‘वाम एकता हस्तीहाडका बिछ्यौनामा सुत्न होइन’ घनश्याम भुषालको अन्तर्वार्ता

अन्नपूर्णपोष्ट-

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण प्रक्रिया अघि बढ्दै गर्दा पद बाँडफाँटका विषयले महत्व पायो, विचार र सिद्धान्तका विषयले कम। यसबीचमा पनि एमालेका उपमहासचिव घनश्याम भुसालले एमालेको ‘जनताको बहुदलीय जनवाद’ र माओवादीको ‘एक्काइसौं शताब्दीको जनवाद’ र माओवादको च्याप्टर क्लोज भएको भन्दै वैचारिक बहस अघि बढाए। गत फागुन ७ मा दुई पार्टीबीच भएको सहमतिले पनि दुवै विचारलाई विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने उल्लेख गर्‍यो। पार्टी एकीकरण, नेतृत्व, सत्ता सञ्चालनलगायतका विषयमा भुसालसँग प्रकाश आस्थाले गरेको कुराकानीः


“जनताको बहुदलीय जनवाद (जबज) र माओवादको च्याप्टर क्लोज भएको तपाईंको अभिव्यक्तिलाई फागुन ७ को एमाले–माओवादीबीच भएको सातबुँदे समझदारीले वैधता दिएको हो ?”


‘च्याप्टर क्लोज’ को प्रश्न असाध्य बदनियताका साथ मेरो विरुद्धमा प्रचार गर्ने प्रयत्नका रूपमा बुझेको छु। च्याप्टर क्लोज भयो कि भएन भन्ने प्रश्न सैद्धान्तिक थियो। हाम्रो इतिहास र खासगरी कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण प्रश्न हो त्यो। यस प्रश्नमा जुन हिसाबले छलफल गर्नुपर्ने थियो, त्यो न हिजो गर्‍यौं न त आज गरिरहेका छौं। जसरी वैचारिक मुद्दालाई मान्छेहरू आरोप–प्रत्यारोपको विषय बनाइराखेका छन् कि त्यसले हाम्रो सिद्धान्तमाथि भोलि पनि छलफल नहुने हो कि भन्ने डर बढ्यो। नरोवा कुन्जरोवा भनेर जसरी झ्याली पिटिँदैछ, सिद्धान्तको प्रश्नलाई व्यक्तिगत रिसइबी साँध्ने र खुट्टा तानातानको विषय बनाइँदैछ, यसले राम्ररी अघि जान दिँदैन।

जहाँसम्म च्याप्टर क्लोजको विषय छ, दुई पार्टीबीच भएको सातबुँदे सहमतिले ठिकै काम गरेको छ। यसले आज नेपाल कम्युनिस्ट पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद तय गरेको छ। यसबाहेक के राख्ने र के नराख्ने भन्ने विषयमा हामीले छलफल गर्नेछौं भनेका छौं। यस अर्थमा जे भएको छ, राम्रो भएको छ।

जबजमै टेकेर समाजवादको आधार तयार गर्न सकिन्छ भन्ने मत छ नि ?

मैले त्यसलाई कहिल्यै इन्कार गरेको छैन। इतिहासमा हाम्रा पुर्खाले पाएका उपलब्धिमा हामीले टेक्ने र उभिने हो। हाम्रा गतिविधि र आज हामी बाँचेको संसारको जगमा टेकेर भोलिको पुस्ताले आफ्नो बाटो बनाउने हो। यस हिसाबले जनताको बहुदलीय जनवाद हिजो एउटा खास बेलामा, कम्युनिस्ट आन्दोलनको अप्ठ्यारो परिस्थितिमा पार्टीको कार्यक्रमका रूपमा आयो। कमरेड मदन भण्डारीको नेतृत्वमा त्यतिखेरको नेकपा एमालेले त्यसलाई स्वीकार गर्‍यो। त्यसले एउटा चरण पार गरिसकेको छ। त्यसले पार गरेको जुन चरण र अनुभवको हामीले अझै राम्रो, विसद्, गहन अध्ययन र छलफल गर्नुपर्नेछ। साथै, आज पनि हामीलाई जबजले मार्गदर्शन गर्छ भनेका छौं। आज हामीलाई मार्गदर्शन गर्ने जबजको व्याख्या र २०४९ सालमा हामीले गरेको व्याख्या भने फरक हो। २०४९ सालमा सामान्तवादविरुद्ध, हाम्रो पार्टीको कार्यक्रमका रूपमा जबज ल्यायौं। पछि जतिखेर कमरेड मदन हाम्रा सामु हुनुहुन्नथ्यो, त्यतिखेर हामीले जबजलाई सिद्धान्त हो भन्यौं। त्यसमा पनि कम छलफल भयो।

