दिपेन्द्र आधारभूत विद्यालयले मनायो ३१ औं वार्षिक उत्सव

जलथल झापा / झापाको हल्दिबारी गाँउपालिका ४ जलथलस्थित दिपेन्द्र आधारभूत विद्यालयले स्थापनाको ३१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले शनिबार एक कार्यक्रम बिच वार्षिक उत्सवको व्यानर खोलेर उद्घाटन गरका थिए । झापाको दक्षिणी गाविस साविक जलथलमा अवस्थित सो विद्यालय कक्षा ५ सम्म सञ्चालित छ ।

स्थापनाको ३१ औं वार्षिक उत्सव मनाइरहँदा पनि अवस्था स्थापनाकाल कै जस्तो दयनीय रहेको भन्दै विद्यालयले यो वर्ष हिक्मत कार्कीलाई उपस्थित गराएको हो ।

करिब ८० प्रतिशत मेचे जातीका छोराछोरी अध्ययन गर्ने जलथलको उक्त विद्यालयमा सरकारी निकायले उचित ध्यान नदिएको विद्यालयले गुनासो गर्दै आएको थियो ।

वार्षिक उत्सवको अवसरमा समस्या अवगत गराउने उद्देश्यले पनि कानुनमन्त्रीलाई विद्यालयले उपस्थित गराएको हो ।

वार्षिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री कार्कीले विद्यालयले आगामी दिनमा गर्ने कार्य योजना सहित प्रपोजल लिएर आएको खण्डमा सक्दो सहयोग गर्ने बचन दिए ।

आदिबासी समुदायका बालबालिका अध्यन गर्ने झापाको विद्यालय भएर पनि पछि पर्नु बिडम्बना रहेको उनले बताए । विद्यालयलाई झापाकै नमुना विद्यालयको रुपमा अघि बढाउन आफ्नो प्रयत्न रहने मन्त्री कार्कीको भनाई थियो ।

उद्घाटन अवसरमा झापा क्षेत्र नं ३ का प्रदेश सभाषद् बसन्त बानियाँले राज्यले करोडौं लगानी गरेका विद्यालयको यस्तो दुर्दशा हुनु पीडादायी विषय रहेको बताए ।

अभिभावकमा सरकारी स्कुलमा विद्यार्थी पठाउनै हुदैन भन्ने धारणाका कारण विद्यार्थीको चाप घटेको उनको भनाइ थियो ।

बानियाँले जलथल गाविस कर्णाली सरह दुर्गम रहेको जानकारी गराउदै यसलाई समृद्ध बनाउन पहल गरिदिन मन्त्री कार्कीलाई आग्रह गरे ।
कार्यक्रममा हल्दिबारी गाँउपालिकाका प्रमुख रविन्द्र लिङदेनले सरकारी विद्यालयका शिक्षकले पढाइलाई भन्दा राजनीतिलाई बढी ध्यान दिनाले शैक्षिक गुणस्तर बृद्धि हुन नसकेको बताए ।

गाँउपालिकाले हल्दिबारी भित्र रहेका सबै विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि उचित बजेट विनियोजन गरेको पनि जानकारी दिए ।
जनताका प्रतिनिधिले राजनीतिक कार्यकर्ताको रुपमा नभई जनताको सेवकको रुपमा रही कार्य गर्नपर्ने बताउँदै लिङदेनले आफु राजनीति गर्न नभई सिंगो गाँउपालिकाको सेवा गर्न आएको बताए ।

उद्घाटन अवसरमा वडा नं १ का अध्यक्ष त्रिलोचन सापकोटा, वडा नं ४ का अध्यक्ष होम चुडाल, पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण बन, लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद दाहाल, राजनीतिज्ञ सन्तलाल मेचे, हल्दिबारी श्रोत केन्द्रका श्रोत व्यक्ति टंक सेंडाईलगायतले बोलेका थिए ।

विद्यालयका शिक्षक रुद्र घिमिरेले स्वागत गरेको कार्यक्रममा प्रधानाध्यापक दीर्घराज आचार्यले विद्यालयका गतिविधी समेटेर प्रतिबेदन प्रस्तुत गरेका थिए ।

यसैबिच आन्तरिक मामिला तथा कानुनमन्त्री कार्कीले १६ लाख रुपैयाको लागतमा बन्न लागेको विद्यालयको २ कोठे भवनको शिलान्यास पनि गरे । सो दुईकोठे भवन जिल्ला शिक्षा कार्यालयको सहयोगमा निर्माण गर्न लागिएको हो ।

विभिन्न जातीय भेषभुषा झल्कने राजबंशी, मेचे नृत्य, तथा गायन प्रस्तुत गरिएको कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष रञ्जीत मेचेले गरेका थिए ।

विद्यालयलाई विभिन्न सामाग्री प्रदान गरेर सहयोग गर्ने दुई दर्जनबढी दाता र बृद्धबृद्धालाई कदरपत्र र सम्मानपत्र पनि प्रदान गरिएको थियो ।