‘लिलिबिली’ मा अनुप र सविनका अगाडी सफल बन्लान त प्रदिप ?

फिल्मी संसार मनोरञ्जन
लभस्टोरी फिल्म ‘प्रेमगीत’ बाट रातारात चम्किएका युवा स्टार प्रदीप खड्का अभिनीत प्रतिक्षीत फिल्म ‘लिलिबिली’ आउँदो चैत ३० गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘प्रेमगीत २’ पछि उनी यो फिल्मबाट पुनः पर्दामा फर्किन लागेका हुन् ।
निर्माण अगावैदेखि चर्चामा रहेको यस फिल्मका लागि प्रदीपले २२ लाख बढी पारिश्रमिक बुझेको चर्चा छ । मंगलवार साँझ ‘लिलिबिली’ को अफिसियल ट्रेलर सार्वजनिक भयो । फिल्ममा प्रदीप र नव-नायिका जसिता गुरुङको प्रेममा अभिनेता अनुप विक्रम शाही भिलेन बनेका छन्
जुन फिल्ममा अनुप हुन्छन् त्यहाँ हिरोलाई थ्रेट हुन्छ । कति फिल्ममा उनका कारण हिरो छाँयामा समेत परेका छन् । ‘लिलिबिली’ मा प्रदीपलाई अनुपको उपस्थिति महंगो पर्ने त होइन ?
ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भने, ‘फिल्ममा जति भयंकर भिलेन भए पनि आखिर अन्तिममा जित्ने त हिरोले नै हो । त्यसैले जति भयंकर भिलेन राखे पनि त्यो मलाई नै फाइदा हो ।’
उनले फिल्ममा अनुप र अर्का अभिनेता सविन श्रेष्ठलाई आफैंले सिफारिस गरेको पनि खुलाए । ‘फिल्ममा जुन क्यारेक्टर छ त्यो उहाँहरुलाई नै सुहाउने छ । म आफैंले सविन र अनुप जीलाई राख्नका लागि निर्देशक मिलन चाम्सलाई आग्रह गरेको थिएँ ।’, उनले भने । ‘लिलिबिली’ मा प्रदीपले जसितासँगै अभिनेत्री प्रियंका कार्कीसँग पनि रोमान्स गरेका छन् । फिल्मीखबर