बजेट अभावले १६ सय पुल निर्माणमा ढिलाइ

आर्थिक समाचार पत्रपत्रिका राष्ट्रिय विजनेस समाचार

काठमाडौँ / बजेट अभावले मुलुकभर निर्माण भइरहेका १ हजार ६ सयवटा पुलको काम प्रभावित भएको छ । स्थानीय सडक, राजमार्ग, व्यापारिक मार्ग र करिडोरमा निर्माण भइरहेका साना तथा ठूला पुलको निर्माण कार्यमा ढिलाइ भएको सडक विभागले जनाएको छ ।

सामन्यत: पुल निर्माणको काम ४/५ वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । निर्माण यही गतिमा अघि बढे सम्पूर्ण पुलको काम सम्पन्न हुन २० वर्ष लाग्नेछ । राजमार्गभन्दा स्थानीय सडकमा निर्माण भइरहेका पुलका लागि बजेटको निकै अभाव भएको सडक विभाग पुल महाशाखाका प्रमुख अर्जुन थापाले जानकारी दिए । ‘राजमार्गमा निर्माण भइरहेका पुलका लागि अर्थ मन्त्रालयले समयमै बजेट विनियोजन गरेको छ तर स्थानीय सडकमा निर्माण भइरहेका पुल निर्माणका लागि पर्याप्त बजेट छैन,’ उनले भने, ‘यही अवस्थामा निर्माण हुने हो भने पुल निर्माण गर्न कठिन छ ।’ विभागका अनुसार स्थानीय सडकमा निर्माणका भइरहेका साना तथा ठूला पुलका लागि ३ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सबै पुल समयमै निर्माण सम्पन्न गर्न ६० अर्ब रुपैयाँभन्दा बढी लाग्ने विभागले अनुमान गरेको छ ।
विभागका अनुसार हाल स्थानीयस्तरमा करिब ९ सय १५ वटाभन्दा बढी पुल निर्माण भइरहेका छन् ।
त्यसैगरी मध्यपहाडी, हुलाकी, उत्तर–दक्षिण करिडोर, स्याफ्रुबेंसी–मैलुङ, व्यापारिक लोकमार्गलगायतका राजमार्गमा २ सय ७५ भन्दा बढी पुलहरू निर्माण भइरहेका छन् । २० देखि ५ सय मिटर लम्बाइ रहेका यी पुलको निर्माणका लागि बजेटको अभाव हुँदा समयमै सम्पन्न गर्न कठिन रहेको थापाले बताए । हाल सरकारले मध्यपहाडी, धरान–चतरा, स्याफ्रुबेंसी–मैलुङ, हुलाकी र व्यपारिक राजमार्गका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको छ । उक्त सडकमा पर्ने पुल निर्माणका लागि बजेटको खास अभाव नरहेको
उनले बताए ।
स्थानीय सडकमा निर्माण भइरहेका साना तथा ठूला पुलका लागि पर्याप्त बजेट नभएको उनले बताए । ‘ठेकेदारले रातो किताब हेर्छन्, थोरै बजेट देखेपछिठेकेदारले पनि सञ्चालन खर्च लग्छन् अनि काममा ढिलाइ गर्छन्,’ उनले भने, ‘यो वास्तवमै ठूलो समस्या हो, टेन्डर आह्वान भएर काम सुरु हुने, सम्पन्न हुन वर्षौं लाग्ने ? यसको निराकरण हुनैपर्छ ।’ १ मिटर पुल निर्माणका लागि १० लाख रुपैयाँ लाग्ने भन्दै उनले सम्पूर्ण पुल निर्माणका लागि ६ करोड रुपैयाँ लाग्ने बताए । तर, मुलुकभर निर्माण भइरहेका ४ देखि ६ लेन सडकमा हुने पुलका लागि बजेट ठूलो आवश्यकता रहेको उनले बताए । ‘अधिकांश राजमार्ग विस्तार भइहरेका छन्, त्यसकारण पनि बजेट बढी चाहिन्छ,’ उनले भने, ‘किनभने सडक विस्तार भइसकेपछि पुल निर्माण पनि सयममै सम्पन्न गर्नुपर्ने हुन्छ ।’ विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले स्थानीय सडकमा पर्ने पुल निर्माणका लागि बजेटको निकै अभाव भएको बताए ।
‘धरान–चतराजस्ता सडकमा निर्माण हुने पुल हामीले डिजाइनमा मात्र हेर्ने हो, तिनीहरूका लागि बजेटको खास अभाव छैन,’ उनले भने, ‘स्थानीय पुल निर्माणका लागि बजेट अभाव छ ।’          कान्तिपुर