आहा रारा गोल्ड क्लवमा झापा ११ पुलिस क्लवसँग पराजित

विर्तामोड / पोखरामा जारी १६ औं आहा रारा गोल्ड कप अन्तर्गत शुक्रबार सम्पन्न क्वार्टरफाइनलमा रमपम झापा ११ पुलिस क्लवसँग पराजित भएको छ ।

विभागीय टोली पुलिस क्लवले झापा ११ लाई १-० गोलले हराएको हो । जीतसँगै पुलिस क्लव क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा पुलिसका सुमन लामाले निर्णायक गोल गर्दा झापा ११ प्रतियोगिताको पहिलो चरणबाटै बाहिरियो । लामाले खेलको १३ औं मिनेटमा वान भर्सेस वानमा गोल गरे ।

उनले झापाका डिफेन्स दिलेन लोक्ताम र निरज बस्नेतलाई छक्याउदै गोल गर्न सफल भए । पहिलो हाफमा आक्रामक खेलेको पुलिसले दोस्रो हाफमा भने केही रक्षात्मक खेल खेल्यो ।

अधिकाशं नयाँ खेलाडीका साथ मैदान उत्रिएको झापाले दोस्रो हाफमा पाएका अवसर चुकायो । झापा ११ का प्रशिक्षक प्रवेश कटुवालले नयाँ खेलाडीबीच तालमेल मिल्न नसक्दा हार व्यहोर्नुपरेको बताए ।

शनिबार उत्तर बरिन्धरा क्लब बंगलादेश र सुदूरपश्चिम स्पोर्टिङ क्लबबीच पहिलो क्वार्टरफाइनल खेल हुने बताइएको छ । सुदूरपश्चिम उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई हराएर क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ ।