झापा गोल्डकप : झापा एघार र आर्मी फाइनल भिड्ने

खेलकुद समाचार स्थानीय

विर्तामोड / विर्तामोडमा जारी तेस्रो रमपम झापा गोल्डकप अन्तर्गत आज सम्पन्न अन्तिम सेमीफाइनल खेलमा मनाङलाई हराउँदै त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रंगशालामा मनाङलाई १-० गोलले पराजित गर्दै आर्मीले फाइनलमा झापा ११ सँगको भेट पक्का गरेको हो । खेलको पहिलो मिनेट मै आर्मीका नवयुग श्रेष्ठले गरेको गोल नै आर्मीलाई फाइनल पुर्याउन निर्णायक बन्यो ।

जारी सिजनमा राम्रो प्रर्दशन गर्दै आएको आर्मीलाई खेलको दोस्रो हाफमा मनाङले केही दवाबमा राखेपनि गोल गर्न नसक्दा मनाङको फाइनल यात्रा पुर्णविराम भयो ।

फाइनल खेल आगामी सोमबार झापा ११ र त्रिभुवन आर्मी बिच उपाधीका लागि हुनेछ । असअघिको झापा गोल्डकपमा झापा ११ लाई आर्मीले पराजित गर्दै उपाधी हत्याएको थियो । यो संस्करणमा झापालाई आर्मी बिरुद्ध बदला लिने राम्रो अवसर पनि छ ।

झापा ११ थ्रिस्टारलाई हराउँदै फाइनल पुगेको टिम हो । झापा र आर्मी मध्ये एकले उपाधी जितेको खण्डमा १२ लाख ५१ हजार रुपैया प्राप्त गर्ने छन् भने उपविजेता भए ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

खेलको म्यानअफ द म्याच आर्मीका गोलरक्षक विकेश कुथु घोषित भए । उनले २५ हजार नगद पुरस्कार प्राप्त गरे ।