झापामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु

विर्तामोड / झापामा शुक्रबारदेखी हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान सुरु गरिएको छ ।

शुक्रबार बिहान झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, झापाका शसस्त्र प्रहरीका एसपी रमेश सुवेदी र भद्रपुर नगरपालिका मेयर जीवन श्रेष्ठले संयुक्तरुपमा औषधी सेवन गरी अभियानको सुरुवात गरेका हुन ।

झापा सहित २४ जिल्लामा फागुन १२ गतेदेखी १४ गतेसम्म अभियानका रुपमा हात्तीपाइले रोगबिरुद्धको औषधी खुवाउने कार्यक्रम छ ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी तिवारीले झापामा हात्तिपाइले रोग निवारण गर्ने कार्यलाई सहयोग पुयाउन सबैसँग आग्रह गरे ।

झापाका शहरी क्षेत्रका सर्वसाधारणले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन नगरेका कारण रोगीको संख्या घट्न नसकेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख मधुसुधन कोइरालाले बताए ।

आठ लाख ९५ हजार ४१९ जनसंख्या रहेको झापामा यस पटक एक लाख ४८ हजार ९६६ जनाले औषधि सेवन गर्ने जनाइएको छ । दुई वर्ष मुनीका बालबालिका तथा ७० वर्षमाथि उमेर समूहका मानिसलाई औषधि सेवन गराउन पाइदैन । त्यस्तै, सुत्केरी, दीर्घरोगीहरुले पनि यो औषधि सेवन गर्न नहुने जनस्वास्थ्यले जनाएको छ ।

झापामा अझै एक हजार १५ जनामा हात्तीपाइले रोगको संक्रमण देखिएको छ । छैटौं पटकसम्म औषधि वितरण गर्दा पनि झापामा हात्तीपाइले रोगीको संख्या घटेको छैन ।