मोफसलकै सर्वाधिक राशीको ‘तेस्रो झापा गोल्डकप’ फागुन १९ देखि

विर्तामोड / मोफसलको सर्वाधिक पुरस्कार राशी भएको झापा गोल्डकपको तेस्रो संस्करण फागुन १९ गतेदेखि शुरु हुने भएको छ ।

प्रतियोगिता मुल आयोजक समितिले मंगलबार विर्तामोडमा पत्रकार सम्मेलन गरी फागुन १९ गतेदेखि २८ गतेसम्म ‘तेस्रो झापा गोल्डकप २०७४’ अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको हो ।

रमपम झापा फुटबल क्लवको आयोजनामा हुने प्रतियोगितामा स्वदेशी तथा बिदेशी प्रतिष्ठित १० टीमको सहभागिता रहने छ । प्रतियोगिता विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुुनेछ ।

प्रतियोगिताको विजेता टिमले यो संस्करणमा १२ लाख ५१ हजार पुरस्कार पाउने छ भने उपविजेता टिमले ६ लाख रुपैया पाउने आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिए ।

रमपम झापा ११ ले प्रतियोगिता सञ्चालनको तेस्रो संस्करणमा आइपुग्दा फुटबलको लोकप्रियतालाई ध्यान दिंदै पुरस्कार राशी बृद्धि गरेको अध्यक्ष गिरीले जानकारी दिए ।

झापालाई सर्वाधिक फुटबल गतिविधि हुने जिल्लाको रुपमा विकसित गर्दै फुटबल पर्यटनको रुपमा विकास गर्ने लक्ष्य रहेको अध्यक्ष गिरी बताए । प्रतियोगितालाई सभ्य ढंगले सम्पन्न गर्न आयोजक समितिले सबैको सहयोगको अपेक्षा गरेको छ ।

प्रतियोगिता सञ्चालन गर्न १ करोड रुपैया खर्च हुने अनुमान गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता सञ्चालनको मुख्य आयश्रोत उद्यमी व्यवसायी, फुटबलप्रेमी महानुभावबाट प्राप्त हुने आर्थिक सहयोग र दर्शकबाट प्राप्त हुने गेट टिकटको रकम रहेको छ ।

गतवर्ष माघ १५ गतेदेखि सञ्चालन भएको दोस्रो संस्करणमा देखिएको दर्शक सहभागिताले उत्साहित भएर तेस्रो संस्करणमा पुरस्कार राशी बृद्धि गरिएको आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए ।

प्रतियोगिताका लागि ५ जना खेलाडी अनुबन्ध गर्ने तयारी रहेको अध्यक्ष गिरीले जानकारी दिए । ‘२ जनाको अनुबन्ध भईसकेको छ’ उनले भने ‘थप ३ जनालाई अनुबन्धको तयारी भइरहेको छ ।’

झापाका स्थानीय तहले सहयोग गरे खेलाडी अनुबन्ध गर्न कुनै समस्या नरहेको गिरीले बताए ।


कुन कुन टिम सहभागी हुँदैछन ?


नकआउटको आधारमा सञ्चालन हुने यो प्रतियोगितामा मुलुक भित्रका ९ र १ भारतीय टिम गरी १० वटा टिमको सहभागिता रहनेछ । १० टिम सहभागी रहने भनिए पनि सहारा फुटबल क्लव पोखरा र सिक्किम युनाइटेड क्लव मध्ये कुन टिम सहभागी हुने निश्चित भईनसकेको झापा ११ का अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए ।

१. रमपम झापा -११

२. थ्रीस्टार

३. मनाङ मस्र्याङदी क्लव

४. नेपाल आर्मी

५. सशस्त्र प्रहरीको एपीएफ

६. नेपाल पुलिस क्लव

७. हिमालयन शेर्पा

८. आर वेष्ट (सुदुर पश्चिम)

९. सहारा फुटबल क्लव पोखरा

१०. सिक्किम युलाईटेड

११. रुपन्देही ११


के के छ पुरस्कार ?


विजेता टिमले १२ लाख ५१ हजार र उपविजेता टिमले ६ लाख रुपैया पाउने छन् ।

२ वटा मोटरसाइकल पुरस्कार स्वरुप प्रदान गरिने आयोजक समितिका सदस्य बलराम कार्कीले जानकारी दिए । प्रतियोगिता भरिकै राम्रो खेल्ने खेलाडीले ‘वेष्टअप द प्लेयर’को रुपमा एउटा मोटरसाइकल पुरस्कार पाउने छन ।

त्यस्तै आयोजक क्लवको तर्फबाट राम्रो खेल्ने खेलाडीलाई एउटा मोटरसाइकल प्रदान गरिने कार्कीले बताए ।

प्रत्येक खेलको उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।