एकता र सद्भावका लागि शान्तिपुर-झापा एकता मञ्च गठन

प्रदेश समाचार समाज

विर्तामोड / सामाजिक एकता तथा सद्भावलाई बलियो बनाउदै जन्मभूमी प्रति उत्तरदायी हुने उद्धेश्यले शान्तिपुर–झापा एकता मञ्चको गठन भएको छ ।

इलामको शान्तिपुरमा जन्मेर झापाका विभिन्न स्थानमा रहेका शान्तिपुरबासीलाई एकिकृत गर्दै जन्मभुमी प्रति केहि गरौं भन्ने उद्धेश्यले झापाको बिर्तामोडमा सोमबार एकता मञ्च गठन गरिएको हो ।

मञ्चको गठनपछि सामुहिक तस्विर खिचाउदै शान्तिपुरवासी

एक महिना भित्र शान्तिपुर र झापामा के कस्ता काम गर्न सकिन्छ भन्ने निक्र्योल निकाल्दै अघि बढ्न तदर्थ समिति निमार्ण गरिएको छ ।
ज्ञानेन्द्र अधिकारीको संयोजकत्वमा गठित समितिको सदस्यमा नरेन्द्र ढकाल, शम्भु दाहाल, प्रविन खड्का, विजय साउदेन, शेखर कार्की, मिलन चाम्लिङ्ग, खगेन्द्र तिम्सिना र प्रेमदिवास राई रहेका छन ।

समितिले विधान तयार गरेर चैत्र ५ गते सोमबार बस्ने अर्को बैठकबाट पारित भएपछि मात्रै दर्ता प्रक्रियामा लैजाने निर्णय समेत गरेको छ ।
भेलामा शैक्षिक क्षेत्र, स्वास्थ्य, व्यापार–व्यवसाय,सञ्चार लगायत विभिन्न कर्ममा आवद्ध रहेका ५० जनाभन्दा बढी शान्तिपुरबासीको सहभागिता थियो ।

हाल रोङ गाँउपालिका–१ र २ नम्बर वडा परेपनि साविक शान्तिपुरलाई नै स्थापित गर्दै शान्तिपुरको पहिचान झल्काउने उद्धेश्यले शान्तिपुर-झापा एकता मञ्च निर्माण गरिएको बताइएको छ ।

उक्त भेलाले झापाका विभिन्न स्थानमा रहेका शान्तिपुरबासीहरुलाई सम्पर्क गर्न पनि आह्वान गरेको छ । समिति गठन र संस्थाको विषयमा संयोजक ज्ञानेन्द्र अधिकारीले प्रष्ट पारेको कार्यक्रमको सञ्चालन नरेन्द्र ढकालले गरेका थिए ।