प्रधानमन्त्री देउवाले भने-मैले त केही गर्नै पाइनँ

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले केही गर्नै नपाएको बताएका छन् ।

काम चलाउ भइसकेको सरकारले दिर्घाकालीन महत्वका निर्णय तथा नियुक्तहरु गरेको भन्दै आलोचना भइरहेका बेला देउवाले भने केही गर्नै नपाएको बताएका हुन् ।

शनिबार बीपी स्मृति अस्पतालको नयाँ भवनको उद्घाटन कार्यक्रममा देउवाले भने, ‘वास्तवमा भन्ने हो भने मैले त केही गर्नै पाइनँ । सुरुमै आचार संहिता लाग्यो । आचार संहिता हटेपछि गर्न खोज्दा फेरि किन गर्‍यो भन्न थालिसके ।’

उनले अघि भने, ‘केही काम गर्दा देशभरी हल्ला भइसक्यो शेरबहादुरले केके न गर्‍यो भनेर ।’

देउवाले सरकारको कामकारबाहीमा एमालेले गरेको विरोधप्रति असन्तुष्टि जनाएका छन् ।

प्रधानमन्त्री रहँदासम्म निर्णय गर्ने आफ्नो अधिकार भएको भन्दै उनले भने, ‘भोलि आउने सरकारले आफ्नो जिम्मेवारी पुरा गर्न कसले रोकेको छ र ?

उनले छिट्टै सत्ता हस्तान्तरण गर्न चाहेको तर, राष्ट्रियसभा चुनाव गराउनु आफ्नो जिम्मेवारी भएको बताए ।