हवाई दुर्घटना उद्धारको यो कोण

                                                                                             विचार / टिप्पणी

‘कुनै पनि वायुयान धरतीमा हुन्जेल, अत्यन्तै बलियो हुन्छ। फलामजस्तो, चट्टानजस्तो, ईस्पातजस्तो…तर जब वायुयानले धरती छोड्छ, तब यो अन्डाको बोक्राजस्तो संवेदनशील भइदिन्छ’, एक विमान चालक मित्रका शब्द हुन् यी।

वायुयान मान्छेको त्यस्तो अचम्मलाग्दो आविष्कार हो, जो गुरुत्वाकर्षणको प्राकृतिक नियमविपरित छ। चराचुरुंगीझैं यो पनि उड्न सक्छ। मान्छे र मोटर आकासमा बस्न सक्दैनन्, वायुयान सक्छ। यो विशेष गुण एक ठूलो कला हो। त्यसैले त अंग्रेजीमा यसलाइ ‘एयरक्राफ्ट’ भनिन्छ। ‘क्राफ्ट’ अर्थात कला, सीप, दक्षता।

वायुयानका अविष्कारक अमेरिकी दाजु–भाइ राइट ब्रदर्स हुन्। उनीहरूलाई  आफ्नो आविष्कारको जोखिम र संवेदनशीलताको पूरा ज्ञान थियो। कान्छाभाइ अरविल राइटले भनेका थिए, ‘विमान आकासमा बस्छ, किनभने यसलाई खस्नको निम्ति समय हुँदैन !’

विमान भनेको रत्तिभर हेलचेक्र्याँइ, गल्ती र जोखिम लिन बनेको यन्त्र नै होइन। हुन त, सबै पेशाकर्मीको काम आ–आफ्नो क्षेत्रमा महत्वपूर्ण हुन्छ तर संसारमा केही काम यस्ता छन्, जहाँ गल्तीको प्रायश्चित गर्ने सुविधा हुँदैन। विमानको चालन त्यस्तैखाले एक अत्यन्तै संवेदनशील विधा हो, जहाँ पत्रकारितामाझैँ भोलिपल्ट क्षमा याचना गरेर गल्ती सुधार्ने सुविधा हुँदैन। जीवनमा दोस्रोपटक गल्ती गर्ने मौका नमिल्न पनि सक्छ।

जहाज उडाउने कुरा गर्दा बुझ्नुपर्छ, विमानलाई आकाशमा पाइलटले मात्र उडाइराखेको हुँदैन। खास भन्ने हो भने विमानलाई आकाशमा रहेको पाइलटले जति उडाइरहेको हुन्छ, त्यतिकै महत्वपूर्ण भूमिका हुन्छ, धरतीमा रहेको एयर ट्राफिक कन्ट्रोलरको।

तर बिडम्बना, गल्ती जसको भए पनि, मूल्यचाहिँ प्रायः यात्रु, पाइलट र उनका स्वजनले चुकाउँछन्। अक्षम्य गल्ती गरिहालेको अवस्थामा पनि कुनै एयर ट्राफिक कन्ट्रोलरको ज्यान जाँदैन।

युएस बंगला विमान दुर्घटना हुनेबित्तिकै बजारमा धेरैथरि सूचना प्रवाहित भएका छन्। नेपालका केही सरकारी अधिकारीले जुन हतारोका साथ प्रेसलाई दुर्घटनाको कारणबारे ‘फैसला’ सुनाउन हतारो गरे, त्यो गैरजिम्मेवार र अशोभनीय कृत्य हो। सरकारी ओहदावालहरू पनि, यदि हामी पत्रकारको ‘ब्रेकिङ न्युज’जस्तै दौडमा सामेल हुने लोभबाट मुक्त नरहने हो भने त्यसका परिणाम समाजका निम्ति नकारात्मक हुनेछन्।

हल्ला–बजारका न्यायाधीशमध्ये एकथरिले विमान चालकलाई तत्काल दोषी घोषित गरे भने अर्काथरि हवाई न्यायमूर्तिहरूले एयर ट्राफिक कन्ट्रोलरमाथि दोषको लाहा छाप ठोके। ‘आफ्नो कामबाहेक सबैको काम जान्ने’ समाजमा यस्तोखाले ‘ठोक लाह छाप’ प्रतियोगीको संख्या धेरै हुनु स्वाभिकै हो। तर, सरकारी अधिकारीहरूले नै यस्तो प्रतियोगितामा भाग लिनुचाहिँ न स्वस्थकर हो, न शोभनीय।

