नार्कले पहिलो पटक नेपालमा पत्ता लगायो आलुको नयाँ जात

आर्थिक समाचार कृषि समाचार

विर्तामोड / नेपालमा पहिलो पटक आलुको नयाँ जात पत्ता लागेको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले आलुको नयाँ जात पत्ता लगाएको हो ।

अरु जातका आलुका बिउबाट क्रस गरेर नयाँ जातको बिउ विकास गरिएको राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रमले जनाएको छ । तर, नार्कले उक्त जातको आलुको नामाकरण भने गरिसकेको छैन ।

आलुमा लाग्ने रोगहरु मध्ये पछौटे डढुवा सबैभन्दा खतरनाक रोग मानिन्छ । नयाँ जातको आलुले यो रोग पचाउन सक्ने बताइएको छ ।

नार्कले यसअघि अन्य मुलुकबाट आयातित जातलाई प्रयोगशालामा परिक्षण गरेर उपयुक्त नतिजा आएको खण्डमा किसानका लागि सिफारिस गर्दै आएको थियो । कार्यालयले यो पटक भने क्रस गरेर नयाँ जातको आलु विकास गरेको हो ।

जिल्ला कृषि विकास कार्यालय, बीउ उत्पादक समूह, सहकारी लगायतका निकाय मार्फत किसानसम्म बीउ पठाउने तयारी गरिएको छ ।
कार्यक्रमले नयाँ बीउलाई बीउ गुणस्तर जाँच केन्द्रमा पनि पठाईसकेको छ । केन्द्रले त्यसलाई स्वीकार गरेपछि वितरणका लागि देशभरी पठाउने तयारीमा कार्यालय रहेको छ ।

अहिले भएको जनकदेव जातको आलु सरह यो नयाँ जातको आलुको उत्पादन पनि ३५ देखि ४० टन प्रति हेक्टर उत्पादन गर्न सकिने नार्कले जनाएको छ । आलुमा लाग्ने रोग अगौटे डढुवा,पछौटे डढुवा,आलुको दानामा लाग्ने दाद जस्ता रोगले असर नगर्ने हँदा किसानले धेरै आम्दानी लिन सक्ने कार्यालयको विश्वास छ ।

राष्ट्रिय आलु बाली अनुसन्धान कार्यक्रमले अहिलेसम्म १० जातका आलुको बीउ किसानलाई वितरण गर्दै आएको छ । आलु उत्पादन हुने क्षेत्रफलका हिसाबले नेपाल पाँचौँ र उत्पादकत्वका हिसाबले पहिलो बाली हो । नेपालका अधिकांश जिल्लामा आलुको खेती हुने गरेको छ ।

सोमबार १:५५ बजे प्रकाशित