झापा गोल्डकप : थ्रि स्टारलाई पराजित गर्दै झापा एघार फाइनल प्रवेश

खेलकुद समाचार स्थानीय

विर्तामोड / पेनाल्टी सुटआउटमा भाग्यमानी बन्दै घरेलु टोली रमपम झापा ११ तेस्रो झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

झापा ११ ले पेनाल्टी सुटआउटमा थ्रिस्टार क्लव काठमाण्डौलाई ४-३ गोलले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो ।

विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको प्रतिष्पर्धात्मक ९० मिनेटको खेलमा दुबै टीमले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो ।

पेनाल्टी सुटआउटमा  थ्रिस्टारले प्रहार गरेको दुई गोल गोलपोष्टबाट बाहिरिएपछि झापाको जित निश्चित भएको हो ।

घरेलु टोली सामु पेनाल्टीमा पराजित भएपछि रुस्लान थ्रिस्टार क्लव जारी प्रतियोगिताबाट बाहिरीएको छ । झापाका लागि कर्ण लिम्बु, भुषण सुब्बा, कप्तान योगेश गुरुङ, र देवेन्द्र तामाङले गोल गरेका थिए ।

९० मिनेटको निर्धारित खेलमा दुबै टोलीले राम्रा अवसर सृजना गरे पनि सदुपयोग गर्न नसक्दा गोल गर्न सकेनन् । अन्तत खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । थ्रिस्टारका गोलकिपर एलन नेउपानेले पनि झापाका खेलाडीले हानेको एक गोल सेभ गरेका थिए ।

आजको खेलमा झापा ११ का देबेन्द्र तामाङ म्यानअफ द म्याच घोषित भए । उनले नगद २५ हजार रुपैया पुरस्कार प्राप्त गरे ।

भोलीको खेल लक्ष्मी हुण्डाई मनाङ मस्याङ्दी र एकमात्र विभागिय टोली त्रिभुवन आर्मी बिच हुने आयोजकले जनाएको छ ।

झापा ११ क्वार्टर फाइनलमा भारतको सिक्किम युनाइटेडलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको टीम हो ।
रुस्लान थ्रीस्टार क्लव विभागिय टोली सशस्त्र प्रहरीको एपिएफलाई हराउँदै झापा ११ सँगको भेट पक्का गर्ने टोली हो । यी दुबै टोली उपाधिका दाबेदार मानिन्थे ।
त्रिभुवन आर्मी र मनाङ मस्याङदी बिचको खेलबाट विजयी हुने टोलीको फाइनलमा उपाधीका लागि   झापा ११ सँग प्रतिष्पर्धा हुनेछ ।

मनाङले सहारा फुटबल क्वल पोखरालाई पराजित गरेको थियो भने विभागिय टोली आर्मीले अर्को विभागिय टीम नेपाल पुलिस क्लवलाई पराजित गरेको थियो । उपाधि विजेताले १२ लाख ५० हजार र उपविजेताले ६ लाख राशीको पुरस्कार शिल्ड तथा प्रमाण पत्र पाउने छन् ।