माइभ्याली गोल्डकपको चौथो संस्करण बैशाख ६ गतेबाट हुने

खेलकुद प्रदेश समाचार

नमीन ढकाल-

इलाम / पुर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको  माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको चौथो संस्करण बैशाख ६ गतेबाट हुने भएको छ ।

आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघ इलामले चैत्र १४ गतेबाट प्रतियोगिता आयोजनाको तयारी  गरेका थिए । तर चैत्र १४ गतेबाटै अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन कार्यक्रम तय भएकाले २०७५ बैशाख ६ गतेबाट १५ गतेसम्म संचालन गर्नका  निम्ती एन्फाले माघ १५ गते पत्र पठाएपछि प्रतियोगिता सार्नु परेको माइभ्याली फुटबल क्लबका अध्यक्ष धिरेन चेम्जोङले बताए ।

उनले भने ‘चैत्र १४ गतेबाट प्रतियोगिताको सबै कार्यक्रम तयार गरी माघ १२ गते एन्फामा बुझाएका थियौं । तर, एन्फाको निर्वाचन कार्यक्रममा खेलाडी, क्लब, अफिसियल लगायत सबै सहभागी हुने भएकाले बाध्य भएर खेलको मिती सार्नु परेको हो’ ।

यस अघि पहिलो र दोश्रो संस्करण माघमा सञ्चालन भएकोमा तेश्रो संस्करण खेलमैदान स्तरोन्नती र मौसमका कारण चैत्र १७ गतेबाट सञ्चालनमा आएको थियो ।

चौथो संस्करणको लागी पुरस्कार राशी बढाउदै बिजेतालाई ५ लाख र उपबिजेतालाई ३ लाख रूपैया  दिने लक्ष्य राखिएको चेम्जोङले बताए । तेश्रो संस्करणमा बिजेताले नगद ४ लाख र उपबिजेताले नगद २ लाख ५० हजार प्राप्त गरेका थिए । गोल्डकपको पाँचौ संस्करण भने २०७५ चैत्रमा नै संचालन गर्ने आयोजक समितिले बताएको छ ।