सरकारलाई प्रतिपक्षको प्रश्न ‘किन दुई तिहाइ ?’

काठमाडौँ / प्रमुख प्रतिपक्षी कांग्रेसले सुविधाजनक बहुमत हुँदाहुँदै पनि सत्तारूढ एमाले र माओवादी केन्द्रले दुई तिहाइ बहुमत पुर्‍याउन गरिरहेको प्रयासप्रति शंका गरेको छ ।

राष्ट्रिय सभाको मंगलबार बसेको बैठकमा कांग्रेस सांसद राधेश्याम अधिकारीले दुई तिहाइ बहुमत पुर्‍याएर सरकार राष्ट्रपति प्रणालीमा जान खोजेको त होइन भन्ने प्रश्न गरे ।
‘सरकारले सुविधाजनक बहुमत हुँदाहुँदै दुई तिहाइ खोज्नु र प्रधानमन्त्री कार्यालयमा शक्तिको केन्द्रीकरण गर्नु कतै संविधान संशोधनबाट राष्ट्रपति प्रणालीमा जाने सरकारको ध्येय त होइन भन्ने प्रश्न उब्जिएको छ,’ उनले भने ।
अधिकारीले प्रधानमन्त्री कार्यालयमा असीमित अधिकार राख्दा झन् भ्रष्टाचार बढ्ने भन्दै सरकारलाई सचेत गराए । ‘प्रधानमन्त्रीलाई बलियो बनाउने नाममा गुप्तचर, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री केपी ओलीले राख्नुभएको छ । तर प्रतिपक्षका हिसाबले यसमा चासो छ– अधिक केन्द्रीकरणले भ्रष्टता निम्त्याउँछ भन्ने ख्याल गरियो कि गरिएन भन्ने हो ।’
ओली सरकार ५ वर्ष टिकोस् भन्ने शुभकामना दिँदै अधिकारीले सुरुवातमै देखिएको असमझदारीले पूर्णता नपाउनु ‘उदेकलाग्दो’ भएको टिप्पणी गरे । उनले दुई तिहाइका नाममा अदालतबाट भएका कामकारबाहीमा दबाब सिर्जना गर्ने प्रयास भएको भन्दै असन्तुष्टि जनाए ।
एमाले सांसद गणेश तिमल्सिनाले नेपालका वामपन्थी दलको लोकतन्त्रप्रतिको आस्थामा प्रश्न नउठाउन विपक्षीलाई आग्रह गरे । ‘संसारमा कम्युनिस्टहरू तानाशाही हुन्छन् भन्ने थियो, तर नेपालका कम्युनिस्ट पार्टीहरू लोकतन्त्रवादी छन्, लोकतन्त्रको मूल्यमान्यतामा शंका गर्ने ठाउँ छैन,’ उनले भने, ‘संविधानलाई लोकतान्त्रिक बनाउन कम्युनिस्टले खेलेको भूमिका ताजै छ ।’
माओवादी केन्द्रका सांसद दिनानाथ शर्माले पनि कम्युनिस्टकै जोडबलमा लोकतान्त्रिक संविधान निर्माण भएको स्मरण गर्दै विपक्षीलाई सँगै लिएर जाने क्षमता वामपन्थी दलको सरकारसँग रहेको जिकिर गरे । उनले मुलुकमा राजनीतिक दलबीच सहमति र सहकार्यको संस्कृति विकास भएको उल्लेख गर्दै भने, ‘भारतमा सत्तापक्ष र प्रतिपक्षको भेटघाट वर्षौं हुँदैन, तर नेपालमा प्रधानमन्त्री र विपक्षी दलका नेताबीच दिनैपिच्छे भेटघाट र कुराकानी भएको छ । यति सुन्दर लोकतन्त्र दुनियाँमा कहीँ देख्न पाइन्छ ? यो मौलिकतालाई कम आँक्नु हुँदैन ।’
राष्ट्रिय जनता पार्टीका सांसद बृषेशचन्द्र लालले सरकार बलियो बनाउन संविधानअन्तर्गतका निकायहरू निष्पक्ष हुनुपर्नेमा जोड दिँदै ओली सरकारलाई पनि विधि टेकेर बलियो सरकार बनाउन सुझाव दिए । ‘नयाँ सरकार शक्तिपृथकीकरणको मान्यताअनुसार कसरी अगाडि बढ्छ हेर्न बाँकी छ,’ उनले भने । संघीय समाजवादी फोरमकी सांसद प्रमिला कुमारीले प्रशासनिक संघीयतामात्रै अधिकारसम्पन्न नहुने बताउँदै संघीयताप्रति ठूला दलको उदासीनता शंकाको घेरामा रहेको बताइन् । कान्तिपुर दैनिक