सिद्धान्त भनेर लामो समयसम्म भन्यौं तर सिद्धान्त के हो, कसरी सिद्धान्त बन्छ भन्ने कुरामा छलफल गरिएन। जबजलाई सिद्धान्तका रूपमा परिभाषित मैले गरें भन्ने मेरो दाबी छ। आठौं महाधिवेशनमा जबज कसरी सिद्धान्त बन्छ भनेर व्याख्या गरियो। हामीले के भन्यौं भने जबजलाई सिद्धान्त मान्ने हो भने लोकतान्त्रिक तरिकाले समाजको प्रगतिशील रूपान्तरण गर्ने बाटो नै जबज हो भन्यौं। यो व्याख्या र परिभाषा कसैले गरेको थिएन। आठौं महाधिवेशनमा जबजलाई परिभाषित गर्ने काम हामीले गर्‍यौं। त्योभन्दा अगाडि जबजलाई आकाश, पाताल, इतिहास, वर्तमान, भविष्य सबै हो भनियो। गीतासारलाई जसरी व्याख्या गरियो जबजको। त्यो अमूर्त व्याख्या थियो। हामीले त्यसलाई मूर्त बनायौं। फेरि पनि दाबाका साथ भन्छु, जबजलाई सिद्धान्तका रूपमा हामीले परिभाषित गर्‍यौं। म अहिले पनि सबैलाई अनुरोध गर्छु, योभन्दा अर्को व्याख्या कसैले ल्यायो भने वा हिजो कसैले गरेको थियो भने त्यो पनि ल्याइयोस्।

हिजो एउटा बेला थियो, जतिखेर कम्युनिस्ट आन्दोलन निसन्देह सशस्त्र र हिंसात्मक हुन्छ भन्ने मान्यता थियो। त्यो मान्यता लामो समयसम्म रह्यो। त्यसको ठाउँमा अबको समाज र राजनीति निसन्देह शान्तिपूर्ण हुन्छ। त्यो लोकतान्त्रिक तरिकाले हुन्छ भनेर जबजलाई परिभाषित र व्याख्या गर्‍यौं। जबजको त्यो परिभाषा र त्यो परिभाषाले देखाएको बाटो आज पनि बाँकी छ। अहिले उठाइएको जुन च्याप्टरवाला विवाद छ, त्यो भनेको ४९ सालमा कार्यक्रमको रूपमा व्याख्या गरिएको जबजको च्याप्टर क्लोज भयो भनिएको हो, त्यो क्लोज भएकै हो। मैले क्लोज गरेको होइन। एमालेको नवौं महाधिवेशनले च्याप्टर क्लोज गरेको हो। जुन यसको सिद्धान्तको अर्को च्याप्टर छ, त्यो बाँकी राख्यो। यसले आज पनि हामीलाई मार्गदर्शन गर्छ।

अब समाजवादको आधार कसरी तयार गर्ने ?

सबैभन्दा पहिला त आज समाजवादको व्याख्या कसरी गर्ने भन्ने कुरा छ। समाजवादलाई हिजोकै हिसाबले हेर्ने हो या फरक किसिमले ? हिजो सोभियत संघमा, चीनमा, युरोपमा तथा अरू थुप्रै मुलुकमा प्रयोग गरिएको समाजवादका अध्याय छन्। सोभियत संघको पतन र विघटनपछाडि समाजवादको अर्को च्याप्टर सुरु भएको मेरो ठम्याइ छ। यसलाई मैले उत्तर बोल्सेभिक समाजवाद या उत्तर सोभियत समाजवाद भन्ने गरेको छु। त्यो भनेको हिजोको सोभियत मोडेलको समाजवादका शिक्षाका आधारमा अगाडि जाने हो। त्यसको मुख्यत दुई कुरा छन् ः एउटा राजनीतिक, अर्को अर्थशास्त्रीय। राजनीतिक हिसाबले शान्तिपूर्ण र लोकतान्त्रिक तरिकाबाट अगाडि बढ्ने हो। तर यसो मात्रै भनेर पुग्दैन। शान्तिपूर्ण भनिएका तमाम पार्टीहरूले बाटो बिराएका छन्, समाजवाद, वर्ग, श्रमजीवी वर्ग पक्षधरता छोडेका छन्। सजिलो बाटो हिँडेका छन्। तिनले चुनाव जितेका छन्। सत्तामा गएका छन्। मन्त्री–प्रधानमन्त्री बनेका छन्। तर जतिजति तिनको फैलावट बढ्दो छ, त्यतित्यति तिनको समाजवाद टाढा हुँदो छ। इतिहासको असाध्य तीतो यथार्थ हो यो। दोस्रो कुरो, समाजवादको अर्थतन्त्र। त्यो अर्थतन्त्र भनेको हामीले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाबाट गएर पनि हाम्रो सम्पूर्ण राजनीतिको केन्द्र श्रमजीवी वर्ग हुन्छ कि हुँदैन ? यी मुख्य कुरा हुन्। यसलाई म उत्तर बोल्सेभिक समाजवाद भन्छु, तर यसबारेमा हाम्रोमा छलफल नै भएको छैन।

