डिभिजन–टु क्रिकेट : दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित

खेलकुद देशबाहिर राष्ट्रिय

काठमांडौ / नामिबियामा जारी वल्र्ड क्रिकेट लिग डिभिजन–टु अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ । समान एक खेलमा जित निकाले पनि नेपाल रन रेटका आधारमा ओमान भन्दा एक स्थानमाथि तेस्रोमा छ । नेपालले दिएको १ सय ३९ रनको लक्ष्य ओमानले ३५ ओभर एक बलमा ४ विकेट गुमाएर भेट्टाएको हो । ओमानको जितमा अकिब ल्यासले ४६ रन बनाउँदा वैभव वाटेगाओन्कर ३७ रनमा नटआउट रहे ।

सोमपाल कामीले तेस्रो ओभरमा नै पहिलो विकेट लिएपनि मध्यक्रमका ब्याट्सम्यानलाई क्रिजबाट हटाउन नसक्दा नेपाल हार ब्यहोर्न बाध्य भयो । सन्दीप लामिछानेले २ तथा सोमपाल र बसन्त रेग्मीले समान एक एक विकेट लिए । यसअघि ब्याटिङमा पुरानै समस्या दोहोरिएपछि नेपाल ४६ ओभरमा १ सय ३८ रनमा समेटिएको थियो । ओमानले टस जितेर फिल्डिङ रोजेपछि व्याटिङ गरेको नेपालका लागि शरद भेषावकरले सर्वाधिक २२ रन बनाए ।

दिपेन्द्रसिंह ऐरी २०, दिलिप नाथ १९, पारस खड्का र सोमपाल कामी समान १७ र रोहितकुमार पौडेलले १४ रन बनाए । ज्ञानेन्द्र मल्ल, आरिफ शेख, बसन्त रेग्मी, करण केसी र सन्दिप लामिछानेले दोहोरो अंक छुन सकेनन् । नेपालले आफ्नो इनिङ्समा १४ वटा चौका प्रहार गर्दा छक्का भने हिर्काउन सकेन । नेपाललाई सस्तैमा समेट्न कालीमुल्लाहले ४ तथा बिलाल खानले २ विकेट लिए । नेपालले  तेस्रो खेलमा  आइतवार यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।