शान्तिनगर स्वास्थ्य चौकीमा सुरु भयो सुरक्षित प्रसुती गृह

शान्तिनगर / झापाको शान्तिनगर स्वास्थ्य चौकीले सुरक्षित प्रसुती गृह (बर्थिङ सेन्टर) संचालनमा ल्याएको छ । बुद्धशान्ति गाँउपालिका ५ को उक्त स्वास्थ्य चौकीमा गाँउपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले आइतबार गृहको उद्घाटन गरेपछि सुरक्षित प्रसुती सेवा सुरु भएको हो ।

बर्थिङ सेन्टर संचालनमा आएपछि शान्तिनगर र रोङ्ग गाउँपालिका–५ का गर्भवती महिलाहरु लाभान्वित हुने बताइएको छ ।

उद्घाटन गर्दै गाँउपालिका अध्यक्ष भुजेलले बर्थिङ सेन्टरमा आएर पहिलो बच्चा जन्माउने आमालाई प्रोत्साहन स्वरुप गाउँपालिकाले नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरे । त्यस्तै, दोस्रो र तेस्रो पटक बर्थिङ सेन्टरबाटै बच्चा जन्माउने आमालाई सिएमए संघ झापाका निवर्तमान अध्यक्ष दानबहादुर क्षेष्ठले नगद ५ र ५ हजार रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

साथै गाउँपालिका अध्यक्ष भुजेलले वडा नम्बर–६ मा रहेको सामुदायिक स्वास्थ्य इकाइको पनि उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै, बुद्धशान्ति गाउँपालिका स्वास्थ शाखा उपप्रमुख दीपक सापकोटाले गाउँमै प्रसुति सेवा उपलब्ध भएपछि यहाँका गर्भवती महिलाले बच्चा जन्माउन टाढा र ठुला अस्पताल धाउनु नपर्ने बताए । उनले भने, ‘सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माए ५ सय रुपैयाँ दिने गरेको छ, तर शान्तिनगर स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा नर्मल बच्चा जन्माउने महिलालाई सरकारले दिने ५ सय सहित गाउँपालिकाले १५ सय थपेर २ हजार उपलब्ध गराउने छ ।’

नेपाल सरकार स्वास्थ्य सेवा बिभाग ब्यवस्थापन महाशाखाबाट एक करोड ६६ लाख बजेट छुट्टिएपछि ‘साहारा सृष्टि कम्पनी’ले ७ कट्ठा क्षेत्रफलमा भवन निर्माण गरी गत जेठमा हस्तान्तरण गरेको थियो ।

हाल ६६ लाखको लागतमा अनमी क्वाटरको निर्माण अन्तिम चरणमा पुगेको स्वास्थ्य चौकीका प्रमुख मेनुका दाहालले बताईन् । स्वास्थ्य चौकीमा १२ स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

शान्तिनगर स्वास्थ्य चौकीका अध्यक्ष तथा वडा नम्बर–५ का वडाध्यक्ष बासुदेब खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष मीरा भुर्तेल, वडा नम्बर ६ का वडाध्यक्ष शम्भुप्रसाद पौडेल, ४ का वडाध्यक्ष बुद्धिमान जबेगु , सदस्य डेगेन्द्र कार्की, देविका दर्नाल, डील्लीराम खतिवडा, जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइराला लगायतको उपस्थिति थियो ।

स्थानीय पुण्यप्रसाद भट्टराईले करिब १६ लाख बराबरको ४ कट्ठा जग्गा उपलब्ध गराएपछि भवन बनाउने तयारी गरिएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाई हाल भाडामा सञ्चालित छ ।