अचम्म नमान्नुस सबैलाई मनपर्ने चकलेट अब गाईबस्तुका लागि पनि

गोपिन पोखरेल-

विर्तामोड / चकलेट भन्ने बित्तिकै मिठो, गुलियो चिज हो यो सबैलाई मन पर्छ । विशेष गरेर बालबालिकालाई त चकलेट झनै मन पर्छ । चकलेट भनेपछि मरिहत्ते गर्छन नानीहरु ।

घरबाट कतै टाढा जानुपर्यो भने आफ्ना नानीहरुलाई नरोइबस म भरे चकलेट ल्याइदिन्छु भनरे फकाउँदा उनीहरु तेसै फुरुङ्ग । बच्चाहरुको  के कुरा, ठुलै मान्छेलाई पनि मिठो अनि प्रिय लाग्छ चकलेट । विदेशबाट कोही आयो भने चकलेट ल्याइनस् भनेर हामी नै भन्छौँ ।

मानिसलाई मिठो लाग्ने चकलेट अब गाईबस्तुका लागि पनि उत्पादन हुन थालेको छ । गाईबस्तुलाई दानाका रुपमा ख्वाउन चकलेट उत्पादन थालिएको हो ।

मोरङको कृष्ण दाना उद्योगले केही समय अघिदेखि दानाको आधुनिक स्वरुपमा चकलेट बजारमा ल्याएको जनाएको छ । यो चकलेट दाना दुधदिने गाईबस्तुका लागि लाभदायी हुने उद्योगको दाबी छ ।

बजारीकरण बढेसँगै घाँस र पोषकतत्वको अभाव भएपछि यसलाई परिपुर्ती गर्न आधुनिक दानाका रुपमा चकलेट उत्पादन गर्न थालिएको उद्योग सञ्चालक रोमन कट्टेलले बताए ।

पछिल्लो पटक गाईभैसीको दुधमा पाली मिसाउने तथा अन्य अखाध्य बस्तु मिसाउने गरिएपछि आफैँले गाईबस्तु पालेर दुध खाने प्रचलन बढ्न थालेको छ ।

तर, गाइबस्तुलाई चाहिने हरियो घाँसपातको भने अभाव छ । त्यसलाई पुरा गर्न चकलेट उत्पादन थालेको कट्टेलको भनाई छ । यो खसीबाख्रालाई पनि खुवाउन मिल्ने गरी आधा र एक केजीको तौलमा पनि बजारमा विक्रीका लागि पठाइएको छ ।

यसमा घाँसमा पाइने अतिरिक्त तत्वसँगै अन्य गाइबस्तुलाई चाहिने पोषण तत्व पनि मिसाइएको बताइएको छ । चकलेटमा पिना,आइरन, क्याल्सियम,भुस लगायतका खाद्यबस्तु मिसाइएको छ ।

पोषणतत्व मिसावट भएको चकलेटले गाईवस्तुको दूध उत्पादन क्षमता पनि बढाउने सञ्चालक कट्टेलको दाबी छ  । करिब १० करोड रुपैयाँ लगानीमा स्थापित उद्योगले दैनिक २० टन चकलेट उत्पादन गर्दै आइरहेको छ । #कृषि टीभीको सहयोगमा #तस्बिर पनि

सोमबार २:५५ बजे प्रकाशित