कसरी नियन्त्रण गर्ने ‘व्लडप्रेसर’ ?

अन्तर्वार्ता जीवनशैली विचार शिक्षा समाचार स्वास्थ्य

गोपिन पोखरेल-

विर्तामोड / मानिसले आफ्नो स्वास्थ्यलाई ‘फिट’ राख्न रक्तचाप (व्लडप्रेसर) नियन्त्रणमा राख्न जरुरी छ । मानिस स्वयंमले जीवनशैलीमा ल्याउने सुधार, खानपानमा विशेष ध्यान दिने र समय समयमा स्वास्थ्य परिक्षण गर्ने हो भने रक्तचाप (व्लडप्रेसर) लाई नियन्त्रणमा राख्न सकिन्छ । व्लडप्रेसर नियन्त्रण भए निरोगी र स्वस्थ रहन मद्यत पुग्छ ।

मानिसको स्वास्थ्यमा मुख्य भूमिका खेल्ने रक्तचाप (व्लडप्रेसर) र यसले मानव स्वास्थ्यमा पुर्याउने नोक्सानी, लक्षण तथा उच्चरक्तचाप नियन्त्रणका उपाय बारेमा विर्तासिटी हस्पिटलका फिजिसियन डा.सरद भट्टराईसँग गरिएको छोटो कुराकानी ।

१ एउटा स्वस्थ मान्छेको रक्तचाप (व्लडप्रेसर) कति हुनुपर्छ ?

सामान्य मान्छेको व्लडप्रेसर १२०/८० (एकसय बीसका मुनी असी) लाई बेष्ट मानिन्छ । सामान्य मान्छेको व्लडप्रेसर १२०/८० भन्दा मुनी हुनुपर्छ । त्यो भन्दा माथि भए उच्च रक्तचाप हो । तर उच्चरक्तचाप हुदैमा सबैले औषधी खाईहाल्नु पर्छ भन्ने हुदैन । जीवनशैलीमा ल्याउने सुधार, खानपीनमा ल्याउने सुधार बेला बेलामा चेकजाँच गरेर प्रेसरले असर गर्ने ‘टार्गेट अर्गन’ हरु ‘ड्यामेज’ हुने लक्षण छ कि या ‘ड्यामेज’ हुदैछ कि त्यस्को जाँचबुझ गरेर हेर्न सकिन्छ । यदी त्यो भन्दा माथि छ भने व्लडप्रेसरलाई कम गर्न जीवनशैलीमा सुधार र खानपीनले पुगेन भने औषधी दिएर औषधीको दुस्प्रभाव छ कि ‘मनिटरिङ’ गरिरहनु पर्छ ।

२ उमेर अनुसार व्लडप्रेसरको स्केल कति हुनुपर्छ ?

सामान्यतया व्लडप्रेसर १२०/८० भन्दा तल हुनुपर्यो । ६५ वर्षभन्दा मुनीको मानिसको व्लडप्रेसर १३०/८० भन्दा तल हुनुपर्यो । ६५ वर्षभन्दा माथिका मान्छेको १५०/९० भन्दा तल हुनुपर्यो । ६५ वर्षभन्दा माथिको मान्छे भइकन पनि व्लडप्रेसर १५०/९० भन्दा तल १३०/८० भन्दा माथि छ तर, मधुमेह, मृगौला रोग ,मुटुरोग, रक्तनलीको रोग अथवा पहिला पक्षघात भएको छ भने व्यक्तिको व्लडप्रेसर १३०/८० राख्नका लागि हामीले प्रयासरत रहनुपर्छ ।

३ व्लडप्रेसर ‘लो’ भयो भने तत्काल देखिने लक्षण चाँही के हो ?

