बिमल घर्तीमगर चर्चित भारतीय क्लब मोहन बगानमा

काठमाडौँ / आई लिग खेलिरहेको भारतको चर्चित क्लब मोहन बगानले नेपाली स्ट्राइकर बिमल घर्ती मगरलाई अनुबन्ध गरेको छ । जारी आई लिगको चौथो स्थानमा रहेको मोहन बगानले शनिबार राति एक विज्ञप्ती निकाल्दै बिमललाई क्लबमा अनुबन्ध गरेको पुष्टि गरेको हो ।

‘नेपालका चर्चित फुटबलर बिमल घर्ती मगरलाई क्लबमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा हामी खुशी छौँ’, क्लबले विज्ञप्तिमा भनेको छ, ‘नेपालका यी युवा स्ट्राइकरले युरोपका केही ठुला क्लबहरुमा ट्रायल पनि दिएका छन् । उनलाई डच क्लब एफसी ट्वान्टे दुई साताको ट्रायलमा सहभागी गराएको थियो । उनले युरोपमा पनि आफ्नो क्षमताले प्रभाव छाड्न सफल भएका थिए ।’

बिमलले बेल्जियमस्थित चर्चित फुटबल क्लब एन्डरलेचको १६ वर्षमुनिको टीममा रहेका अन्य युरोपियन क्लब विरुद्ध पनि खेलेका थिए । सन् २०१४ मा पाएको यो अवसरसँगै बिमल चर्चित भएका थिए ।

उनले बेल्जियममा रहँदा एन्डरलेचबाट एगोन फ्युचर कप, टेन ब्रिन्क बोयु टुर्नामेन्ट र नुएनेन टुर्नामेन्टमा पनि खेलेर गतिलो प्रभाव छाड्न सफल भएका थिए ।

गतिलो प्रभाव छाडेपछि बिमल ८ जुन सन् २०१४ मा एउटा छोटो समयका लागि एन्डरलेचसँग अनुबन्ध भएका थिए । त्यसपछि उनले एन्डरलेचको १९ वर्षमुनिको टिममा रहेर कोपा डेल अग्था खेलेका थिए । त्यसक्रममा उनले एन्डरेचलाई प्रतियोगिताको फाइनलमा पु¥याउँदै २ गोल पनि गरे । तर एन्डरलेच फाइनलमा एटलेटिको पारानान्से ३–० ले पराजित भयो ।

उनी नेपालको राष्ट्रिय टिमबाट खेल्ने सबैभन्दा कान्छा खेलाडी पनि हुन् । उनले १४ वर्षमै नेपाली राष्ट्रिय टोलीबाट बंगलादेशबाट खेलेका थिए । बिमल मोहन बगानसँग औपचारिकरुपमा आवद्ध हुन आइतवार कोलकाता जाँदैछन् । सुरुमा तालिममा सहभागी हुँदै उनले २९ जनवारीमा क्लबसँग औपचारिक सम्झौता गर्नेछन् । यो सम्झौतापछि उनले पाउने तलबबारे क्लबले घोषणा गर्नेछ । अन्नपूर्णपोष्ट