यो एकताले देशमा आमूल परिवर्तन, विकास र न्याय स्थापना हुन्छ भन्ने आधार के छ ?

सामान्य इतिहास बुझेका वा सिद्धान्तमा चासो राख्नेले वाम एकतालाई राजनीति र भविष्यको ग्यारेन्टी मान्न हुँदैन। वाम एकता भविष्यको ग्यारेन्टी होइन। तर यसले भविष्यको ढोका खोल्ने काम गर्छ। वातावरण बनाउँछ। त्यसो भए भविष्य कसले बनाउँछ त ? भविष्य हामीले नै बनाउने हो। वाम एकताले भविष्य बनाइदिन्छ भनेर अमूर्त कुरा गर्नु गलत हुनेछ। यसले वाम सरकारको एउटा सम्भावनालाई असाध्यै नजिक्यायो। त्यो स्थिर सरकार हुन्छ। ७० वर्षसम्मको शासकीय अस्थिरतालाई यसले तोड्छ, सुशासनको ग्यारेन्टी गर्छ, भ्रष्टाचार उन्मूलन गर्छ र अन्तर्राष्ट्रिय सम्बन्ध राम्रो बनाउँछ। यति भइसक्दा मुलुकमा असाध्यै राम्रो लगानीमैत्री वातावरण बन्छ। जनएकता स्थापित हुन्छ। पुँजीको वृद्धि र वितरणका लागि एउटा आधार तयार हुन्छ। र, यसरी पुँजीको वितरण गर्दै जाँदा हामीले राष्ट्रिय एकता पनि प्राप्त गर्दै जान्छौं। मुलुक समृद्ध हुँदै जान्छ र मुलुकको काँचुली फेरिनेछ। एकताले यस्तो सम्भावनालाई नजिक्याएको छ।

यो एकतालाई सत्ता र सत्ता स्वार्थका निम्ति भएको एकता मान्ने कि ऐतिहासिक आवश्यकताका आधारमा गरिएको एकता ?

राजनीतिलाई सत्ताबाट अलग गर्न सकिँदैन। जहिले सत्ता जन्म्यो, त्यहाँबाट राजनीति सुरु भयो, वा राजनीति सुरु हुँदा सत्ता जन्मियो। यी अभिन्न कुरा हुन्। तर सत्ता कसका लागि भन्ने कुरा महत्वपूर्ण हो। इतिहासमा अनेक सत्ता र व्यवस्था बदलिए। तर, हरेकपटक नयाँ वर्गले आफूलाई पुरानै वर्गको ठाउँमा उभ्याएको छ। पहिले किसान क्रान्ति हुन्थे। त्यस्ता विद्रोहमा या त किसानहरू मारेर सकिए या त जित्दा किसानहरूले आफैंलाई मालिक घोषणा गरे। दास विद्रोहहरू भए। दासहरूले त्यस्तै गरे। आफैंलाई मालिक घोषणा गरे। त्यही महलमा बसे। अरूलाई नोकर बनाए। त्यही धनदौलत, ऐसआराम उपभोग गर्न थाले।

इतिहास एकपछि अर्को गरी बदलियो तर संस्कार जहींको तहीं रह्यो। अझ वाम आन्दोलन र समाजवादको कुरा गर्दा हिजो राजाको ठाउँमा, गिरिजाको ठाउँमा, शेरबहादुरको ठाउँमा नै हामी पुग्ने हो भने कुरो उही हो। चीनको हुनानमा किसानले कसरी विद्रोह गरे र उनीहरूले पछि कसरी ठूलाठूला हस्तीहाडका पलङमा सुते भनेर माआले एउटा रिपोर्ट लेखेका छन्। हस्तीहाडका बिछ्यौनामा सुत्नका लागि यो वाम एकता हो ? त्यो वैभव, ऐसआराम, हुकुमत, यशका लागि हो वा होइन, हामीले दुनियाँलाई भन्नुपर्छ।

