धरानमा कार र मोटरसाइकल रहस्यमय रुपमा जले

पत्रपत्रिका प्रदेश समाचार
तस्विर साभार कान्तिपुर

धरान / धरान शान्तिपथ स्थित बुढासुव्बा होटल अगाडी पार्किङ गरी राखिएको झापा मेचीनगरका राजु महर्जनको कार र संखुवासभा चिचिला गाँउपालिकाका असिम राईको मोटरसाइकलमा रहस्यमय रुपमा आगलागी भएको छ ।

 आगलागी भएका सवारीसाधनहरु जलेर पुर्णरुपले क्षतिग्रस्त भएका छन् । राति करिव साढे १ बजे आगलागी भएको थाहा भएको हो ।

भानुचोकस्थित वडाप्रहरी कार्यालयबाट दुइसयमिटर नजिकै धरान–७ स्थित शान्तिपथको बुढासुव्वा होटल बाहिर पार्किङ गरेर राखिएको कार र बाइकमा आगलागी भएको हो ।

वडा प्रहरी कार्यालय भानुचोकका प्रहरी सहायक निरिक्षक जसबहादुर लिम्बूका अनुसार झापा मेचिनगर नगरपालिका बस्ने राजु महर्जनको को १ ज ४००१ नं. को सुजुकी कार, संखुवासभा चिचिला गाउँपालिका बस्ने असिम राईको २२० सिसिको को २३ प ४५६९ नं. को मोटरसाइकल आगजनिबाट क्षतिग्रस्त भएको छ । होटल संचालकको स्कूटी भने आजगनी भएको कार र मोटरसाइकलभन्दा केही पर पार्किङ गरिएकाले जल्नबाट जोगिएको थियो ।
धरानमा संचालन भएरहेको मेयरकप स्कूल ओलम्पिककालागि प्रशिक्षकका रुपमा झापादेखि आएका महर्जनले होटल अगाडि कार पार्किङ गरेर राति त्यही होटलमा सुतेका थिए । काठमाडौंबाट धरानमा मंगलबार साँझमा आइपुगेपछि बुधबारमात्र संखुवासभाको चिचिला जानका लागि मोटरसाइकल होटल अगाडि पार्किङ गरेर असिम राईले राखेका थिए ।
उनीहरुले आफ्नो सवारीसाधन जलेर टायर पड्केपछि मात्र राति करिव साढे १ बजे आगलागी भएको थाहा पाएको बताए । प्रसनी लिम्बूले भने, ‘सवारीसाधनमा आगलागी रहस्यमय भएको छ । रोकेर पार्किङ गरेको गाडीहरु इन्जिनमा सर्ट भएर आगलागी भएको भनौं भने त्यो पनि पत्याउन गाह्रो छ । रिसइविले कसैले आगजनी गर्‍यो भनौ भने दुवै जना धरान बाहिरका हुन् ।’
उनले शिवरात्रीको बेला कसैले भाङ् खाएको सुरमा सल्काएको चुरोट सवारीसाधनमा फ्याकी दिएर आगजनी हुन सक्ने अनुमान गरेको बताए । उनले भने, ‘कार र मोटरसाइकलमा आगजनी भएपछि घरमा पनि आगजनी हुन सक्थ्यो तर आगोको ज्वालालाई टिनको सटर र टिनकै छानोले छेकेकाले थप जनधनको क्षति हुन बाट जोगियो ।’
आगलागी भएको केही समयपछि धरान उपमहानगरपालिकाको दमकल तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगजनी कसरी भयो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रसनी लिम्बुले बताए । कान्तिपुर