राष्ट्रियसभामा तालमेल गर्न वाम र मधेशी दल सकारात्मक

राजनीति राष्ट्रिय समाचार

काठमाडौं/ एमाले र माओवादी केन्द्रले राष्ट्रिय जनता पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालसँग राष्ट्रियसभा निर्वाचनमा चुनावी तालमेल गर्न औपचारिक प्रस्ताव गरेको छ।

बाम गठबन्धनमा आवद्ध दुई दलले मंगलबार विहान राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्न राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम, नेपालसँग औपचारिक प्रस्ताव गरेको हो। प्रदेश नम्बर २ मा स्पष्ट बहुमत पाएको २ दलसँग राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेर जाने विषयमा बाम गठबन्धनका तर्फबाट औपचारिक प्रस्ताव गरिएको एमाले नेता सुवाष नेम्वाङले जानकारी दिए।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल पनि एमाले नेतृत्वको बामगठबन्धनसँग सहकार्य गरेर जान सकारात्मक देखिएको बताइएको छ। छलफलमा एमाले र माओवादी केन्द्रका नेताहरुले केन्द्रीय सरकार निर्माणमा पनि सहकार्य गरेर जान सकिने प्रस्ताव पनि अघि सारेका थिए। यता, राष्ट्रिय जनता पार्टी पनि एमालेसँग सहकार्य गरेर जान इच्छुक देखिएको बताइएको छ।

एमाले र माओवादी केन्द्रले १३ सिटमा भने अन्य दलसँग सहकार्य गर्नेगरी राष्ट्रियसभा निर्वाचनमा जाने निर्णय गरेका थिए। सोही निर्णय अनुसार राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम, नेपालसँग पनि चुनावी तालमेलको विषयमा औपचारिक प्रस्ताव गरिएको हो।

बैठकमा एमालेबाट नेता नेम्वाङ र अग्नी खरेल, माओवादी केन्द्रबाट वर्षमान पुन र मातृका यादव सहभागी हुनु भएको थियो भने राष्ट्रिय जनता पार्टीका सर्वेन्द्रनाथ शुक्ला, रामनरेश यादव, वृशेषचन्द्र लाल तथा संघीय समाजवादी फोरम, नेपालबाट राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए। राष्ट्रियसभा निर्वाचनको उम्मेदवार बुधबार मनोनयन गर्ने कार्यसूचि छ। डिसी नेपाल