साजनको हत्या सुनचाँदी व्यवसायीले नै गरेको खुलासा, प्रहरीद्वारा तीन अभियुक्त सार्वजनिक

विर्तामोड / विर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्यामा संलग्न तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीले इलाका प्रहरी कार्यालय विर्तामोड परिसरमा आज पत्रकार सम्मेलन गरी हत्यामा संलग्न तीन जना अभियुक्तलाई सार्वजनिक गरेको हो ।

बरामद सुन गरगहना तथा मोबाइल सेट

मुखियाको हत्यामा संलग्न विर्तामोड नगरपालिका ३ का २९ वर्षीय पारसकुमार देव, विर्तामोड नपा ८ का १९ वर्षीय दिपेश पौडेल र तेह्रथुम जिल्ला साविक छातेढुङ्गा घर भई हाल विर्तामोड नपा ३ सैनिकमोड बस्ने २३ वर्षीय प्रकाश भन्ने चिरञ्जीवी ओली रहेको झापा जिल्लाका प्रहरी प्रमुख बिष्णु केसीले जानकारी दिए ।

अभियुक्त तीन जनामध्ये पारश देव र दिपेश पौडेललाई विर्तामोडबाट र चिरञ्जीवी ओलीलाई तेह्रथुमबाट सोमबार पक्राउ गरिएको प्रहरी प्रमुख केसीले जानकारी दिए । पारसदेव राधे रिद्धीसिद्धी सुनचाँदी ज्वेलर्सका सञ्चालक हुन् ।

घटनामा संलग्न अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

फागुन २० गते देखि हराइरहेका विर्तामोड नगरपालिका ५ घर भई शनिश्चरे रोडमा देवा ज्वेलर्स सञ्चालन गर्दै आएका २६ वर्षीय साजन मुखियाको अपहरण गरी सोही दिन हत्या भएको थियो ।

घटनामा प्रयोग गरिएको  स्कुटर बरामद

मुखियाकी श्रीमती रबिनाले कामको सिलसिलामा रिद्धीसिद्धी ज्वेलर्स गएर आउछु भनी हिँडेका श्रीमान बेलुका सम्म नफर्केको र फोन पनि नलागेकोले खोजतलास गरी पाँउ भन्दै दिएको निबेदनका आधारमा अनुसन्धान गरी प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पारस देव र मुखियाका बिचमा ठूलै आर्थिक कारोबार भएको र दलेनदेनकै विषयमा विबाद हुँदा अपहरण गरी हत्या भएको हो ।

अभियुक्तले सुन किन्ने बहानामा सुनियोजित तवरले विर्तामोडको एभरेष्ट बैंक नजिकबाट विर्तामोड कै रुपनारायण दाहालको नाममा रहेको मे ७ प ८७५४ नं को स्कुटरको पछाडी राखि आफ्नै घरमा लगेर कार्टुन बाध्ने प्लास्टिकको डोरीले हात पछाडी बाँधी त्यही डोरीले घाँटीमा कसी हत्या गरेको बयानमा खुलेको छ ।

स्कुटरमा चढाएर घर लगेपछि त्यहाँ रहेका चिरञ्जीवी, दिपेश पौडेल र निज पारसले मुखियालाई कुटपीट गरी कार्टुन बाँध्ने सेतो चोया डोरीले बाँधेर मारेको बयान दिएको प्रहरीले जनाएको छ ।

उनीहरुले हत्यापछि मृतकको साथमा रहेको नगद, सुनको ढिक्का र सुनका गरगहना समेत लुटेका थिए ।

प्रेस नोट

हत्यापछि लाशलाई जुटको बोरामा हाली पारसले चलाउने भारतीय नं प्लेटको गाडीमा राखेर साँझ ६ः३० बजे चिरञ्जीवी र दिपेशले मिलेर इलाम रोङ गाँउपालिका ३ कोल्बुङ अर्याल चोक नजिक सडकबाट १०० मिटर तल फालेका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा सोही स्थानबाट मुखियाको सडी गलेको अवस्थामा सोमबार शव फेला पारेको थियो ।

साजनले छोटो समयमा सुन व्यवसायबाट अधिक पैसा कमाएको, उसको कारणले व्यवसायमा क्रमिक रुपमा गिरावट आएको र उसलाई बाटोबाट पन्छायो भने सधैलाई आफ्नो बाटो खुल्ला हुने अभिप्रायले पारसले आफ्नै पसलका कामदार ओली र पौडेललाई पैसाको प्रलोभन देखाई हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले मे ७ प ८७५४ नं को स्कुटर १ थान, सुनको टिल एक थान र गरगहना, अभियुक्तले प्रयोग गरेका मोबाइल सेट ६ थान र मृतक मुखियाको साथबाट पर्स, घडी र निजको सवारी चालक अनुमती पत्र समेत बरामद गरी सार्वजनिक गरेको छ ।

अभियुक्तलाई मानव अपहरण तथा शरिर बन्धक, खुनडाँका र संगठित अपराध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।