दोस्रो, यो राजनीतिक सत्तालाई ती तमाम उत्पीडित, निमुखा, श्रमजीवी वर्गका पक्षमा प्रयोग गर्छौं कि गर्दैनौं। प्रश्न त्यो हो। दिनदिनै आफ्नो भूमिबाट उखेलिएर तिनीहरू सहरतिर धकेलिएका छन् र सहरबाट पनि विदेश भागिरहेका छन्। तिनीहरूको जीवन असाध्यै अनिश्चित बन्दैछ। मुलुकमा पसिना बगाउन नपाएर ४०–५० लाख श्रमशक्ति ५०–५२ डिग्रीको धुपमा विदेशमा गएर पसिना चुहाइराखेका छन्। यी कुरा सम्बोधन हुन्छ कि हुँदैनन् भन्ने वाम आन्दोलनका लागि मुख्य चुनौती हो। सत्ता कसका लागि हुन्छ भन्ने मुख्य विषय हो।

दुवै पार्टीभित्र वैचारिकभन्दा स्वार्थगत समूह र गुट छन् भनिन्छ। भइरहेको एकताले गुटहरूको अन्त्यतर्फ कस्तो परिणाम देला ?

मलाई गुटबन्दी त्यति अस्वाभाविक लाग्दैन। जुनसुकै पार्टीमा इतिहासमा जहिल्यै गुटबन्दी भा’को छ। राजाको दरबारभित्र, युद्ध सरदारका ग्याङहरूबीच, लुटेराहरूभित्र गुटबन्दी हुन्छ। जनक राजाको दरबारमा शास्त्रार्थ हुन्थ्यो भन्छौं हामी, त्यहाँ पनि गुटबन्दी थियो। कम्युनिस्ट पार्टीमा गुटबन्दी थियो र छ। यो समस्या होइन। तर समूहबन्दी केका लागि ? किन गुटमा मान्छे जुट्छन् ? यो प्रश्न मुख्य हो। समाजलाई अघि बढाउने योजनामा, इतिहासको अध्ययन गर्न र भविष्यको समाजको चुनौती त्यसका लागि कोही जुट्छन् भने त्यस्तो गुटबन्दी असाध्यै स्वागतयोग्य हो।

तर बिहान, दिउँसो, साझँ, रातिसम्म बसेर, टाउकामा लिखा परुन्जेल गुटबन्दी गरिरहेका मान्छेले के सोच्न जरुरी छ भने उनीहरूको मूल एजेन्डा के हो ? भेट भएर उनीहरू के कुरा गर्छन् ? अर्को कमरेडको खुट्टा तानातान गर्छन्, चरित्रहत्याको कुरा गर्छन्, ठेक्कापट्टाको कुरा गर्छन्, आसेपासे र तिनको संरक्षणको कुरा गर्छन्, नाजायज तरिकाले तिनलाई माथिल्लो कमिटीमा ल्याउने कुरा गर्छन्। र, अरू जसलाई ती मन पराउँदैनन्, तिनीहरूलाई रातारात खसाल्ने कुरा गर्छन्। चुनावमा हराउने कुरा गर्छन्। तीविरुद्ध पैसा बाँड्छन् वा के गर्छन् ? त्यस्तो गुटबन्दी क्षुद्र गुटबन्दी हो। लुटपाटको गुटबन्दी हो। वामपन्थीको होइन, हामपन्थीको गुटबन्दी हो।

दुर्भाग्य, आजको समाजमा जहींतहीं यो दलाल पुँजीवादले ल्याएको विकृत संस्कृति छ। त्यही समाजको उपज हामी पनि भएकाले त्यसको परोक्ष प्रभाव हामीभित्र पनि छन्। र, मैले के दावा गर्न सक्दिनँ भने आज ठूलाठूला दरबारमा भएका गुटबन्दीहरू विचार र सिद्धान्तका लागि भएका छन्।

स्वार्थगत गुटकै कारणले पनि पार्टी एकताको प्रक्रियामा ढिलाइ भएको भन्ने तर्क पनि गरिन्छ नि ?

