यूएस बंगला विमान दुर्घटना: ४९ को मृत्यु, २२ घाइते धावनमार्गमा कुन प्रवेश विन्दुबाट अवतरण गर्ने भन्नेमै पाइलट अलमलिए ३३ नेपाली यात्रुमध्ये ११ को ज्यान गयो

काठमाडौँ / बंगलादेशको राजधानी ढाकाबाट ६७ यात्रु र चालकदलका ४ सदस्यसहित  काठमाडौं आएको यूएस बंगलादेश एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४९ को मृत्यु भएको छ ।

विमानमा ३३ नेपाली, ३६ बंगलादेशी, एक चिनियाँ र एक माल्दिभ्सका नागरिक थिए । मृतकमध्ये ४१ को शव त्रिवि शिक्षण अस्पतालमा र ८ जनाको सिनामंगलस्थित केएमसीमा राखिएको छ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार घटनामा चालकदलका सबै सदस्यको मृत्यु भएको छ । दुर्घटनालगत्तै भएको आगलागीका कारण शव पहिचान गर्न कठिन छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीका अनुसार उद्धार गरिएका २२ यात्रुमध्ये सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा ११, नर्भिकमा ४, मेडिसिटीमा १, ओममा १, ग्रान्डीमा ४ र न्युरो अस्पतालमा १ गरी २२ जनाको उपचार भइरहेको छ ।

महाप्रबन्धक क्षत्रीका अनुसार उपचार भइरहेकामा ११ नेपाली, १० बंगली र एक पहिचान नखुलेका यात्रु छन् । सातामा चार दिन ढाका–काठमाडौं उडान भर्दै आएको ७८ सिट क्षमताको विमान सोमबार दिउँसो सवा २ बजे अवतरणको समय थियो । विमानस्थल स्रोतका अनुसार कोटेश्वरतर्फबाट छिर्ने धावनमार्गको विन्दु (जिरो टु) बाट अवतरणका लागि अनुमति दिइएको थियो । तर चालकदलले पहिलो पटकको प्रयासमा कोटेश्वरतर्फको धावनमार्ग प्रयोग गरेनन् । चालकले विमानलाई विमानस्थलबाट करिब एक किलोमिटर वरबाटै ललितपुरको आकाश हुँदै भक्तपुर चाँगुनारायणतर्फ मोडेका थिए । विमानस्थललाई बायाँ पार्दै उडेको विमानबाट पाइलटले टावरमा रहेका एयर ट्राफिक (एटीसी) लाई बौद्धतर्फको धावनमार्ग प्रवेश गर्ने विन्दु (टु जिरो) बाट अवतरण गर्ने जानकारी दिएका थिए । ‘हामीले जिरो टुबाट छिर्न भनेका थियौं तर एटीसीको अनुमति नलिई विमान उत्तरतर्फ लागेको थियो,’ एक एटीसीले भने, ‘हामीले टु जिरो (बौद्धतर्फको प्रवेश विन्दु) बाट आउन भन्यौं तर यो अवतरण नगरी फेरि चाँगुनारायणतर्फको आकाशमा गयो । त्यहाँ दुई/तीन फन्का लगायो ।’

एटीसीको निर्देशन ‘अवज्ञा’ गर्दै चाँगुनारायणको आकाशमा जहाज उडेपछि त्यहीबेला एटीसीले यसैको पछिपछि आएको बुद्ध एयरको विमानलाई अवतरण गराएका थिए । ‘जहाजको उडान गतिविधि असामान्य लागेपछि काठमाडांै टावरबाट एटीसीले कुनै समस्या छ भनी पनि सोधेका थिए,’ नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले भने, ‘तर पाइलटले सबै ठीक छ भनी जवाफ दिए ।’ पाइलटले ठीक छ भनेपछि फेरि एटीसीले बौद्धतिर वा कोटेश्वरतर्फ जतासुकैबाट अवतरण गर्न छुट दिएको ती अधिकारीको दाबी छ । ‘दुवै विन्दु खुला राख्दै फेरि अवतरण गर्न भनिएपछि यो विमान अवतरणका लागि बौद्धतर्फबाटै पस्यो, तर जहाज ढलमलको अवस्थामा थियो,’ त्यहीबेला विमानस्थलमै भएका अर्का एटीसीले भने, ‘हाम्रा साथीहरूले तिमी अवतरण गर्ने मध्यरेखामा छैनौं भनी सचेत पनि गराएका थिए, तर यो असन्तुलन हुँदै आन्तरिक जहाज पार्किङ भएको क्षेत्रको आकाश हुँदै विमानस्थलभित्र पस्यो, धावनमार्गमा टेक्न सकेन ।’ ती प्रत्यक्षदर्शीका अनुसार जहाज धावनमार्गको तेस्रो र चौथो ट्याक्सी–वेको बीचबाट पेप्सीकोलातर्फ छडकियो । धावनमार्गभित्र पाङ्ग्रा नटेकी एकतर्फको मात्रै ल्याडिङ गियर (पाङ्ग्रा) ले बाहिर टेकेर विमान तारजालीबाट बाहिर हुत्तिएपछि दुर्घटना हुन पुग्यो ।

विमान धावनमार्गभित्रको पहिलो तारजालीका १२ वटा पोल ढालेर घाँसे मैदानतर्फ झरेको थियो । धावनमार्गबाट विमान झरेको दूरी कम्तीमा ५ सय मिटर छ । तीव्र गतिमा भएको विमान चिप्लिँदै सेनाले फुटबल खेल्ने मैदानको छेउमा पुगेपछि जलेको थियो । जहाजको इन्धनका कारण त्यस क्षेत्रका घाँस नै बलेको थियो । विमान झरेको २ मिनेटमा विमानस्थलभित्र रहेको फायर डिभिजनबाट दमकल आगो नियन्त्रण गर्न पुगेका थिए । त्यहाँ भएका चारवटासहित सेना र प्रहरीका दमकलले करिब एक घण्टामा आगो नियन्त्रणमा लिएका थिए ।

जहाज दुर्घटनामा परेका बेला नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र विमानस्थलका महाप्रबन्धकसहित वरिष्ठ अधिकारीहरू विपत् व्यवस्थापन कसरी गर्ने भन्ने विषयको छलफल कार्यक्रमका लागि विमानस्थलभित्रै थिए । छलफल अमेरिकी संस्थाले सञ्चालन गरेको थियो । दुर्घटनापछि सर्वसाधरण आयल निगमको गेटबाट विमानस्थलभित्र पसेका थिए । करिब २ सय कार्यालय रहेको विमानस्थलभित्रैका सयौं कर्मचारी दुर्घटनास्थलमा पुगेका थिए । दुर्घटनास्थलको भीड हटाउन थुप्रै पटक सुरक्षाकर्मीले हस्तक्षेप र माइकिङ गर्नुपरेको थियो । उद्धार व्यवस्थापन चुस्त थिएन । उद्धारमा खटेका अधिकांश कामभन्दा भिडियो खिच्नै आतुर देखिन्थे । उद्धारकै क्रममा पहिले गृहमन्त्री र त्यसपछि प्रधानमन्त्री घटनास्थल पुगेका थिए । उनीहरू घटनास्थलमै आएपछि सम्बन्धित अधिकारीहरू उद्धार गर्न‘भन्दा ‘ब्रिफिङ’ गर्नमै व्यस्त देखिन्थे । उद्धारका क्रममा विमानका ‘फ्लाइट डाटा रेकर्डर’ र ‘ककपिट भ्वाइस रेकर्डर’ नबिग्रिएकै अवस्थामा फेला परेका छन् । सरकारले सोमबारै छानबिन आयोग गठन गरेको छ, जसले यी दुई सामग्रीको अध्ययन गरेपछि दुर्घटना हुनुको तथ्य खुल्नेछ ।

घटनापछि तीन घण्टा काठमाडौं विमानस्थल बन्द भयो । विदेशबाट आउँदै गरेका विमान भारततर्फ डाइभर्ट भए । आन्तरिक उडान सबै रोकिए । आन्तरिक र अन्तर्राष्ट्रिय विमानका यात्रु, आफन्त र रमितेको भीड अत्यधिक देखिन्थ्यो । के भइरहेको छ ? रोकिएका उडान हुन्छन् या हँ‘दैनन् ? दुर्घटनामा परेका आफन्तजनलाई सूचना दिनुपर्नेलगायत घटनापछिका व्यवस्थापकीय कार्यमा विमानस्थलसहित सबै सरकारी निकायको कार्य अत्यधिक फितलो देखिन्थ्यो । दुर्घटनामा परेको विमान ट्रब्रोप्रोप इन्जिनयुक्त हो । आठ वर्षअघि ढाकामा स्थापना भई चार वर्षयता नेपालसहित आठवटा मुलुकका १५ गन्तव्यमा उडान भर्दै आएको यो एयरलाइन्स ‘लो कस्ट फेयर’मा उडान भर्ने एयरलाइन्स हो । यो एयरलाइन्ससँग दुर्घटनामा परेकोसहित ७ वटा विमान थिए । यही विमान करिब दुई वर्षअघि बंगलादेशकै सहिदपुर विमानस्थलमा चिप्लिएको थियो । १ सय १३ जनाको ज्यान जाने गरी थाई एयरवेजको विमान दुर्घटना भएको २५ वर्षपछि यो तेस्रो अन्तर्राष्ट्रिय विमान दुर्घटना हो । थाईपछि २०४९ असोजमा पाकिस्तानको पीआईए दुर्घटना हुँदा १ सय ६७ यात्रुको मृत्यु भएको थियो । पाकिस्तानी विमानपछि ठूलो मानवीय क्षति हुने गरी भएको यो तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमान दुर्घटना हो । यसअघि टर्किस एयरलाइन्सको विमान दुर्घटना भए पनि मानवीय क्षति भएन ।

