चितवनमा ६३६ प्रजातिका चरा

चितवन / बाघ, गैंडा र हात्ती मात्र होइन, चराको पनि गन्तव्य बन्दै गएको छ । विश्वका ८८७ प्रजातिका चरामध्ये चितवनमा ६३६ प्रजातिका चरा पाइन्छन् । नेपालमा आउने पर्यटकमध्ये ४ प्रतिशत चरा हेर्न मात्र आउने गरेका छन् ।

सौराहामा डुंगा, हात्ती र जिप सफारी गरी पर्यटकहरूले चरा अवलोकन गर्ने गरेका छन् । वर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष बासु बिडारीले पछिल्लो समय चितवनमा चरा अवलोकन गर्न आउने क्रम बढेको बताए । ‘चितवनमा बाघ, गैंडा र हात्तीसँगै चरा हेर्न आउने पर्यटक पनि बढेका छन्,’ उनले भने, ‘चितवन चरा अवलोकनको गन्तव्य बन्दै गएको छ ।’

‘विश्वमा ८८७ प्रजातिका चरा छन्, तीमध्ये नेपालमा ६३६ प्रजातिका चरा चितवनमा पाइन्छ,’ बिडारीले भने, ‘हिउँदमा नदी, खोला, तालतलैया र सिमसार क्षेत्रमा बसाइँ सरेर आउने पानी चरा हेर्न पर्यटक आउने क्रम बढेको छ ।’

नेपालभन्दा बाहिरबाट पानी चराहरू जाडोको मौसम छल्न आउने गरेको जानकारी दिँदै चराविद् बिडारीले चितवनमा साइबेरिया, अस्ट्रेलिया, रुसलगायतका मुलुकबाट चराहरू आउने गरेको बताए ।

चितवन राष्ट्रिय निकुञ्जस्थित राप्ती नदी, लामी ताल, तमोर ताल, बीसहजारी ताल, कसरा, गोलाघाट, त्रिवेणीलगायतका क्षेत्र चराका लागि ‘गन्तव्य’ बन्दै गएको उनले बताए । चितवन निकुञ्जभित्र रहेको लामी ताल बरन्डाभार क्षेत्रको बाटुली ताल चरा अवलोकन गर्न आउने पर्यटकका लागि सबैभन्दा आकर्षक ‘गन्तव्य’ बनेको छ ।

चीन, बेलायत, हल्याड र स्विडेनबाट चरा अवलोकन गर्ने पर्यटक धेरै आउने गरेका छन् । चराको विषयमा अध्ययन अनुसन्धान गर्ने चराविद्हरू पनि सौराहा आई लामो समय बसेर जाने गरेका छन् । चरा संरक्षणका लागि उपयुक्त वासस्थानको व्यवस्थापन कमी देखिएको चराविद्हरू बताउँछन् । चराका लागि चाहिने बुटेन, घाँसे मैदान र तालतलैयाको संरक्षण गर्न आवश्यक देखिएको बिडारीले बताए ।

चितवन निकुञ्ज र आसपासका क्षेत्रमा भएको चरा गणनामा यस वर्ष पानीमा आश्रित ६ प्रजातिका चरा भेटिएका छैनन् । अघिल्लो वर्ष देखिएका तर यसपटक बासस्थान, जलप्रदूषण तथा मानवचाप बढ्दै जाँदा चराका लागि अनुकूल वातावरण बन्न नसकेकाले हराएको हुन सक्ने विज्ञहरूको बुझाइ छ ।

गत वर्ष ५४ प्रजातिका पानी चरा फेला परेकामा यसपटक ६ प्रजातिका नदेखिएको जानकारी दिँदै बिडारीले हरी हाँस, सिन्दुरे हाँस, फुर्के हाँस, सुइरोपुच्छ हाँस र सुनचोरे हाँसजस्ता चराहरू यसपटक नभेटिएको बताए ।

बर्ड एजुकेसन सोसाइटीले सरोकार राख्ने विभिन्न संघसंस्थासँग सहकार्य गरेर पाहुना चराहरू केकति आउँछन् भन्ने जानकारी लिन हरेक वर्ष ६ देखि २१ जनवरीसम्म नेपालमा पानी चरा गणना गर्दै आएको छ । अघिल्लो वर्ष ६ हजारभन्दा धेरै भेटिएको भए पनि यस वर्ष गणनामा पानी चरा ५ हजार ५७६ वटा फेला परेका थिए । राजधानी दैनिक