कांग्रेस–मधेसी गठबन्धन तालमेल प्रयास राजपा–फोरमले प्रदेश २ को ८ सिटमा ५ सिट माग्दा सहमति जुटेन

काठमाडौँ / राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र मधेस केन्द्रित दुई दलबीचको तालमेल अझै निष्कर्षमा पुग्न सकेको छैन । प्रदेश २ को सिट बाँडफाँटमा कुरा नमिल्दा तालमेल नटुंगिएको हो ।

कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमबीच आइतबार आन्तरिक छलफल गरी सोमबारसम्म सहमति जुटाउने प्रयास भइरहेको बालुवाटार स्रोतले जनायो ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी दलसँग सहमति जुटाउन आन्तरिक गृहकार्य गर्न केन्द्रीय सदस्यहरू विमलेन्द्र निधि, रामशरण महत र मीनेन्द्र रिजाललाई जिम्मेवारी दिएका छन् । शनिबारको छलफलमा राजपा र फोरमले प्रदेश २ को ८ सिटमा ५ सिट दाबीगरेका छन् ।
कांग्रेससँग तालमेल नगरे पनि राजपा र फोरम गठबन्धनले २ नम्बर प्रदेशमा ४ सिट जित्ने करिब निश्चित छ । बहुमतीय पद्धतिबाट हुने निर्वाचनमा दुई सिट (दलित, अपांगता भएका व्यक्ति) र एकल संक्रमणीयतर्फको निर्वाचनमा दुई सिट मधेसी गठबन्धनले जित्ने निश्चितजस्तै छ । कांग्रेससँग गठबन्धन हुँदा थप एक सिट माग गरेको राजपा नेता केशव झाले बताए ।
वाम गठबन्धनले एकल संक्रमणीयमा खुला १ र महिलातर्फ १ सिट जित्ने सम्भावना छ । वाम गठबन्धनका तर्फबाट २ नम्बर प्रदेशमा उम्मेदवारी नै दुई जनाको मात्रै पर्ने भएको छ । वाम गठबन्धनले दुई सिट जित्ने भएकाले कांग्रेस आफूलाई सिट राखेर मधेसी दललाई चार सिट दिन तयार छ ।
‘हामीले ५ सिट माग गरेका छौं, कांग्रेसले ४ सिटमा सघाउने भनिरहेको छ,’ झाले भने, ‘यसैमा कुरा मिलेको छैन । तर वार्ता सकारात्मक छ ।’ कांग्रेसले २ नम्बरमा मधेसी गठबन्धन दललाई ५ सिट छाड्न तयार भए अन्य प्रदेशमा कांग्रेस उम्मेदवारलाई सघाउने प्रस्ताव मधेसी दलको छ । मधेसी गठबन्धनले वाम गठबन्धनसँग तालमेल गरे २ नम्बर प्रदेशमा कांग्रेसको शून्य नतिजा आउन सक्छ ।
त्यसैले पनि मधेसी दललाई वाम गठबन्धनसँग जान नदिन कांग्रेस लचिलो हुने सम्भावना रहेको कार्यदलमा रहेका एक सदस्यले कान्तिपुरलाई बताए । यस विषयलाई राजपाको राजनीतिक समितिको बैठक आइतबार बसेको थियो । उक्त समितिले तालमेलका लागि आवश्यक निर्णय लिन अध्यक्षमण्डलका सदस्यहरूलाई अख्तियारी दिने निर्णय लिएको छ । ‘पहिलो प्राथमिकता कांग्रेससँग नै तालमेल गर्नुपर्छ भन्ने छ,’ झाले थपे, ‘भएन भने जता सहज हुन्छ, त्यतै गर्न पनि सकिन्छ ।’
कांग्रेसमा शीर्ष नेतृत्वले उम्मेदवार चयन गर्नेपार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने संसदीय समिति विवादमा तानिएपछि राष्ट्रिय सभाको निर्वाचनका लागि शीर्ष नेताहरू सम्मिलित बैठकले उम्मेदवार चयन गर्ने भएको छ । पार्टी पदाधिकारी, वरिष्ठ नेता र पूर्व पदाधिकारीसमेतको बैठकले उम्मेदवार चयन गर्ने बालुवाटार स्रोतले बतायो । मधेसी दलसँगको तालमेलको टुंगो लागेलगत्तै कांग्रेसले उम्मेदवारचयन गर्नेछ ।
मधेसी दलसँगको तालमेलको टुंगो लगाउन निधि, महत र रिजाल आइतबार दिनभर गृहकार्यमा जुटेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय सदस्य निधिले आफूहरू राष्ट्रिय सभामा जाने हल्ला निराधार रहेको बताएका छन् । पौडेल तनहुँ १ र निधि धनुषा ३ बाट पराजित भएका थिए । निर्वाचनमा पराजित पौडेल, निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउन खोजिएको चर्चा बाहिर आएको थियो । पौडेलले फेसबुक र निधिले टिवटरबाट आफूहरूका बारेमा चलाइएको हल्ला निराधार रहेको बताएका हुन् । 
कान्तिपुर दैनिक