पाठेघर खसेका महिलाको उपचारमा ‘साइक्लिङ’ सहयोग

आर्थिक समाचार पत्रपत्रिका

काठमाडौँ / हल्यान्डबाट आएका दुई साइकलयात्रीले काठमाडौंबाट पोखरासम्मको साइकल यात्रा गर्दै नेपालमा पाठेघर खसेका महिलाहरूको उपचार तथा परामर्श सहयोगका लागि आर्थिक सहयोग उठाउने भएका छन् ।

काठमाडौंदेखिको साइकल यात्रालाई हल्यान्डमा प्रत्यक्ष प्रसारण गर्दै शुभेच्छुकबाट आर्थिक सहयोग उठाइने र विभिन्न स्थानमा रहेका पीडित महिलाको घरदैलोमा पुगेर सहयोग तथा परामर्श गरिने भएको छ ।

महिलाका लागि महिला फाउन्डेसनका राष्ट्रिय संयोजक विश्वनाथ पौडेलका अनुसार नेपालका भित्री गाउँबस्तीमा महिलामा पाठेघर झर्ने समस्या चर्को रहेको र यसका लागि परामर्श, अभ्यासको तौरतरिक अथवा अप्रेसनसम्मको सहयोग आवश्यक रहेकाले आवश्यकताअनुरूप सहयोग गरिने भएको छ ।
एक दशकयता सुरु भएको महिलाका लागि महिला अभियानमा अहिलेसम्म १० हजार नेपाली आमाहरूको पाठेघरसम्बन्धी समस्यामा साथ–सहयोग दिंदै आएको पौडेलले बताए ।
हल्यान्डबाट आएकी सिमोन्टे र विश्व साइकलयात्री मार्कले काठमाडौं–पोखरा साइकल यात्राको अभियान अघि बढाउने भएका छन् । उनीहरू यो सोमबार यात्रामा निस्कने र पोखरा हँुदै पर्वतसम्म पुगेर महिलाका निम्ति स्वास्थ्य क्याम्प राख्ने भएका छन् । कान्तिपुर