को–को थिए विमानमा ?
नेपाली यात्रु
शिला बजगार्इं, अल्गिना बराल,चारु बराल, सोविन्द्रसिंह बोहोरा, वसन्त बोहोरा, समिरा व्याञ्जनकार, प्रवीण चित्रकार,सजना देवकोटा, प्रिन्सी धामी, ज्ञानीकुमारी गुरुङ, दिनेश हुमागाईं, श्रेया झा, पूर्णिमा लोहनी, मिली महर्जन, निगा महर्जन, सञ्जय महर्जन, केशव पाण्डे, प्रसन्न पाण्डे, विनोदराज पौडेल, हरिशंकर पौडेल, सञ्जय पौडेल, आशिष रञ्जित, कृष्णकुमार सहनी, अस्ना शाक्य, सनम शाक्य, अञ्जिला श्रेष्ठ, सरुना श्रेष्ठ, हरिप्रसाद सुवेदी, दयाराम ताम्राकार, बालकृष्ण थापा, श्वेता थापा, किशोर त्रिपाठी र अवधेशकुमार यादव
बंगलादेशी
फैजल महम्मद, शहरिन अहमद, इकुव अली, फुज्जमान अली, अल्मुन नहर एन्नी, बिल्किस एरा, बेगम हुरुन नहर, बिल्क्विस बानु, अख्तरा बेगम, शाहिन बेपारी, नाजिया अफ्रिन चौधरी, रिज्वनुल हक, रोकिबुल हसन, मेहदी हसन, एमराना कबिर हास्मी, कबिर हुसेन, सञ्जिदा हुक, हसन इमाम, मोहम्मद नसरुल इस्लाम, अखी मोनी, मिनाज बिन नासिर, एफएच प्रिओक तमर्रा प्रिओनमोइ, मोदुर रहमान, महमुदुर रहमान, ताहिरा तन्विन शाशी रेजा, पियास रोय, शेख रसिद रुवायत, युमी सलिमा, सैयादा कम्रुनहार शवार्ना, अनिरुद्द जमान, नुरुज जमान र रफिक्ज जमान
चिनियाँ
म्याङ मिङ
माल्दिभ्स
रिजाना अब्दुल्ला
चालक दल
अविद सुल्तान (पाइलट), पृथुला रसिद (को–पाइलट), ख्वाजा हुसेन, केएचएम साफी
‘झ्यालफोडेर बाँचें’
वसन्त बोहोरा, विराटनगर
रस्विता इन्टरनेसनल ट्राभल्स एन्ड टुर्सका कर्मचारी
मसहित विभिन्न ट्राभल एजेन्सीका १६ जना यूएस बंगला विमानले गरेको एउटा कार्यक्रममा सहभागी हुन बंगलादेश पुगेका थियौं । खासमा हामी हिजो (आइतबार) नै आउनुपर्ने थियो । तर फ्लाइट क्यान्सिल भएपछि आज (सोमबार) उड्यौं । काठमाडौंमा ल्यान्ड गर्ने बेलामा विमान जोडले हल्लियो । के भयो, केही पत्तो भएन । म विमानको झ्याल छेउमा थिएँ । एक्कासि ड्याम्म आवाज आयो । त्यसपछि केके भयो, पत्तो नै पाइएन । म झ्याल फोडेर बाहिर निस्कें । कसले हो मलाई सिनामंगलको अस्पताल पुर्‍यायो । त्यहाँबाट साथीहरूले नर्भिक अस्पताल पुर्‍याए । घुँडा र टाउकामा चोट छ । भाग्यले बाँचेँ । कान्तिपुरबाट