प्रदेशसभा हलको ‘डिजाइन’ तयार

पत्रपत्रिका प्रदेश समाचार

काठमाडौँ / सहरी विकास तथा भवन विभागले संसद् सचिवालयको सुझाव समेटेर प्रदेशसभा हलको ‘डिजाइन’ तयार पारेको छ। त्यसैमा आधारित भएर प्रदेशसभा भवनको मर्मतसम्भार, फर्निचर र भौतिक सामग्रीको व्यवस्थापन थालिएको संसद् सचिवालयका प्रवक्ता भरतराम गौतमले जानकारी दिए।

हलको मूल ढाँचा एउटै भए पनि सिट संख्या भने प्रदेशपिच्छे फरक हुनेछन्। किनकि सातवटा प्रदेशको प्रदेशसभाको सदस्य संख्या फरक–फरक छ। सभाको दायाँ भागमा सत्तापक्षीय सांसद बस्नेछन् भने बायाँतर्फ प्रतिपक्षी सांसदहरूको कुर्सी राखिएको छ। सत्तापक्षीय सदस्यहरू बस्ने ठाउँकै छेउमा सरकारका मन्त्रीहरू बस्नेछन्। त्यसको सबभन्दा अग्र पंक्तिमा मुख्यमन्त्री बस्नेछन् भने उपसभामुख त्यसैको अर्को छेउमा बस्नेछन्। प्रतिपक्षी दलका नेता भने मुख्यमन्त्रीको ठीक विपरीत हुने गरी प्रतिपक्षीय सांसदहरूको ठाउँमा बस्नेछन्।
हलको अग्रभागमा मञ्च रहनेछ। जहाँ सभामुख, प्रदेशसभा सचिवालयका सचिव र कार्य व्यवस्था हेर्ने अधिकृत रहनेछन्। मञ्चको एउटा दायाँ कुनामा रोस्ट्रम रहनेछ। प्रत्येक हलमा सभाका गतिविधि रेकर्ड गर्न र निगरानी राख्न ‘कन्ट्रोल रुम’ पनि रहनेछ।
त्यस्तो कन्ट्रोल रुम मञ्चको बायाँतर्फ प्रस्ताव गरिएको छ। तर, हलको ढाँचा हेरेर कन्ट्रोल रुमको स्थान फरक पर्न सक्ने सहरी विकास विभागका अधिकारीले बताए। सांसद बस्ने स्थानको ठीक पछाडि कर्मचारी, पत्रकार र दर्शकका लागि समेत सिट रहनेछन्। सभा हलभित्र जान र बाहिरिन दुइटा मुख्य ढोका रहनेछन् भने अन्य ६ वटा ढोका हुनेछन्। ती सबै ढोकामा मर्यादापालक उभिनेछन्।
प्रदेशसभाको आन्तरिक सजावटमा एकरूपता ल्याउन हलभित्र ओछ्याइने कार्पेट पनि एउटै रङको प्रस्ताव गरिएको छ। विभागका अनुसार कार्पेट रङले सांसददीर्घा र दर्शकदीर्घा छुट्टिनेछ। सांसद बस्ने ठाउँमा हल्का नीलो रङको कार्पेट राखिनेछ।
त्यसैगरी सातवटै प्रदेशसभामा सांसद बस्ने कुर्सीमा नीलो रङकै खोल रहनेछ। सजावटसम्बन्धी अन्य विषयको निधो सम्बन्धित प्रदेशसभा सचिवालयबाट नै हुने विभागका एक अधिकारीले बताए।
त्यसो त संघीयता कार्यान्वयनका हिसाबले पनि प्रदेशसभाको पहिलो बैठक र सभा हलको संरचना र सजावटलाई विशेष महत्त्वसाथ हेरिएको छ। यही कारण सभाको संरचना निर्माणमा कुनै कमी हुन नदिन संसद् सचिवालयले विशेष ध्यान दिएको संसद् सचिवालयका प्रवक्ता गौतमले बताए। कान्तिपुर