समाजमा हुने कुनै पनि ठूलो घटनामा कुनै एउटा मात्रै चीज जिम्मेवार हुँदैन। त्यहाँ अनेक पात्र हुन्छन्। कसैको बिहे भयो भने त्यहाँ दुलाहा एक पात्र हो, दुलही अर्को हो। दुवैका परिवार, जन्ती र रमाएर बिहे हेर्ने नरनारी अरू पात्र हुन्। संस्कृतमा एउटा श्लोक छ, ‘कन्या वरयते रूपं माता वृतं, पिता श्रुतं वान्धवा कुलमिच्छन्ती, मिष्ठान्न मितरेजना।’ (जब बिहेको बेला हुन्छ, कन्याले मेरो वरको रूप कस्तो होला भन्ने सोच्छिन्, आमाले चाहिँ ऊ धनी होला या नहोला भन्ने सोच्छिन्, बाबाले पढ्या छ कि छैन होला भनेर सोच्छिन्। बान्धवले वर कुन कुलको होला भनेर सोच्छन्। यता जन्तीसन्तीले राम्रो, मीठो मसिनो खान पाइन्छ कि पाइन्न भनेर सोच्छन्।) त्यस्तै हो समाज पनि। अहिलको यो एकतामा सबै असल छन्, सबैको राम्रो नियत छ भनेर म भन्न सक्दिनँ। वामपन्थीको दह्रो सत्ता बन्छ र त्यसमा दह्रो ठेक्का पाइन्छ भनेर लाग्ने मान्छेको ठूलो जमात छ। हिजो कमिसनतन्त्रको सारा जाल फैलाएकाहरू अहिले हाम्रापछाडि छन्। तर कार्यकर्ताको संकल्पको कुरा गर्ने हो भने यो राम्रो दिशातर्फ जाँदैछ भन्ने लाग्छ।

तस्विर अन्नपूर्णपोष्टबाट

पछिल्लो सातबुँदे सहमतिले नेपाली कम्युनिस्ट आन्दोलनको अबको संघर्ष शान्तिपूर्ण हुनेतर्फ इंगित गरेको हो ?

सातबुँदेले होइन, सातबुँदेभन्दा अगाडि नै हाम्रो समाजको यथार्थले नै त्यो चीज गर्न दिँदैन। दस वर्षअगाडि एउटा निष्कर्ष निकालेको थिएँ मैले ः सन् १९६० वरिपरिदेखि संसारभरि क्रान्तिका नाममा जतिवटा सशस्त्र क्रान्ति भए, ती शतप्रतिशत असफल भए। इतिहासको असाध्यै तीतो तथ्य हो यो। सामाजिक अवस्थाले असफल बनाएको हो। योचाहिँ उत्तर बोल्सेभिक समाजवादको युग हो। यसर्थ यो शान्तिपूर्ण सामाजिक परिवर्तनको युग हो। हामी कम्युनिस्टहरू शान्तिपूर्ण मार्गको खुब कुरा गर्छौं तर समाजको प्रगतिशील, क्रान्तिकारी, श्रमजीवीवर्गीय परिवर्तनको कुरा भने हामीले बहुत कम गर्ने गरेका छौं। यो असाध्यै ठूलो सैद्धान्तिक विचलन हो। यस प्रति भने हामी सतर्क भइराख्नुपर्छ।

पार्टी एकतामा वैचारिक प्रश्न गौण र नेतृत्वको विषय अत्यन्त पेचिलो बनेको देखियो। यसमा तपाईंको भन्नु के छ ?

पार्टी भनेको अमूर्त चीज होइन। हामीलाई कहिलेकाहीं लाग्छ र पार्टीका कार्यकर्तालाई झुक्याउन पनि हामी त्यसो भन्ने गर्छौं– पार्टीले निर्णय गर्‍यो ! वस्तुतः पार्टीका नाममा व्यक्तिले नै निर्णय गर्ने हो। तर त्यो निर्णय कसका लागि भन्ने विषयले महत्व राख्छ। आजको वाम एकतापछि हामीले जाने बाटो निश्चित गरेपछि एउटा साझा मनोविज्ञानमा त्यतातर्फ लैजाने र समाजको परिवर्तनको दिशामा लैजाने, श्रमजीवी वर्गीय रूपान्तरणमा लैजानेतर्फ हामीले बढी काम गर्न सके त्यो त्यता बढी लाग्छ। वाम आन्दोलनभित्र यसलाई शान्तिपूर्णका नाममा विसर्जन गर्ने हो या श्रमजीवी वर्गीय बनाउने भन्ने विषयमा तानातानी चलिरहनेछ। माक्र्सवादी र समाजवादीहरू क्रमशः जति बढी संगठित हुँदै जान्छन् त्यति नै सबै भ्रम हट्दै जानेछन्। क्रान्तिकारीहरूले होस गुमाए या आत्तिए भने समाजको ठूलो तप्का उनीहरूविरुद्ध लाग्नेछ। खासगरी दलाल–पुँजीपति वर्गले ती सबै शक्तिलाई एक ठाउँमा ल्याएर माक्र्सवादीविरुद्ध संगठन गर्छ। त्यतिखेर पनि माक्र्सवादी आत्तिएनन् भने हामी अपेक्षित दिशातर्फ अघि बढ्नेछौं।

संगठन व्यवस्थापन र समायोजनको विषय कसरी अघि बढ्छ ?

