कसरी बचाउने मिर्गौला ?

काठमाडौँ / मिर्गौला फेल भएर सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा प्रत्यारोपण गराउन आएका मध्ये झन्डै एक तिहाइमा क्रोनिक ग्लोमेरुलोनेफ्राइटिस (पिसाबमा प्रोटिन चुहिने रोग) भएको पाइएको छ । यतिका नेपालीमा यस्तो समस्या देखिनुको कारण भने अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

फाइल फोटो

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार मिर्गौला प्रत्यारोपण गराउने कुल रोगीको तथ्यांक विश्लेषण गर्दा एक तिहाइ व्यक्तिको मिर्गौला क्रोनिक ग्लोमेरुलोनेफ्राइटिसका कारण फेल भएको देखिन्छ । ‘यसबारे आधिकारिक अध्ययन नभएकाले ग्लोमेरुलोनेफ्राइटिस हुने वास्तविक कारण भने थाहा हुन सकेको छैन,’ उनले भने । केन्द्रले निकट भविष्यमै यो विषयमा विस्तृत अध्ययन गर्ने तयारी गरेको जनाएको छ ।
ग्लोमेरुनेफ्राइटिस एक प्रकारको मिर्गौला रोग हो जसले रगतबाट फोहर र तरल पदार्थ छान्न सहयोग गर्ने मिर्गौलाको भागमा क्षति पुर्‍याउँछ । मिर्गौलाको छान्ने (फिल्टर) एकाइलाई ग्लोमेरुल्स भनिन्छ । एउटा मिर्गौलामा हजारौं ग्लोमेरुल्स हुन्छन् ।
यसले शरीरलाई हानिकारक पदार्थबाट बचाउँछ । ग्लोमेरुलमा क्षति पुग्दा पिसाबबाट रगत र प्रोटिन बाहिर निस्किने समस्या हुन्छ । यो अवस्था तीव्र गतिले विकास हुँदा मिर्गौला केही साता वा महिनामै काम नलाग्ने हुन सक्छ । डा. श्रेष्ठ भन्छन्, ‘क्रोनिक ग्लोमेरुलोनेफ्राइटिस भएका केही व्यक्तिमा मिर्गौला रोगसम्बन्धी कुनै इतिहास हुँदैन ।’
विशेषज्ञका अनुसार क्रोनिक ग्लोमेरुलोनेफ्राइटिस लगायत अन्य मिर्गौला रोगबारे थाहा पाउन कम्तीमा वर्षको एकपटक पिसाब र रगत परीक्षण गराउनुपर्छ । मुलुकमा करिब ३० लाख व्यक्ति मिर्गौला रोगको जोखिममा छन् । यसमध्ये ३० हजार हाराहारीको मिर्गौला नराम्ररी बिग्रने गरेको छ ।
मिर्गौला स्वस्थ राख्न के गर्ने ?
– फिट र ऊर्जावान रहनुस् । दिनहुँ गरिने व्यायामलगायतका गतिविधिले रक्तचापका साथै रगतमा चिनीको मात्रा नियन्त्रित राख्छ ।
– मधुमेह नियन्त्रित राख्नुस् । मधुमेहलेमिर्गौला बिगार्छ ।
– उच्च रक्तचाप नियन्त्रणमा राख्नुस् । उच्च रक्तचाप क्रोनिक मिर्गौला रोगका लागि मधुमेहपछिको दोस्रो शत्रु हो ।
– सन्तुलित आहार र नियमित व्यायामबाट तौल नियन्त्रित राख्नुस् ।
– नियमित रूपमा मिर्गौला परीक्षण गराउनुस् ।
– धूमपान, तमाखु, रक्सी सेवन नगर्नुस् । यसले एथेरोस्कलेरोसिस नामक विशेष प्रकारको रोगले रगतको नसामा बहाव मत्थर बनाउँछ । मिर्गौलामा रगत कम जाँदा यसको कार्यक्षमता घट्छ ।
– नुनको मात्रा घटाउनुस् । तारेको खानेकुराकम खानुस् । कान्तिपुर दैनिक