हल्दिबारीमा सम्पन्न प्रथम वडास्तरीय फुटबलमा वडा नं २ ‘ए’ बिजयी मैत्रीपूर्ण उद्घाटन खेलमा जनप्रतिनीधि विजयी

खेलकुद समाचार स्थानीय

हल्दिबारी / झापाको हल्दिबारीमा सुरु वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज वडा नं २ को ‘ए’ टीम २-० गोल अन्तरले विजयी भएको छ ।

वडा नं २ को ‘ए’ टीममले वडा नं ५ को टीम ‘बी’ लाई २ गोलले पराजित गरेको हो ।

विजयी टीमका राजेश राउतले खेल सुरु भएको सातौं मिनेटमा १ गोल गरेका थिए भने अर्को ‘अनगोल’ भएको थियो । वडा नं ५ को ‘बी’ ले बचाउने क्रममा आत्मघाती गोल गरेको थियो ।

दुई गोल गरेको विजेता टीम प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ । पराजित वडा नं ५ ‘बी’ प्रतियोगिताबाट बाहिरीएको छ । आजको खेलमा म्यान अफ द म्याच गोलकर्ता राजेश राउत घोषित भए । उनले नगद १००० रुपैयाँ प्राप्त गरे ।

भोली आइतबार हल्दिबारी वडा नं ४ ‘बी’ का बिरुद्ध वडा नं १ को टीम ‘ए’ र दोस्रो खेल वडा नं १ ‘बी’ र वडा नं ४ को ‘ए’ टीमका बिच दुइवटा खेल हुने आयोजक समितिका अध्यक्ष महेश मेचेले जानकारी दिए ।

हल्दिबारीले स्थानीय तहको निर्वाचनपछि पहिलो पटक वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरेको हो । स्थानीय तह घोषणा भएको उपलक्ष्यमा गाँउपालिकाको सहयोगमा ‘प्रथम हल्दिबारी गाँउपालिका वडास्तरीय नकआउट फुटबल टुर्नामेन्ट २०७४’ सञ्चालन गरेको प्रवत्ता सागर पोर्तेलले तहल्काखबरलाई बताए ।

प्रतियोगिता नकआउट चरणमा सञ्चालन हुने छ । हल्दिबारी गाँउपालिका वडा नं २ स्थित हल्दिबारी माध्यमिक विद्यालयको प्राङगढमा प्रतियोगिता भइरहेको छ ।

टुर्नामेन्टको विजेता टीमले नगद २५ हजार र उपविजेता टीमले नगद १५ हजार ट्रफी, मेडल, प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा धेरै गोल गर्ने खेलाडीले नगद १ हजार ५०० वेष्ट प्लेयरले १ हजार ७०० र प्रत्येक खेलको म्यान अफ द म्याचले १००० रुपैया प्राप्त गर्ने छन् । आजदेखि सुरु भएको प्रतियोगिता चैत ३ गते शनिबार सम्पन्न हुनेछ ।

मैत्रीपूर्ण उद्घाटन खेल

यसैबिच प्रतियोगिता उद्घाटनका अवसरमा सांस्कृतिक कार्यक्रम कराँते काटा प्रदर्शन गर्नुका साथै हल्दिबारी गाँउपालिकाका कर्मचारी र जनप्रतिनीधि बिच मैत्रीपूर्ण खेल खेलाइएको थियो ।

विजयपछि नगद तथा शिल्ड ग्रहण गर्दै जनप्रतिनिधीको टोली


मैत्रीपूर्ण उद्घाटन खेलमा जनप्रतिनिधीको टोली २-१ गोलले विजयी भएको छ । जनप्रतिनिधीका तर्फबाट हल्दिबारी गाँउपालिका वडा नं १ का अध्यक्ष त्रिलोचन सापकोटा र वडा नं ४ का अध्यक्ष होम चुडालले १/१ गोल गरेका थिए ।

कर्मचारीको तर्फबाट एकमात्र सान्तवना गोल अनिल राजबंशीले गरे ।

मैत्रीपूर्ण खेलको विजेता जनप्रतिनीधिको टोलीले नगद ५ हजार ५ सय र शिल्ड प्राप्त गरेको छ ।

जनप्रतिनिधीका तर्फबाट गाँउपालिका प्रमुख रविन्द्र लिङदेन, उपप्रमुख डम्बर गिरीलगायत सबै वडाका प्रतिनिधीहरुले खेलेका थिए भने कर्मचारी तर्फ गाँउपालिका अधिकृत खम्बराज राई लगायतको सहभागीता थियो ।

खेल सुरु हुनु अघि उद्घाटनका अवसरमा क्षेत्र नं ३ का प्रदेश सभासद् पूर्णसिंह राजवंशी, गाँउपालिका प्रमुख रविन्द्र लिङ्देन र अधिकृत खम्बराज राईले बोल्दै प्रतियोगिता सफलताको शुभकामना दिएका थिए ।