बिर्तामोडको बजेट साढे ७३ करोड

विवेचना दैनिक-

विर्तामोड / झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष ०७४/०७५ को लागि ७३ करोड ४६ लाख ३० हजार चार सय ६१ रुपैयाँ बरावरको बजेट सार्वजनिक गरेको छ ।

नगर पालिकाले शुक्रबार चारपानेस्थित सांगवेद संस्कृत विद्यालयको प्राङ्गणमा चालु आर्थिक वर्षको नगर विकास योजनासहितको बजेट सार्वजनिक गरेको हो ।

विषादीमुक्त, पूर्णखोपयुक्त, पूर्णसाक्षरतायुक्त, खुला दिसामुक्त, प्लास्टिक झोलामुक्त, अपांगमैत्री नगर , बालमैत्री शासन, लैगिंकमैत्री, टुकीमुक्त बिर्तामोड नगर बनाउने योजना तथा नीति अघि सारिएको छ ।

नगरपालिकाले आम्दानीतर्फ आन्तिरिक आय छ करोड ५७ लाख चार हजार तीन सय ८४ रुपैयाँ ७० पैसा, राजस्व बाडफाँडबाट दुई करोड, गत वर्षको मौज्दात पाँच करोड ५२ लाख ५२ हजार सातसय १५ रुपैयाँ ३० पैसा, नेपाल सरकार बाट २८ करोड ९६ लाख ८७ हजार ,सडकबोर्डवाट ३५ लाख, नेपाल सरकार सर्शत अनुदानबाट ११ करोड ५४ लाख ५४ हजार, स्थानीय शासन सामुदायिक कार्यक्रमबाट १३ लाख १७ हजार , योजना लागत सहभागिताबाट चार करोड ५५ लाख ८० हजार एक सय र शिक्षा तथा स्वास्थ्य अपुग रकम माग चार करोड ९५ लाख ३१ हजार दुई सय ६१ रुपैयाँ गरी ७३ करोड ४६ लाख ३० हजार चार सय ६१ रुपैयाँ आम्दानी गर्ने नगर प्रमुख ध्रुवकुमार शिवाकोटीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

त्यसै गरी, खर्चतर्फ प्रशासनिक ६ करोड ७ लाख ५० हजार , पूर्वाधार निर्माणतर्फ २७ करोड ८८ लाख ५० हजार , मेशनरी औजार खरिद चार करोड, गत वर्षको भुक्तानी दायित्व दुई करोड, कार्यक्रम खर्चमा १ करोड ९० लाख ५० हजार, शिक्षातर्फ १३ करोड ७३ लाख ७५ हजार दुई सय ६१, स्वास्थ्यतर्फ ४ करोड ६२ लाख ७५ हजार, पशुमा एक करोड ७५ लाख ४४ हजार दुई सय, कृषिमा एक करोड ५६ लाख ८५ हजार, स्थानीय शासन सामुदायिक विकास कार्यक्रममा १३ लाख १७ हजार, सामाजिक सुरक्षा भत्तामा आठ करोड ८६ लाख चार हजार र कार्यक्रम सञ्चालनतर्फ ८१ लाख ८० हजार बजेट विनियोजन गरिएको छ ।

नगर प्रमुख शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि झापा क्षेत्र नम्बर २ का सांसद पवित्रा निरौला खरेल रहेकी थिइन् । नगर उपप्रमुख पवित्रा महताराले स्वागत गरेको कार्यक्रममा विशेष अतिथि जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, पण्डित किशोर गौतम, नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष ज्ञानुराम प्रसाईं, नेपाली कांग्रेस नगर सभापति भोजराज सिटौला, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वडा नम्बर २ मा रहेको धार्मिकस्थल विवेकाश्रममा एक करोड ५० लाखको लागतमा भवन तथा मन्दिर निर्माणकर्ता बासुदेव र निलु केसीलाई नगरपालिकाले अभिनन्दन समेत गरेको नगर पालिकाका प्रवक्ता वडा नम्बर १ का अध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

कार्यक्रमको सञ्चालन नगर पालिकाका नायव सुब्बा मेघराज बास्तोलाले गरेका थिए ।