी श्रीमती योनीताहाङ लिम्बूलाई धारिलो हतियार बाम्फोकले घाँटीमा प्रहार गरी हत्या गरेका थिए ।

सुत्केरी श्रीमतीको मोवाइलमा अपरिचित नम्बरबाट फोन आउने गरेको र सोही विषयमा विबाद हँदा श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका गहतेलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

 अभियुक्त ऋषिदेव पनि ज्यान मार्ने उद्योगमा माघ ६ गते आइतबार नै पक्राउ परेका हुन् ।

 पारिवारिक विषयमा भएको विबादका क्रममा माघ ५ गते सुरुङगा स्थित घरमा ऋषिदेवले झड्केलो छोरा वर्ष १६ को देवकुमार ऋषिदेवलाई
टाउकोमा एक्कासी खुकुरी प्रहार गरी घाइते बनाएका थिए । उनीहरु बिचमा घरायसी पारिवारिक विषयमा प्रायः विवाद भईरहने गरेको प्रहरीले बताएको छ ।

घाइते ऋषिदेवको विर्तामोड स्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । अभियुत्त ऋषिदेवलाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

त्यस्तै, २ वटा मोटरसाइकल चोरी गरेको अभियोगमा विर्तामोड नगरपालिका ७ बस्ने वर्ष २५ का विशाल राजवंशी पक्राउ परेका छन् ।

उनी विर्तामोड नगरपालिका ४ बस्ने लक्ष्मी नारायण घिमिरेको ०७४ असोज २७ गते आफ्नै घरबाट हिरो होण्डा मोटरसाइकल र विर्तामोड नगरपालिका ७ बस्ने अर्का व्यक्ति मनोजराज भट्टराईको आफ्नै घरबाट कात्तिक २१ गते स्प्लेन्डर मोटरसाइकल चोरी गरेको अभियोगमा पक्राउ परेका हुन् ।

हराएका २ वटै मोटरसाइकल माघ २ र ५ गते फेला परेको प्रहरीले जनाएको छ । अभियुक्तलाई चोरी अभियोगमा मुद्दा चलाइएको छ ।