पुटिन, सिरिया र विश्वसम्बन्ध


विजय ज्ञवाली-


सन् १९५२ अक्टोबर ७ मा तत्कालीन सोभियत संघअन्तर्गत गणराज्य रुसको लेनिनग्राद हालको पिटर्सबर्गमा जन्मिएका नवनिर्वाचित रुसका राष्ट्रपति व्लादिमिर पुटिन विश्वका सर्वशक्तिमान नेताअन्तर्गत पर्दछन्। १६ मार्च २०१४ मा युक्रेनबाट क्रिमिया राज्य रुसमा विलय गराएसँगै पुटिनलाई टाइम्स म्यागजिनले विश्वको सबैभन्दा शक्तिशाली नेताको रूपमा सार्वजनिक गरेको थियो। हालैका दिनहरूमा सिरियाको आन्तरिक द्वन्द्व जसरी अन्तर्राष्ट्रिय प्रतिष्ठाको मुद्दा बन्न पुगेको छ, झन्डै–झन्डै युक्रेनको आन्तरिक राजनीतिमा पनि सिरियाकै हाराहारी संघर्ष चर्किएको थियो। सिरिया र युक्रेन समस्याको साझा जड तानाशाही सत्ता थियो भने यी दूई राष्ट्रको आन्तरिक समस्याका मुद्दा भने फरक थिए।

युक्रेनअन्तर्गतको क्रिमिया राज्य स्वतन्त्र राज्यको रूपमा आफ्नो अस्तित्वमा आउन चाहन्थ्यो भने सिरियाको आन्तरिक सुलहको कारण तानाशाही सत्ता नै हो। भलै क्रिमिया आफैंमा स्वतन्त्र राज्यको हैसियतमा आउन त सकेन, तथापि क्रिमिया रुसमा विलयसँगै पुटिन विश्वका एक नं. शक्तिशाली राजनीतिक खेलाडीको रूपमा स्थापित भने भएरै छाडे।

नेपालमा पछिल्लो संक्रमणकालीन समयमा स्वतन्त्र सिक्किम भारतमा विलयका खलपात्र काजी लेण्डुप दोर्जे र तत्कालीन भारतकी शाषक एवं सिक्किम भारतमा विलयकी मुख्य योजनाकार इन्दिरा गान्धीको खूबै चर्चा चल्यो। संविधान निर्माणसँगैको स्थायित्व, तीनै तहको निर्वाचन र केन्द्रमा स्थापित शक्तिशाली सरकारसँगै यी शब्दहरू पनि लगभग प्रयोगशून्य हुन थालेका छन्। कुनै बेला नेपालको तराई क्षेत्र र विशेष गरेर मधेशवादी दलहरूमा विखण्डनवादीको संज्ञा अत्यधिक प्रयोग भएको थियो। खासमा संक्रमण अति जोखिमपूर्ण पनि हुन्छ। संक्रमणलाई बेलैमा सम्बोधन गर्न सकिएन भने राज्य र जनताले निकै ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। त्यसको पछिल्लो ज्वलन्त उदाहरण क्रिमिया हो। छिमेकी देशकै कुरा गर्ने हो भने भारतको दोस्रो कान्छो राज्यको उपमा पाएको सिक्किमलाई लिन सकिन्छ। ६ अप्रिल १९७५ मा जब सिक्किमलाई इन्दिरा गान्धीले भारतमा गाभ्न सफल भइन्, त्यस बेला संसारकी शक्तिशाली महिला राजनीतिक खेलाडीको रूपमा उनको नाम पनि दर्ज भयो। हालमा पुटिन पनि युक्रेनको क्रिमिया रुसमा विलयसँगै विश्वका चातुर्य राजनीतिक खेलाडीको रूपमा स्थापित छन्।

सन् २००० मा संयुक्त गणराज्य रुसका शक्तिशाली राष्ट्रपति बनेका पुटिनले त्योभन्दा अघि सन् १९९९–२००० सम्म रुसका प्रधानमन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए। संयुक्त रसियन पार्टीका अध्यक्ष पुटिन रुसी संविधानअनुसार लगातार तेस्रोपटक राष्ट्रपति पदको चुनावमा लड्न अयोग्य ठहरिन्थे, तर सन् २००८ मा दिमित्री मेदवेदेवले जब राष्ट्रपतिको चुनाव जितेर आए तब उनले पुटिनलाई फेरि प्रधानमन्त्रीमा नियुक्त गरेसँगै पुटिनलाई फेरि राष्ट्रपतिमा लड्न सहज भएको हो। यसका अलावा सेप्टेम्बर २०११ मा जब राष्ट्रपति कार्यकालको अवधि ४ वर्षबाट बढाएर ६ वर्ष बनाइयो तब पुटिनले तेस्रो कार्यकालको लागि चुनाव लड्ने घोषणा गरे। उनको यो एकलौटी घोषणाको देशभित्रै तीव्र विरोध भए तापनि अन्ततः सन् २०१२ मा पुटिनले रुसको तेस्रो कार्यकालको लागि पनि चुनाव जितेरै छोडे।

