प्रदेश १ मा मुख्यमन्त्री को ?

निर्बाचन २०७४ प्रदेश राजनीति समाचार

सुमन तिमल्सिना –

माेरङ / प्रदेश नं. १ मा एमालेले मुख्यमन्त्री पाउने पक्का भैसकेको छ । तर कसले पाउँछ भन्ने झैं अझै टुंगो लागेको छैन ।

केही दिन अघिसम्म नेता शेरधन राईले मात्र एकलौटी दाबी गर्दै आउनुभएकोमा आइतबारसम्म मुख्यमन्त्रीको दाबी गर्नेहरु तीनजना देखिएका छन् ।

एमाले स्थायी समिति सदस्य तथा सुनसरी क्षेत्र नं. १ (१)बाट निर्वाचित भीम आचार्य, एमालेका पोलिटव्युरो सदस्य तथा भोजपुरको प्रदेशसभा निर्वाचन क्षेत्र २ बाट निर्वाचित शेरधन राई र एमाले केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित जीवन घिमिरेले मुख्यमन्त्रीको दाबी गरेका हुन् । घिमिरे र आचार्य दुवै एमाले बरिष्ठ नेता माधव नेपाल तथा राई केपी ओली समूहका हुन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आचार्यले आफू मुख्यमन्त्रीको दौडमा रहेको घोषणा गरेको भोलिपल्टै आइतबार विराटनगरमा राई र घिमिरेले पनि छुट्टाछुट्टै स्थानमा  पत्रकार सम्मेलन गरी मुख्य मन्त्रीको रुपमा आफूहरु योग्य रहेको दाबी गरे ।

पत्रकार सम्मेलनमा नेता राईले आफू मुख्यमन्त्रीका लागि बलियो दाबेदार रहेको बताउनुभएको थियो । त्यसको केही घण्टामै पत्रकार बोलाएर घिमिरेले आफू  लाभको पदमा अहिलेसम्म नपुगेकोले त्यो अवसर आफूले पाउनुपर्ने दाबी गर्दै संसदीय दलको नेतामा आफू विजयी हुने ठेकुवा गर्नुभयो ।

माधव नेपालको आधिकारिक उम्मेदवार आफू भएको दाबी गर्दै घिमिरेले अहिले नै नबोल्ने हो भने ढिला हुने भएकोले आफूले मुख खोलेको पनि बताउनुभयो । उहाँले अवसरको समुचित व्यवस्थापनमा पार्टीले ध्यान दिनुपर्ने तर्क गर्नुभयो । राजनीतिक जीवनको सुरुवातदेखि अहिलेसम्म कुनै पनि राजकीय पद नलिएको र परीक्षा दिन पनि नपाएको कारण  अब परीक्षाको मौका आफूलार्ई दिनुपर्ने घिमिरेको भनाई छ ।

घिमिरेले नेता भीम आचार्यप्रति लक्षित गर्दै भन्नुभयो, ‘प्रदेशमा चुनाव लड्नु नै उहाँले गल्ती गर्नुभयो । उहाँ त प्रतिनिधिसभामा जाने मान्छे हो, किन प्रदेशमा आउनु भयो ?’

आफू मुख्य मन्त्री बन्ने विषयमा पार्टीका नेताहरुसँग छलफल गरिरहेको जानकारी दिँदै घिमिरेले संसदीय दलको नेता बन्ने प्रक्रियामा आफू पनि प्रवेश गर्ने बताउनु भयो ।  यसअघि बिहान पत्रकारसँग कुरा गर्दै राईले आफू १ नम्बर प्रदेशको मुख्यमन्त्रीको बलियो दाबेदार भएको बताउनु भएको थियो ।

पार्टीका अरु नेताले पनि मुख्यमन्त्रीमा चाहना राख्नु र संसदीय दलमा जित्छु भन्नु अन्यथा नभएको राईको प्रतिक्रिया छ ।  उज्यालोअनलाइन