शिव श्रेष्ठले निर्माण गर्ने फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा फिल्मी क्षेत्रका मल्टि स्टाररले अभिनय गर्ने

 विर्तामो / नेपाली फिल्म इण्डस्टिजका हस्ति शिव श्रेष्ठले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा फिल्मी क्षेत्रका मल्टि स्टाररले अभिनय गर्ने भएका छन् ।

नेपाली फिल्मी क्षेत्रमा ठूल्दाई भनेर चिनिने श्रेष्ठको निर्माण तथा अभिनय समेत रहेको उक्त चलचित्रमा दीलिप रायमाझी, भुवन केसी, करिश्मा मानन्धर, निरुता सिंह प्रियङ्का कार्की ,किरण केशी लगायतका कलाकारहरुको पनि अभिनय रहने बताइएको छ ।

फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मा नायिका वर्षा राउत, नायक द्वय संजोग कोइराला र नरेन खड्का फाइनल भईसकेका छन् ।
फागुनबाट औपचारिक रुपमा छायांकन सुरु हुन लागेको फिल्ममा अहिलेसम्म दीलिपसँग मात्र औपचारिक सम्झौता भएको खबर छ ।

खबरअनुसार, यी कलाकारहरु फिल्मको एक गीतमा मात्र देखिनेछन् । निर्माता श्रेष्ठले ‘एउटा यस्तो प्रेम कहानी’ को एक लोकलय गीतमा पुराना धेरै कलाकारलाई जम्काभेट गराउने तयारीमा छन् ।

तीनवटा फरक लभस्टोरीलाई फिल्ममा देखाउन खोजिएको छ । फिल्मको मेजर रोलमा वर्षा, प्रियंका र बिष्णु चेम्जोंग रहने बताइएको छ । शिव श्रेष्ठ आफैंले फिल्मको कथा लेखेका हुन् ।