पुटिनलाई नजिकैबाट नियालिरहेका कतिपय रुसी पत्रकारहरूमा पुटिनका सम्बन्धमा समान धारणा रहेको पाइन्छ। उनीहरूको निष्कर्ष छ– पुटिनको राजनीति शुरूदेखि नै एउटा रणनीतिको रूपमा अगाडि बढेको छ। पहिला दुई–दुई पटकसम्म रुसको राष्ट्रपति पद सम्हालेका पुटिन फेरि देशको प्रधानमन्त्री हुँदै पुनः राष्ट्रपतिमा निर्वाचित हुनु उनीभित्रको एउटा अनौठो भिष्मता पनि हो। पदको हिसाबमा राष्ट्रपति या प्रधानमन्त्री जुन पदमा रहे तापनि पुटिनले प्रमुखताका साथ उठाएका दुई विषय रुसको सुरक्षा एवं आर्थिक स्थिति मजबुत गर्नुमा नै उनको प्रमुख ध्येय रहेको बुझिन्छ।

दक्षिण एसियामा भारत हाबी हुन खोजेझैँ मध्यपूर्वमारुस हाबी हुन चाहन्छ। यसो त पुटिनले पछिल्लो निर्वाचन परिणामपछि सञ्चारमाध्यमसँगको अन्तरक्रियामा अबको आफ्नो पूरा ध्यान विश्वमानचित्रमा रुसको उपस्थिति अझ मजबुत बनाउने भनेर स्पष्ट भनिसकेका पनि छन्। खासमा मध्यपूर्वी क्षेत्रमा रुसको प्रभुत्वलाई कायम राखिरहन पुटिनले राजनीतिक, कुटनीतिक एवं सैन्य उपस्थितिलाई निकै सक्रिय बनाएर लगेका छन्। सिरिया द्वन्द्वकै कुरा गर्ने हो भने, सिरियामा वसर अल असदकै निरन्तरतामा रुसको भलाइ रहेको उनको ठम्याइ छ।

असदलाई आतंककारी घोषणा गरिसकेको अमेरिकाले सिरियामा भने सशस्त्र विद्रोही समूहलाई सहयोग गर्दै आइरहेको छ। कुनै पनि उपायबाट सिरियामा असदलाई सत्ताच्यूत गर्न सकियो भने मध्यपूर्वमा अमेरिकाको जबर्जस्त प्रभुत्व कायम हुन सक्ने अमेरिकी धारणा रहिआएको छ भने असदलाई नै निरन्तरता दिनुपर्ने रुसी धारणा रहेको छ। यी दुई शक्तिराष्ट्रबीचको स्वार्थको टकरावका कारण नै सिरिया द्वन्द्व झन् गहिरो बन्दै गइरहेको छ।

सन् २०१५ देखि नै रसियाले सिरियामा असदकै निरन्तरताका लागि भनेर रुसले आफ्नो सैन्य टुकडी सिरिया उतारेको थियो। रुसको यो कदम अमेरिकाका लागि एक ठूलो झट्का थियो। किनकि सिरियामा असदलाई पदच्यूत गर्ने अमेरिकी चाहनामा रुसी कदम तगारोसरह थियो। यति मात्र होइन, रुसमा क्रिमिया विलयसँगै सिरियामा रुसको जबर्जस्त सैन्य उपस्थितिले अमेरिकाको एकछत्र साम्राज्यको रणनीति ओझेलमा पर्न सक्ने अमेरिकाको ठम्याइ हो। सिरियामा यी दूई शक्तिराष्ट्रबीचको प्रतिस्पर्धामा रुसको बढ्दो वर्चश्व र अमेरिकाको घट्दो वर्चश्वका कारण अमेरिका आफैंमा चिन्तित पनि थियो।

सिरियालाई छाडेर अन्य देशहरू जहाँ अमेरिका घुसेको छ, त्यहाँ उसले सत्तापलट नै गरेर छाडेको प्रशस्त उदाहरण छन्। लिबिया, ट्युनिसिया, युगोस्लाभिया, इराक र अफगानिस्तान त्यसका ज्वलन्त उदाहरण हुन्। सिरियामा पनि सत्तापलट गरी आफू अनुकूलको सत्ता स्थापित गराउने एकमात्र उद्देश्य अमेरिकाको हो। तर हालसम्म लाखौं कोशिशका बाबजुद पनि अमेरिकाले सिरियामा सत्तापलट गर्न सकिराखेको छैन। एकातिर अमेरिकाले सिरिया मुद्दालाई प्रतिष्ठाको विषय मात्र बनाएको छैन कि रुसको बढ्दो शक्तिसामु अमेरिका कुनै हालतमा पनि नझुक्ने अमेरिकी नीति रहिआएको छ। यसका लागि अमेरिकाले जुनसुकै हतकण्डा अपनाउन पनि पछि पर्नेछैन, जसको सोझो मार आमसिरियाली नागरिकले खेपिरहनुपरेको छ।