आज युगीन महत्वको र आवश्यक कुरो भइराखेको छ तर यसमा समस्या छन्। जस्तो– दुईजनाले कुरा गर्ने, संयोजन समितिमा कुरा नहुने, पार्टीमा संस्थागत रूपले निर्णय नहुने यी हाम्रा समस्या हुन्। हाम्रो नेतृत्वदेखि हामी असाध्यै सतर्क हुनुपर्छ। नेतृत्वका सारा समस्या समाधान गर्दै अघि बढ्नुपर्छ। हामी लोकतान्त्रिक बाटोबाटै अघि बढ्ने हो। हामी स्वयं लोकतान्त्रिक भएनौं भने आज जतिसुकै राम्रो देखिए पनि भोलि त्यसले चुनौती व्यहोर्नुपर्ने हुन्छ। त्यसैले आज समस्त पार्टी र त्यसमध्ये पनि नेतृत्व यसमा सतर्क हुनुपर्छ।

माओवादी जनयुद्धलाई पार्टीको आगामी अन्तरिम विधान र महाधिवेशनमा कसरी दस्ताबेजीकरण गर्नुहुन्छ ?

इतिहासतिर फर्कनु भनेको नमिल्न बाटो हो। झगडा र द्वन्द्वको बाटो हो। आज दुई दिन मिल्यौं भने पनि चार महिनापछि फुट्ने बाटो हो। अगाडि हेर्‍यौं भने त्यो मिल्ने बाटो हो र हामी दुई वाम आज त्यही बाटोमा छौं। हामीले माओवादीका सबै हात निर्दोष मानिसका रगतले रक्तरञ्जित देख्न सक्छौं, एउटा कोणबाट हेर्दा। उता, एमाले भनेको सबै सुराकीको पार्टी हो भनेर हेर्ने ठाउँ पनि छ। तर यो इतिहास हो। वर्तमानमा हामी दुवै पार्टीको एउटै सिद्धान्त हो। त्यो सिद्धान्त लोकतान्त्रिक तरिकाले समाजवादमा जाने भन्ने हो। यही सिद्धान्तमा समानता छ हामीबीच। अहिलको संविधानमा समेत यही कुरा छ। इतिहास र मूल्यांकनका नाममा इतिहासको भाषामा यसरी नफसौं, जसले अगाडिको बाटो रोकोस्। हामी दुईमध्ये एक एउटा सशस्त्र, बलपूर्वक र हिंसाबाट आयो। अर्को शान्तिपूर्ण प्रक्रियाबाट आयो। एमालेले शान्तिपूर्णमा आन्दोलनमा रहेका कमी केके थिए र उहाँहरूले सशस्त्रका कमीहरू केके थिए भन्ने कोणबाट अघि बढेमा इतिहासबारे समस्या रहँदैन। यो त्यस्तो प्रस्थानविन्दु हुनेछ, जसले हामीलाई इतिहासमै पनि एक ठाउँमा ल्याउँछ।

देशमा दलाल पुँजीले राष्ट्रिय पुँजीको विकास हुन दिइरहेको छैन भन्ने तपाईंको तर्क छ। वर्तमान वाम नेतृत्व र सरकारले उत्पादक पुँजी निर्माणका लागि पहल र हस्तक्षेप गर्न सक्ने ठान्नुहुन्छ ?

