‘नौ फिट गहिरो खाल्डोमा नौ दिन तपस्या’ गर्दै विदुषी बृन्दादेवी

शिवसताक्षी / दिव्यपथ महिला सरोकार समाजकी अध्यक्ष विदुषी बृन्दादेवी बराल आइतवारदेखि नौ दिने भू–तपस्यामा बसेकी छन् । शिवसताक्षी नगरपालिका –१० स्थित माइधारमा जमिनमुनि पसेर उनले भू–तपस्या गर्न सुरु गरेकी हुन ।

नवदिवसीय आदिशक्ति वैष्णवीदेवी धनधान्याञ्चल महायक्षको अवसर पारेर विदुषी बरालले नौ दिने भू–तपस्या सुरु गरेको आयोजक समितिका उपाध्यक्ष मोहन सुवेदीले बताए ।

६ सय रुपैयाँ तिरेर महायज्ञका सदस्य भएकालाई भू–तपस्याबाट जागृत भएको रुद्राक्ष माला र माटो प्रदान गरिनेछ ।

आइतवार साँझ साढे पाँच बजे जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले आशीर्बचन दिएपछि उनी भू–तपस्याका लागि पूर्वीद्वारबाट जमिनमुनि पसेकी थिइन् । ‘नौ फिट गहिरो खाल्डोभित्र बसेर उनले नौ दिनसम्म निराहार भू–तपस्या गर्नेछिन्’, उपाध्यक्ष सुबेदीले भने ।

नौ फिट गहिरो खाल्डोलाई माथिबाट बाँस लगाएर प्लाष्टिकले छोपिएको छ । त्यसमाथि प्लाइउड ओछ्याइएको छ । प्लाइउडमाथि कालो प्लाष्टिक ओछ्याएर माटोले पुरिएको छ । सो माटोमा जमरा छरिएको छ । जमरा महायज्ञका क्रममा प्रयोग हुने सुबेदीले जानकारी दिए ।

माइधारमा कन्या गुरुकूल र निराश्रित महिला तथा अनाथ बालआश्रम स्थापना गर्ने लक्ष्यका साथ आफू भू–तपस्यामा बसेको विदुषी बरालले बताइन् । भू–तपस्याका लागि जमिनमुनि जानुअघि सयौँ भक्तजनले उनी प्रति सम्मान प्रकट गरेका थिए । कैयौँ महिलाका आँखामा आँसु देखिन्थ्यो । उनीहरुले विदुषी बराललाई पुष्पगुच्छा चढाएर भू–तपस्या सफलताको कामना गरे ।

महायज्ञ प्रारम्भ भइरहँदा धर्मानुरागीले सकेको दान घोषणा गरेका थिए । बरालको भ–ूतपस्या चैत १२ गते पूरा हुनेछ । तपस्या पूरा भएपछि उनी जमिनको दक्षिणतर्फबाट बाहिर निस्कने बताइएको छ । महायज्ञ समापनका अवसरमा उनी आफैँले होम होमादीको काम गर्ने सुबेदीले जानकारी दिए ।

विदुषी बराल यसअघि दुई पटक भू–तपस्यामा बसेकी थिइन् । पहिलो पटक २०६३ पुसमा ललितपुरको गोदावरी र २०६६ चैतमा ताप्लेजुङमा उनले सफलतापूर्वक भू–तपस्या पूरा गरेको बताइएको छ ।