सिरियामा मात्र नभएर मध्यपूर्वमा रुसको कुटनीतिक दख्खल अझ सशक्त भएर गएको छ। पछिल्लो २ वर्षको अवधिमा रुसले मध्यपूर्वमा लगभग एउटै माहोल सृजना गरेको छ, जुन माहोल यसभन्दा पहिला अमेरिकाको सवालमा हुन्थ्यो, त्यो अब टुटेर रुसको पोल्टामा गएको छ। रुसले सिरियाका अलावा इरानसँगको सम्बन्ध पनि धेरै मजबुत बनाएको छ।

सिरिया युद्धको क्रममा इरानले रुसी वायुसेनालाई हरतरहको सहयोग एवं सुविधा उपलब्ध मात्र गराएको छैन, अपितु रुसले इरानसँग सैन्य सम्झौता गर्न पनि सफल भएको छ। कतिपय जानकारहरूका अनुसार द्वितीय विश्वयुद्धपछि नै रुसले इरानसँग सैन्य सम्झौता गर्न चाहेको थियो। मध्यपूर्वमा पुटिनको कुटनीतिक सफलता सिरिया र इरानमा मात्र नभएर आफ्नो चर्को प्रतिस्पर्धी राष्ट्र अमेरिकाको नजिकको मित्रराष्ट्र मानिने इजरायलसँग पनि पुटिनले कुटनीतिक सम्बन्ध मजबुत बनाएका छन्। यसका अलावा मध्यपूर्वमा अमेरिकाको घट्दो वर्चश्वलाई नजिकैबाट नियालिरहेको साउदी अरब जो अमेरिकी गठबन्धनमा आबद्ध छ, बिस्तारै उसले पनि अमेरिकाको साथ छोडेर रुससँग सहकार्य गर्ने मनस्थिति बनाउन थालेको कुरा कतिपय सञ्चारमाध्यमहरूले उल्लेख गर्दछन्। यी घटनाक्रमहरूबाट के निष्कर्षमा पुग्न सकिन्छ भने, रुसमा पुटिनको चुलिँदो लोकप्रियतासँगै मध्यपूर्वमा उनको जबर्जस्त पकडसँगै आगामी विश्वराजनीति पनि पुटिनकै वरपर रहन सक्छ। राजनीति र कूटनीतिका चलाख खेलाडी पुटिन हालसम्म मध्यपूर्वमा सफल एक नेता हुन्।

अन्तर्राष्ट्रिय मामलाका कतिपय जानकारहरू भन्छन्– रुसलगायत मध्यपूर्वमा पुटिनको बढ्दो लोकप्रियता र पकडसँगै ट्रम्प पनि रुसप्रति नरम नीति अँगाल्ने निष्कर्षमा पुगिसकेका छन्। ट्रम्पको यस्तो मनस्थितिलाई गौणरूपमा विश्लेषण गर्ने हो भने कहीँ न कहीँ अब रुसलाई अन्तर्राष्ट्रिय सत्ता प्राप्तिको लागि एक नयाँ मार्गको शुरूवात भएको छ। डोनाल्ड ट्रम्पले हालसम्म गर्दै आएका निर्णयहरू हेर्दा अब ट्रम्प विश्वराजनीतिमा एक हिसाबले प्रतिरक्षात्मक अवस्थामा उभिएका छन्। उनको अबको जोड भनेको केवल आफ्नो देश र नागरिकको हितमा मात्र कदम चाल्ने देखिन्छ, जुन यसभन्दा अघिका अमेरिकी नेतृत्वकर्ताहरूको नीति विपरीत छ। अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएसँगैका दिनहरूमा निकै आक्रामक देखिएका ट्रम्प मध्यपूर्वमा आफ्नो घट्दो वर्चश्वसँगै रक्षात्मक अवस्थामा पुगेका हुन्। यता विश्वशक्तिमा उदाउँदै गरेको चीन, शक्तिशाली बन्दै गएका चिनफिङ र उनको कूटनीतिक प्रभावसँगै चीनले अँगालेको सी चिनफिङवादको क्षेत्रीय स्तरमा बढ्दो प्रभाव र विस्तारसँगै मध्यपूर्वमा पुटिनको प्रभुत्वका सामुन्ने ट्रम्पले अब सम्झौताको राजनीतिलाई अँगाल्ने सम्भावना प्रशस्त रहेको छ। घरेलु मामिलामा ट्रम्प अलोकप्रिय हुनुको मुख्य कारण ओबामा केयरलाई बन्द गर्नु रहेको छ भने अन्तर्राष्ट्रिय मामिलामा ट्रम्प कमजोर तथा रक्षात्मक अवस्थामा पुग्नुको कारण ट्रम्प ‘कच्चा खेलाडी’ नै भएर हो। newsofnepal