मैले दलाल पुँजी भनेर अलि नै बढी भनेको छु। अरूले यसैलाई क्रोनी, रेन्टियर, स्याडो, निओ फ्युडल पनि भन्ने गरेका छन्। त्यसको सार यस्ता पुँजी उत्पादक होइनन् भन्ने हो। मान्छेको श्रमबाट वस्तु उत्पादन गर्ने पुँजी उत्पादक पुँजी हो। मान्छेलाई उद्यममा नल्याउने या श्रमलाई उद्यमसँग नगाँस्ने पुँजी दलाल पुँजी हो। यसैलाई गएको बीस वर्षदेखि मैले हाम्रो समाजको समस्याका रूपमा औंल्याउने गरेको छु। दलाल पुँजीलाई निमिट्यान्न पार्ने, राष्ट्रियकरण गर्ने भन्ने बुझ्छन् कतिपयले, त्यो होइन। आज हामी जहाँ छौं, समाज, अर्थतन्त्र र राजनीति जेजे विकसित भएर हामी जुन विन्दुमा आइपुगेका छौं, त्यस हिसाबले त्यो दलाल पुँजीलाई उद्यमशील पुँजी बनाउने हो। त्यसको प्रयोग गरेर रोजगार सिर्जना गर्ने हो। आजको मुख्य विषय रोजगार सिर्जना गर्ने पुँजीको हो। रोजगार सिर्जना हुन उद्यम चााहिन्छ। त्यो उद्यम त्यसै आउँदैन। त्यो उद्यम ल्याउने कर्ताहरू चाहिन्छन्। अहिलेसम्म राजनीतिमा माथिल्लो ठाउँमा बसेका मान्छेहरू उत्पादक पुँजी निर्माणमा लागेनन्। उनीहरूलाई सजिलो पुँजी चाहियो। राजनीतिज्ञ, ब्युरोक्र्याट, पुलिस, प्रशासक, सेना, न्यायाधीश सबैलाई पैसा कमाइहाल्नुपर्‍यो। सबैको ध्यान र प्रयत्न त्यता गयो।

उत्पादक पुँजीले आजको भोलि दिँदैन। यो त कमिसन र भ्रष्टाचारले दिन्छ। न्याय, इमान, मूल्य र जनताका आकांक्षाहरूको व्यापारले दिन्छ। दलाल पुँजीले दिन्छ। यसरी अदालत, राजनीति र ब्युरोक्रेसी सबैतिरका मान्छे एकै ठाउँमा हुन्छन् र दलाल पुँजीवादले ती सबैलाई बराबर बनाइदिन्छ। तिनको चरित्र उस्तै बनाइदिन्छ। त्यहाँ पुगेपछि ती सबै एउटै हुन्छन्। ती दलाल पुँजीपति हुन्छन्। राजनीतिज्ञले तिनको संरक्षण गर्छन्। दलाल पुँजीपतिहरूले राजनीतिज्ञको संरक्षण गर्छन्। त्यही कारण आज समाजमा हरेक राजनीतिक परिवर्तनपछि राजनीतिज्ञहरूको एउटा नयाँ समूह आउँछ। र, त्यो चाँडै नवधनाढ्य बन्छ। राजनीतिमा लाग्दा मान्छे कसरी लागेका थिए, आजको तिनको बदलिएको जीवनस्तर हेर्नुस् त।

दलाल पुँजीविरुद्ध अर्थमन्त्रीले एउटा वक्तव्य दिएर त्यसको अन्त्य हुँदैन किनकि आखिरमा त्यो अर्थमन्त्री त कुनै पार्टीकै हुन्छ। स्वयं त्यो पार्टी नै दलाल पुँजीबाट मुक्त हुँदा मात्र उद्यमशील पुँजीको आधार तयार हुन्छ। उद्यमशील पुँजी र समाजवादको आधार तयार गर्ने हो आफ्नो पार्टीमा एकजना सदस्य मात्रै पनि भ्रष्ट छैन भनेर ग्यारेन्टी गर्नुपर्छ। स्थायी समिति र मेरो केन्द्रीय कमिटीका मान्छे कमसेकम दलाल पुँजीमा बाँच्छन् भन्ने कुरा गलत हो भन्ने ग्यारेन्टी गर्न सकियो भने राष्ट्रिय र उद्यमशील पुँजीको विकास हुन्छ। जनताबीच हामीले यत्रा ठूला कसम खाएका छौं कि त्यसो नगरीकन सुख छैन। म आशा गर्छु– हामी त्यस दिशातर्फ जानेछौं।

संसारभर कम्युनिस्ट नेतृत्व र विचार संकटमा र रक्षात्मक देखिन्छ। हाम्रोमा फैलिनुको कारण के ?

