माई नगरपालिका ईलाममा आयुर्वेद स्वास्थ्य शिविर

दानाबारी / माई नगरपालिका–२ सितली ईलाममा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

आयुर्वेद विभाग मेची अञ्चलको आयोजना तथा माइ नगरपालिकाको सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरमा माइ नगरपालिकाका साथै झापाका समेत गरी १५० भन्दा बढी सेवाग्राहीले सेवा लिएका छन ।

 

जेष्ठ नागरिकलाई स्वास्थ्य जाँच गर्दै डा. केनिन राई

इलाम क्षेत्र नं १ को ख का प्रदेशसभा सासंद काजीमान कागतेको प्रमुख आतिथ्यतामा भएको सो शिविरमा झापा तथा इलामका स्वास्थ्य चिकित्सकहरुले स्वास्थ्य जाँच र निःशुल्क औषधी वितरण गरेका थिए ।

आयुर्वेद विभाग मेची अञ्चलका प्रमुख खगेन्द्र पौडेलका अनुसार बर्षमा एक चोटी जिल्लामा स्वास्थ्य शिविर राख्ने कार्यक्रम अनुसार इलाम जिल्लाको गरुवा बहुमुखी क्याम्पसमा शिविर राखिएको हो ।

शिविरमा सवै प्रकारको चेक जाँच गरी विरामीहरुलाई आयुर्वेद पद्धती अनुसार औषधी उपचार गर्नुका साथै सचेतना समेत दिइएको पौडेलले बताए । स्वास्थ्य शिविरमा डा. रामकृष्ण आचार्य, केनिन राई लगायतको आयुर्वेद चिकित्सक टोलीले स्वास्थ्य जाँच गरेको थियो ।

सो क्षेत्रमा कुनै पनि आयुर्वेद औषधालय नहुँदा सेवा लिन ३० किलोमिटर टाढा झापाको विर्तामोड पुग्नुपर्ने हुँदा सर्वसाधारण आयुर्वेदिक भन्दा पनि एलोपेथिक औषधी सेवन तथा उपचार विधी प्रयोग गर्न वाध्य हुनुपरेको माइ नगरपालिका–२ का वडाध्यक्ष खम्बसिंह लिम्बुले बताए ।