उत्तर कोरियालाई अमेरिकासँग वार्ता गर्न दक्षिणको आग्रह

सोल / दक्षिण कोरियाका छिमेकीसँगको सम्बन्ध हेर्ने मन्त्री चो मियुङ ग्योनले उत्तर कोरियालाई अमेरिकासँग वार्ता गर्न आग्रह गरेका छन् । शीतकालीन ओलम्पिक प्रतियोगितामा सहभागी हुने उत्तर कोरियाको निर्णयले मात्र शान्तिवार्ता सफल नहुने उनले बताएका छन् ।खेलकुद कूटनीतिले दुई कोरियाबीचको तनाव कम गराउन केही काम गरे यसबाट मात्र लक्ष्यमा पुग्न कठिन हुने उनको दाबी छ ।

९ फेब्रुअरीदेखि दक्षिण कोरियाको प्योङच्याङमा शीतकालीन ओलम्पिक शुरु हुँदै छ । उक्त खेलमा उत्तर कोरिया र दक्षिण कोरियाले संयुक्त रूपमा सहभागी हुने बताइसकेका छन् । यसबाट दुई देशबीच सम्बन्ध सुधारको अपेक्षा गरेका बेला मन्त्री चोको भनाइबाट थुप्रै कदम बाँकी रहेको खुलासा भएको छ । अर्कोतर्फ ओलम्पिक प्रतियोगिताको उद्घाटन हुनुभन्दा एक दिनअघि ८ फेब्रुअरीमा उत्तर कोरियाले प्योङयाङमा विशाल सैन्य परेड प्रदर्शन गर्दै छ । यसबाट कोरियाली प्रायद्वीपमा फेरि समस्या चर्किने अनुमान गरिएको छ । मन्त्री चोले स्थिति सुधार्न अमेरिकासँग वार्ता गर्नु सबैको हितमा भएको भन्दै उत्तरलाई अनुरोध गरेका छन् । लामो समयदेखिको तनाव कम भएका बेला यसलाई अवसरको रूपमा बदल्न पनि उनले भनेका छन् ।

दक्षिण कोरिया र अमेरिकाबीच शक्तिशाली सैन्य अभ्यास हुँदै छ । शीतकालीन ओलम्पिक चल्दासम्म संयुक्त सैन्य अभ्यास नगर्ने दक्षिण कोरियाले स्पष्ट पारेको छ । ओलम्पिक अवधिमा सैन्य अभ्यास भए उत्तर कोरियाले खेलकुदमा भाग नलिन सक्ने भन्दै दक्षिणले यस्तो अभ्यास नगर्ने निर्णय गरेको हो । उत्तरले यसअघि पनि संयुक्त सैन्य अभ्यास भड्काउपूर्ण भएको भन्दै विरोध गर्ने गरेको छ । यसको विरोधमा भन्दै प्योङयाङले क्षेप्यास्त्र परीक्षण गर्ने गरेको थियो ।

चोले भने, ‘जब सैन्य अभ्यास शुरु हुन्छ, उत्तर कोरिया आक्रोशित हुनेछ र युद्धका लागि भड्काएको भन्दै ऊ आक्रामक हुनेछ ।’ यसपछि उत्तरले क्षेप्यास्त्र परीक्षण शुरु गर्ने आशंका व्यक्त गरे । यसको प्रतिक्रियामा उत्तरविरुद्ध प्रतिबन्ध लगाउन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे । गत दुई वर्षदेखि उत्तर कोरियाले क्षेप्यास्त्र र आणविक परीक्षण गर्दै आएको छ । त्यसको विरोधमा अमेरिकी प्रस्तावमा उत्तर कोरियाविरुद्ध अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाइएको छ । नाकाबन्दीले आफूमाथि अन्याय भएको भन्दै उत्तरले थप परीक्षण गर्ने गरेको छ ।

प्योङयाङले दक्षिणमा खेलाडीसँगै सांस्कृतिक टोली पनि पठाउने जानकारी दिएको छ । महिला आइस हक्की टोली संयुक्त खेल अभ्यासका निम्ति दक्षिण कोरिया आइसकेको छ । यो प्रतियोगितालाई ‘शान्ति ओलम्पिक’ भन्न थालिएको छ । यस्ता बेला उत्तर कोरियाले सैन्य प्रदर्शन गरेमा वार्ताको वातावरण बिग्रने दक्षिणको भनाइ छ । दक्षिण कोरियाली मन्त्री चोले भने, ‘उत्तर कोरियाले सैन्य परेडमा ठूलो संख्यामा सैनिक र हतियार प्रदर्शन हुनेछ । त्यसैले यसबाट बचेर उत्तरले अमेरिकासँग वार्ता गर्नु उचित हो ।’ यद्यपि अमेरिका र उत्तरबीच वार्ता हुनेमा आशंका व्यक्त गरिएको छ । उत्तरले विनाशर्त वार्तामा बस्ने तयार भएको बताउँदै आएको छ । अमेरिकाले भने उत्तरले परमाणु कार्यक्रम बन्द गरेमात्र वार्ता गर्ने स्पष्ट पार्दै आएको छ ।

उत्तर र दक्षिणबीच सकारात्मक वार्ता हुने अपेक्षा भइरहेका बेला जापान र दक्षिण कोरियामा पनि यसको विरोधमा आवाज उठ्न थालेका छन् । जापानले गत साता मात्र जापानमा क्षेप्यास्त्र आक्रमण भएको र यसबाट बच्न सिकाउने भन्दै अभ्यास गराएको थियो । दोस्रो विश्वयुद्धपछि पहिलोपटक जापानी सेनाले टोक्योमा यस्तो रिहर्सल गराएको थियो । यसैगरी दक्षिण कोरियामा पनि वर्तमान राष्ट्रपति मुन जे इन उत्तर कोरियाप्रति नरम भएको भन्दै विरोध हुन थालेका छन् । उत्तरलाई अनावश्यक रूपमा महत्व दिएको भन्दै मुनले गलत गरिरहेको उनीहरूको भनाइ छ । गत साता हजारौं दक्षिण कोरियालीले सोलमा उत्तर कोरिया र त्यहाँका नेता किम जोङ उनका तस्बिरहरूमा आगजनी गरेका थिए । अन्नपूर्णपोष्ट