कहिले काँही यस्तो पनि हुन सक्छ । व्लडप्रेसरका विभिन्न औषधीको पनि धेरै खाले ‘साइड इफेक्ट’ हुनसक्छ । औषधी खाइकन पनि व्लडप्रेसर नियन्त्रणमा छ कि छैन । चाहिने भन्दा बढी या कम भएको छ की त्यो पनि बिचार गर्नुपर्ने हुन्छ । व्लडप्रेसर धेरै ‘लो’ हुँदा चक्कर लाग्ने, रिङ्गटा लाग्ने, बसेको ठाँउबाट उठ्दा भनन हुने, थकाई लाग्ने, गल्ने बेहोस हुने आदी हुन्छ । कहिले काँही धेरै ‘लो’ छ भने मस्तिष्क, मुटु, मृगौलालाई असर गराउन पनि सक्छ ।

४ व्लडप्रेसर ‘लो’ भए गर्नुपर्ने उपाय ?

तत्काल गर्नुपर्ने उपाय भनेको पहिले व्लडप्रेसर ‘लो’ भएको एकिन गर्नु पर्यो । ‘लो’ भएको मान्छेको बसेर, उठेर र सुतेर तीन तरिकाले रक्तचापको मापन गर्नुपर्छ । अनि के कारणले ‘लो’ भयो त ? प्रेसरको दवाई खाईरहेको छ कि ? डोज बढी भयो कि ? या त ‘डाइरिया, ‘बमिटीङ’ भएर शरिरमा पानीको मात्रा कम भएर ‘लो’ भयो कि ? या अरु ‘इन्फेक्सन’ कलेजोको रोग, हार्मोनका रोग, मुटुको रोग, फोक्सोको रोगका कारणले होकी रोगको पहिचान गरेर त्यसै अनुसार उपचार गर्नुपर्छ ।

५ लामो समयसम्म ‘व्लडप्रेसर हाई’ रहँदा मान्छेको कुन कुन अंगमा समस्या ल्याउँछ ?

रक्तबहाव शरिरका सबै अंगमा हुन्छ । तर, पनि उच्चरक्तचाप लामो समयसम्म रही रहँदा मुटु, मृगौला, आँखा, स्नायु तथा मस्तिष्क जस्ता अंगमा समस्या ल्याउछ । यी अंग सुरक्षित छ कि छैन हेर्नु पर्यो । यी ‘तार्गेट’ अंगहरुमा ‘डयामेज’ को लक्षण छ कि छैन हेरेर जोखिमबाट बचाउनु पर्छ ।

६ यी सबै कुरालाई नियन्त्रण गर्न मान्छेले के कुरामा ध्यान दिन जरुरी छ ?

मनिसले आफ्नो खानपीनमा र जीवनशैलीमा सुधार ल्याउनु पर्छ । चेकजाँचमा पनि ध्यान दिनुपर्छ । आवश्यक परे औषधी पनि प्रयोग गर्नुपर्छ ।

७ जीवन शैलीमा कसरी सुधार ल्याउने त?

जीवन शैलीमा सुधार ल्याउने भनेको ‘रिस्क फ्याक्टर’ बढाउने कुराहरु जस्तै सुर्ती सेवन, मदिरा सेवनलाई बन्द गर्नुपर्छ । मोटोपन घटाउनुपर्छ । ‘फिजीकल एक्टीभिटी’ न्यून छ भने बढाउनु पर्यो । ‘रिफाइन’, ताजा खानेकुरा खानुपर्यो । मृगौला, मुटु, सुगर, कोलस्ट्रोल जस्ता रोगहरु छ भने त्यसलाई नियन्त्रणको प्रयास गर्नुपर्छ ।

औषधी आवश्यक छ भने व्लडप्रेसर कतिसम्म बढेको हो पहिचान गरेर जोखिम कम हुने गरी ‘इन्डीभिजुअल ट्रीटमेन्ट’ गरेर उचित औषधी दिएको खण्डमा सुधार ल्याउन सकिन्छ ।

(फिजिसियन डा.सरद भट्टराई विर्तासिटी हस्पिटलमा कार्यरत छन् ।)

मंगलबार ३:४१ बजे प्रकाशित