बनियानी गाविस खुल्ला दिसामुक्त क्षेत्र घोषणा

शिक्षा समाचार समाज स्थानीय स्वास्थ्य

बनियानी / झापाको साविक बनियानी गाविस १४ औं गाविसको रुपमा खुला दिसामुक्त क्षेत्र घोषणा भएको छ ।

सोमबार एक समारोहका बिच झापा क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले ‘खुला दिसामुक्त क्षेत्र’ लेखिएको व्यानर पढेर साविक बनियानी गाविस खुला दिसामुक्त घोषणा गरेका हुन ।

बनियानी कचनकवल गाउँपालिका वडा नं ६ मा पर्छ । साविक बनियानीमा १ हजार ५ सय ४५ घरधुरी छन ।

वडा अध्यक्ष तथा वडास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक कुलबहादुर कार्कीको अध्यक्षतामा आयोजित सभामा प्रमुख अतिथि लिङदेनले अध्यक्ष कार्कीलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रतिनिधिसभा सदस्य लिङदेनले झापाको क्षेत्र नं ३ जिल्लाकै पहिलो खुला दिसामुक्त क्षेत्र घोषणा गर्नसक्ने गरी खुला दिसामुक्त अभियानलाई तीव्रता दिन सरोकारवाला निकायलाई आग्रह गरेका थिए ।

समाज विकासको आधार सरसफाइ हो त्यसैले यथासिग्र सबैले शौचालय निर्माण गरेर नेपाललाई खुला दिसामुक्त राष्ट्र बनाउन सहयोग पुर्याउन उनले आग्रह गरे ।

कचनकवल गाउँपालिका वडा नं ६ का वडासचिव मीठाराम वस्नेतले स्वागत गरेको समारोहमा वडाले गरेका क्रियाकलापका विषयमा वडा सदस्य कृष्णमाया खड्काले प्रकाश पारेकी थिइन् । कार्यक्रम सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेका थिए ।

समारोहमा विशिष्ट अतिथि झापा जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्लास्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक सोमनाथ पोर्तेल, कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलम, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रतिनिधि रुद्रबहादुर न्यौपाने, कचनकवलमा खुला दिसामुक्त अभियानलाई आर्थिक तथा प्राविधिक सहयोग पुर्याइरहेको ग्लोबल स्यानिटेशन फण्ड युएन ह्वाविटेयाटका झापा जिल्ला संयोजक विनोदप्रसाद शर्मा, साझेदार संस्था विराट सामुदायिक अध्ययन केन्द्रका महासचिव रुद्र सिटौलालगायतले मन्तव्य राखेका थिए ।