दुर्घटना जाँचबुझ समितिको रिपोर्ट आएपछि यस विषयमा स्थिति प्रस्ट होला।

दुर्घटनाग्रस्त त्यो विमान, सबैभन्दा पहिला जलेको देख्नेमध्ये पंक्तिकार पनि हो। विमानस्थलका दमकलले जलिरहेको विमानमा छेउछेउबाट पानी र अग्नि निरोधक फोम प्रदार्थ छ्यापिरहेको बेला मेरो मन विमानभित्र फसेका यात्रुमा थियो। अन्नपूर्ण पोस्ट्को छानाबाट जीवन–मृत्युको त्यो दृश्य देखिरहँदा मेरो हतारिएको मन सोच्दै थियो– अग्नि निरोधक प्रदार्थ विमानको छेउछेउबाट मात्र नछ्यापेर, माथिबाट पनि झ्याप्पै एकैपटक खन्याउन पाए आगो अलि चाँडै निभ्थ्यो कि ? मान्छे अलि बढी बाँच्थे कि ?

जानिफकारहरू र विशेष गरिकन हवाइ उद्धारका निम्ति जिम्मेवार पदाधिकारीहरू र भर्खरै नवनियुक्त पर्यटनमन्त्री रवीन्द्र अधिकारीज्यूलाई मेरो एक जिज्ञासा, ‘यस्तै दुर्घटना यदि ढाका, दिल्ली, बेइजिङ वा न्यूयोर्कमा भएको भए काठमाडौंमा जीवितै उद्धार भएको तुलनामा कति बढी यात्रु बेला छँदै विमानबाट निकालिन्थे ?’

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा हेलिकप्टर वा अन्य विमानमा जडान गर्न सकिने ‘हवाइ बकेट अग्नी नियन्त्रण यन्त्र’ भित्र्याउन अब कति अरु दुर्घटनाको प्रतिक्षा गर्ने ? एक यस्तो प्रणाली, जसले जलिरहेको विमानको माथिबाट समेत अग्नि निरोधक प्रदार्थ फ्याँकेर आगोलाई तीव्र गतिमा नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ।

यो दुर्घटना त एयरपोर्टभित्रै भयो, दमकल कम्पाउन्डभित्रै थिए। तर, याद छ ? केही वर्षअघि सीता एयरको विमान दुर्घटना, जहाँ जलिरहेको विमान भित्रबाट यात्रु चिच्चाउँदै थिए, त्रिविवि एयरपोर्टबाट थोरै मात्र टाढा पेप्सीकोलाको फाँटमा। त्यहाँ बेलैमा अग्नी नियन्त्रण साधन भएको भए स्थिति फरक पर्ने थियो।

युएस–बंगला विमान दुर्घटनामा दोष कसको थियो ? जाँचबुझ समितिको रिपोर्ट पर्खौं। तर, के त्यसअघि नै नेपालमा हवाई दुर्घटना उद्धारका निम्ति केही ठोस निर्णय गर्न सकिन्न र ? तत्काल केही नयाँ उपकरण थप्न सकिन्न र ? उहिलेका राजाको नामको एयरपोर्ट हो भन्दैमा, त्यसलाई अत्याधुनिक उद्धार उपकरणले सुसज्जित गर्न हामीलाई कसैले छेकेको त छैन होला।

याद छ, अलिवर राइट जसले वायुयानको आविष्कार गरे, उनले के भनेका थिए ? उनले भनेका थिए, ‘विमान आकाशमा बस्छ किनभने यसलाई खस्नको निम्ति समय हुँदैन !’ तर, आज जमाना राइट ब्रदर्सको युगभन्दा धेरै अगाडि आइसक्यो। प्रविधिका हिसाबले  र मानवीय दक्षताको दृष्टिकोणले विमान यात्रा संसारको सबैभन्दा सुरक्षित यात्रा माध्यम हो भन्ने पनि हामीले बिर्सनु हुँदैन।

नवनियुक्त पर्यटनमन्त्री रवीन्द्र अधिकारीबाट धेरैलाई आशा छ, समग्र पर्यटन क्षेत्रको विकासका लागि। हवाइ सुरक्षा त्यसको एक अभिन्न अंग हो। यो एक निरन्तर विकसित हुने प्रक्रिया हो। त्यसका लागि अबेर  नगरौं। त्यो नै दिवंगतका प्रति नेपालको सच्चा श्रदाञ्जली हुनेछ।

अन्नपूर्णपोष्ट