तारकेश्वर महादेव बाबा बैजनाथधामको महासचिवमा गौतम

मेचीनगर / झापाको मेचीनगरमा अवस्थित तारकेश्वर महादेव बाबा बैजनाथधाम ओमकार नरनारायण आध्यात्मिक प्रतिष्ठानले विशेष भेला मार्फत नयाँ समिति चयन गरेको छ ।

मेचीनगर नगरपालिका १० नमुना टोलस्थित संस्थाकै भवनमा शनिबार आयोजित भेलामा दण्डवत यात्रालाई सक्रियतापूर्वक अघि बढाउने उद्देश्यले नयाँ समिति निर्माण गरिएको प्रतिष्ठानका संस्थापक अध्यक्ष अग्नीप्रसाद कडरियाले जानकारी दिए ।

गठित समितिको वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव,सचिव र कोषाध्यक्षमा क्रमशः ओम खरेल,लेखनाथ निरौला, प्रकाश गौतम,सुरेश निरौला र कृष्ण चुडाल चयन भएका छन् ।

प्रतिष्ठानको सदस्यहरुमा भिमलाल बराइली, ठाकुरप्रसाद गौतम, सन्तलाल खाती, सृजना उप्रेती, भिम पोखरेल र श्रीप्रसाद खनाल रहेका छन् । प्रतिष्ठानको भेलाले संस्थाका संस्थापक अध्यक्ष  कडरियालाई अध्यक्षमा दोहोर्याएको छ । कडरिया शिवभक्त अग्नी बाबाका नामले परिचित छन् ।

भेलाले चाडै नै कन्काई माईमा लाग्ने कुम्भ मेलाको अवसर पारेर अग्नी बाबाको दण्डवत यात्रालाई अगाडि बढाउने निर्णय पनि गरेको छ ।
शिवभक्त कडरियाले यसअघि कठोर भन्दा कठोर सुतेर साष्टाङ्ग दण्डवत यात्रा तय गरेर कृतिमान राखिसकेका छन् ।

उनले धरानको बराहक्षेत्रबाट पवित्र श्रावणीजल उठाएर दण्डवत गर्दै १ सय ५१ किलोमिटर दुरी पार गरी दुवागढी स्थित रामनगरमा तारकेश्वर महादेवलाई जल चढाएका थिए ।

त्यस्तै सुतेरै फुङलिङ देखि ताप्लेजुङको पाथिभरासम्म र काठमाण्डौको चक्रपथमा पनि दण्डवत यात्रा गरेका थिए । कडरियाले झापाको शनिश्चरे स्थित दुर्गा मन्दिरबाट अर्जुनधारा जलेश्वर धामसम्म पनि दण्डवत यात्रा गरेको नवगठित समितिका महासचिव प्रकाश गौतमले जानकारी दिए ।