धेरै कारण हुन सक्छन्। तर मुख्य कारणचाहिँ तीनवटा राजनीतिक नाराका कारण हामीले ठूलो ठक्कर खानुनपरेको हो– जनवाद, जनजीविका र राष्ट्रियता। कति मुलुकमा राष्ट्रियताको विषयमा, कति मुलुकमा लोकतन्त्रका विषयमा सही नीति लिन सकेनन् र धक्का खाए। जनजीविकाका सवालमा सही नीति नलिँदा पनि उनीहरूले ठक्कर खाए। जस्तो– हिजो राजा राष्ट्रवादी देखिन्थे तर स्वयं कम्युनिस्टहरू राष्ट्रिय हितको लडाइँमा अगाडि रहे। कांग्रेस त प्रजातन्त्रका लागि निरन्तर लडेकै हुन् तर जीविकाको विषय कांग्रेस र राजाको थिएन। राजाको राष्ट्रियता र कांग्रेसको लोकतन्त्रको नारा कम्युनिस्टले पनि बोके। सँगै, जीविकाको नारासमेत बोकेर तीनवटै मोर्चामा कम्युनिस्ट पार्टीले जे काम गरे, त्यही कारणले नेपाली कम्युनिस्ट आन्दोलनलाई कसैले हल्लाउन सकेन।

नेकपामा अबको वैचारिक नेतृत्व कसको ?

सामान्यतयाः विचार ल्याउनेले नेतृत्व गर्ने हो। तर इतिहासमा सधैं त्यस्तो भएको छैन। विचार ल्याउनेलाई फाँसी दिएर फाँसी दिनेवाला नै सत्तामा बसेका उदाहरण छन्। जहाँसम्म हाम्रो आगामी नेतृत्व कसरी हुन्छ भन्ने प्रश्न हो, लोकतान्त्रिक तरिकाले समाजवादमा जाने यो बाटोमा सबैभन्दा अघि आउनेहरूले नै नेतृत्व गर्नेछन्। अथवा, यो विचारले त्यस अनुकूलको नेतृत्व जन्माउनेछ। र, यो निर्वाध रूपले अघि जान्छ भन्ने लाग्छ।

अहिलेको शीर्ष नेतृत्वलाई निवृत्त हुन आग्रह गरिएको सन्दर्भमा दुवै पार्टीभित्र कटाक्षहरू पनि चले नि ?

मूर्तरूपमा भन्दा पछिल्लोपटक एमाले सचिव कमरेड योगेश भट्टराईले गरेको भाषणबाट यो चर्चा सुरु भएको हो। झट्ट हेर्दा आजै योगेशजीले ओलीजी र प्रचण्डजीलाई गद्दीच्युत गर्न खोज्नुभयो कि, डन्डा लिएर बाटोमा खडा भइहाल्नुभयो कि जस्तोगरी त्यस विषयलाई प्रोजेक्ट गरियो। पछि योगेशजीको सो भाषण सुनें। नेतृत्वको प्रश्नमा त्यो असाध्यै सुन्दर भाषण थियो। नेतृत्वले के गर्नुपर्छ र आदर्श नेतृत्व कस्तो हुनुपर्छ भन्ने विषयमा भट्टराईले राम्रोसँग बोल्नुभएको छ। प्रचण्डकै अगाडि त्यो भाषण गरिएको र प्रचण्डले योगेशको भाषण राम्रो भन्दै तारिफ गर्नुभएको रहेछ।

तर, यता योगेशलाई फाँसी देऊजस्तो गरी नक्कली परिवेश उत्पन्न गरियो, जसरी बीपीलाई मण्डलेहरूले फाँसीको माग गरेका थिए। योगेशजीले त्यो ठीक भन्नुभएको थियो। छोड्छन्, छोड्दैनन्, आजै छोड्छन्, भोलि छोड्छन् वा छोड्दै छोड्दैनन्, त्यो नेतृत्वको प्रश्न भयो। आदर्श नेतृत्वको सन्दर्भमा हाम्रा नेताहरूले ठूलो उतारचढावपूर्ण, असाध्यै झन्झावटपूर्ण घटनाक्रमको साक्षी हुनुभएको छ। कठिन अवस्थामा नेतृत्व गर्नुभएको छ। योगेशजीको आदर्शका बाबजुद व्यावहारिक प्रश्न के हो भने सामान्यतयाः सत्ताको चरित्र नै बाँधेर राख्ने खालकै हुन्छ। मान्छेले मात्रै सत्ता बाँध्छ भन्ठान्छौं हामी। तर सत्ताले पनि मान्छेलाई बाँधेर राख्छ। त्यसैले, यो समाजले आफ्नो युगको नेता आफैं जन्माउँछ। यो समाज राम्रोतिर जानका लागि तयार छ भने यसको गर्भमा राम्रो बाटोमा जाने भ्रूणहरू तयार भइसके। नेताले जतिसुकै गलत बाटोमा लैजान्छु भने पनि सक्दैनन्।