दोषीलाई कार्वाही नगरे यूवा संघ नेपाल हातमा दही जमाएर नबस्ने

विर्तामोड /यूवा सघ नेपाल १ नं प्रदेश कमिटीले इटहरी उपमहानगरपालिकामा यूवा संघ नेपालका कार्यकर्ता माथि भएको सांघातिक आक्रमणमा संलग्न दोषी माथि कार्वाहीको माग गरेको छ ।

युवा संघ १ नं प्रदेश कमिटीले बिहिबार एक विज्ञप्ती निकालेर एमाले एवम् यूवा संघका कार्यकर्ता उमेश सुव्बा,मनोज बस्याल,सिजन दाहाल लगायतलाई धारिलो हतियार प्रयोग गरि नेपाली काङग्रेस सम्बद्ध समुहले आक्रमण गरेको जनाएको हो ।

विज्ञप्तिका अनुसार गत मंसीर २० गते इटहरी उपमहानगरपालिका वडा नं १२ र १३ को ढोकापुल नजिक नेकपा एमाले एवम् युवा संघका कार्यकर्ता माथि आक्रमण गरिएको थियो ।

सो घटनामा संलग्न भएको भन्दै विकास केसी, देवान राई, विनोद भन्ने इश्वर तामाङ, आसाराम चौधरी,चन्द्रेश्वर सरदार, सूर्य सरदार लगायत विरुद्ध किटानी जाहेरी दिए पनि प्रहरी प्रशासनले बेवास्ता गर्दै बचाउन लागेको  यूवा संघले विज्ञप्तीमा भनेको छ ।

हालसम्म दोषी उपर प्रहरी प्रशासनले कुनै कार्वाही प्रकृया अगाडी नबढाएकोमा यूवा संघले आपत्ती जनाएको छ ।

दोषीलाई कार्वाही गर्नुको साटो सत्ताको आडमा जिप्रका प्रमुख एस पी विद्यानन्द माझी र इप्रका इटहरीका डीएस्पी सञ्जयबहादुर राउतले बार्गेनिङको लागि घटनाका पीडित यूवा संघका सदस्य रुपेश बजगाँइ र रुपेश बस्नेत माथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको यूवा संघले आरोप लगाएको छ ।

सो घटनाका घाइते अहिले पनि अस्पतालमा उपचाररत रहेको बताउदै संघले विज्ञप्तीमा भनेको छ, ‘सत्ताको आडमा काग्रेसीहरुले दादागिरी देखाइरहने हो भने यूवा संघ नेपाल हातमा दही जमाएर बस्ने छैन ।’ यूवा संघले आफ्नो धैर्यतालाई कमजोरी नठान्न आग्रह गर्दै दोषीलाई कार्वाही नगरे मैदानमा उत्रन बाध्य हुने विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।

संघका केन्द्रिय सचिव पर्शुराम बस्नेतले विज्ञप्ती निकालेर एमाले नेता कार्यकर्ता माथि लगाएको झुटो मुद्दा फिर्ता लिएर दोषीलाई कार्वाही नगरे भोलीका दिनमा हुने घटनाको जिम्मेवार प्रशासन हुने चेतावनी दिएका छन् ।