पढाईमा ‘लद्दु’ भनेर चिनिने स्टेफेन हकिङका यस्ता छन् १५ रोचक जानकारी

देशबाहिर बिज्ञान प्रबिधि समाचार

एजेन्सी- भौतिकशास्त्रमा त्यतिसारो रुचि नभएका प्रायः मानिसले पनि दुई जना भौतिकशास्त्रीलाई चिनेका हुन्छन्- अल्बर्ट आइन्सटाइन र स्टेफन हकिङ। अल्बर्ट आइन्सटाइनको निधन भएको यतिका वर्षपछि पनि उनी अझैसम्म रहस्यको पोको बनिरहेकै छन्। जीवित तर रहस्यमयी हकिङले संसार छाडेका छन्। पक्षघातबाट पीडित रहेका हकिङबारे केही रोचक जानकारीः-

१. स्कुले जीवनमा हकिङ नजान्ने विद्यार्थीमा गनिन्थे । ९ वर्षको उमेरमा उनी खराब नजिता ल्याउने विद्यार्थीको सूचीमा परेका थिए।

२. शारीरिक रूपमा अशक्त भए पनि अनुसन्धान गर्ने र यौन प्यास मेटाउने उनको इच्छाशक्ति भने प्रबल थियो। विभिन्न अनुसन्धानमा निरन्तर सरिक रहेका उनी सेक्स क्लबमा गइरहन्थे।

३. उनको आत्मसंस्मरण ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ बेस्ट सेलर पुस्तक हो। यसको अढाइ करोड प्रति दुई वर्षअघि नै बिक्री भइसकेको थियो।

४. स्कुले जीवनमा लद्दु भए पनि उनको ‘निक नेम’ भने आइन्सटाइन  थियो। अर्को रोचक कुरा के भने आइन्सटाइन पनि स्कुले जीवनमा कमजोर विद्यार्थीमा गनिन्थे।

५. भौतिकशास्त्रमा यति धेरै कहलिएका हकिङले अहिलेसम्म नोबेल पुरस्कार पाएनन्।

६. अन्तरिक्षमा रहेको कालो छिद्र (ब्ल्याक होल) बारे संसारलाई धेरै जानकारी छैन। किनकि, यसबारे कसरी अनुसन्धान सुरु गर्ने भन्ने भेउ नै कसैलाई छैन। तर, हकिङले सबैभन्दा बढी अध्ययन यही ब्ल्याक होलबारे नै गरेका थिए।

७ . स्पिच जेनरेटिङ डिभाइसको सहायताले उनी प्रतिमिनेट १५ शब्द बोल्न सक्थे।

८. २२ वर्षको उमेरमा स्नायुसम्बन्धी रोगबाट पीडित भएपछि हकिङलाई डाक्टरले ‘यो केही वर्षमात्र बाँच्छ’ भनेका थिए। त्यसपछि उनी पक्षघातको शिकार भएका हुन्। ७६ वर्षको उमेर आज उनको निधन भएको छ।

९. वैज्ञानिक भएर पनि यति धेरै चर्चामा रहने हकिङ पहिलो सेलिब्रिटी हुन्। उनी द सिम्प्सन, स्टार ट्रिकलगायत सुपरहिट टेलिभिजन कार्यक्रममा अतिथि बनिसकेका छन्। कुनै पनि वैज्ञानिकले जीवित छँदै उनको जति चर्चा पाएका थिएनन्।

१० . स्कुल पढ्दाताका उनी घरको भित्तेघडी र रेडियो खोलखाल पार्न रुचाउँथे, तर त्यसलाई जोडेर पूर्वावस्थामा ल्याउन भने उनलाई प्रायः आउँदैनथ्यो । उनको यस्तो बानीले घरका सबै दिक्क भएका थिए।

११. सन् २००९ मा उनलाई अमेरिकामा प्रेसिडेन्सियल मेडल अफ फ्रिडम प्रदान गरिएको थियो। अमेरिकी सरकारले प्रदान गर्ने यो सबैभन्दा ठूलो नागरिक सम्मान हो।

१२. हकिङले विश्व तापमान, नयाँ खालका भाइरस र पुच्छ्रेताराको असरबाट मानव जीवन अन्त्य हुनेछ भन्ने भविष्यवाणी गरेका थिए।

१३ . हकिङको यो भनाइ सबैभन्दा बढी चर्चित छ, ‘ब्रह्मान्डको सीमा स्थितिबारे अत्यन्त विशेष कुरा पक्कै छ। ब्रह्मान्डको कुनै सीमा नै छैन भन्ने कुराभन्दा विशेष अरू के हुन्छ र?’

१४. सृष्टिको उत्पत्तिसम्बन्धी वैज्ञानिक तथ्य पेस गरेका हकिङको क्रिस्चियन धर्मका सर्वोच्च गुरु पोपसँग सुमधुर सम्बन्ध थिएन। पोप रहने इसाई राष्ट्र भ्याटिकनमा आयोजना भएको खगोलशास्त्रसम्बन्धी एउटा कार्यक्रममा सहभागी हुन जाँदा पोपले उनको आलोचना गरेका थिए। ‘द ग्रान्ड डिजाइन’ किताबमा उनले सृष्टिको उत्पत्ति कसरी भयो भन्ने उल्लेख गरेका छन्।

१५ . हकिङले दुई पटक बिहे गरे। तर, उनको दुवै विवाह असफल भयो। सन् १९६५ मा जेन वाइल्ड नाम गरेकी युवतीसँग बिहे गरेका थिए। उनीबाट हकिङले तीन सन्तान प्राप्त गरे। जेनलाई छोडेर हकिङ पछि इलेन मेसन नाम गरेकी नर्ससँग लहसिए। उनीहरूले सन् १९९५ मा बिहे गरे। सन् २००६ मा उनीहरूको सम्बन्ध–विच्छेद भयो।